जात्रा र मेला नौला शब्दावली हैनन् । नेपाली जनजिब्रो र मस्तिष्कमा गडेका यी शब्दहरुको उच्चारणसँगै रमाइलो तस्बिर आँखाअघि आउँछ । खुला चउर, डाँडा, मन्दिर तथा खोलाको किनारामा परापूर्वकालदेखि जात्रा र मेला चल्दै आएका थिए । आफ्ना उत्पादनहरुको बिक्री र आवश्यक सामानको जोहो यस्तै मेला र जात्रामा गरिन्थ्यो । मनोरञ्जनको सीमित साधन भएको बेला जात्रा र मेलामा मानिसहरु धक फुकाउँथे । बस्तु विनिमयकालदेखिको यो परम्परा अहिले परिष्कृत भएको छ । धार्मिक र सांस्कृतिक महत्व बोकेका कतिपय जात्राहरु लोप भएका छन्भने त्यसको ठाउँ महोत्सवले लिएको छ ।
पछिल्लो समय विभिन्न संघ÷संस्थाको आयोजनामा देशका विभिन्न ठाउँमा मेला र महोत्सवहरु आयोजनाको ‘फेसन’ चलेको छ । देश द्धन्द्धमा भएको बेला यस्ता महोत्सवहरुले मानिसलाई धक फुकाएर हाँस्न र अर्थतन्त्रलाई चलायनमान बनाउन मद्धत गरेका थिए । तर, देश स्थिरतातर्फ लम्कँदै गर्दा मेला र महोत्सवहरु कमाउने पेशामा परिणत भएका छन् । मेला र महोत्सवको नारामा जुन उदेश्य लेखिए पनि त्यो कमाउने धन्दामा परिणत भएका दृष्टान्तहरु पनि देखिएका छन् । उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेला गराउनु, उद्यमशीलता अभिवृद्धि गर्नु तथा नयाँ जानकारी पस्कनुबाट यस्ता मेलाहरु च्यूत बन्दै गएका छन् । तर, कालो बादलमा चाँदीको घेरा हुन्छ । बागलुङको गलकोटमा फरक शैलीको महोत्सव आयोजना हुँदैछ । २०७७ साल मंसिरको ४ गतेबाट सुरु हुने दोस्रो गलकोट घुम्टे महोत्सवले ‘लोपोन्मुख संस्कृति, प्राकृतिक, ऐतिहासिक तथा जैविक सम्पदाको संरक्षण ः समृद्ध गलकोट निर्माणका लागि, एकिकृत विकास र पर्यटन प्रवद्र्धन’ भन्ने नारा बोकेको छ । नारा बोक्नु एउटा कुरा, व्यवहारमा उतार्नु अर्को कुरा ! गलकोट घुम्टे पर्यटन विकास केन्द्र आयोजक रहेको महोत्सवले गलकोट क्षेत्रमा पहिचान गरिएका पर्यटकीय क्षेत्रहरुको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) तयार गर्ने लक्ष्य बोकेको छ । आयोजक संस्थाबाट महोत्सव सम्पन्न भएको ३ महिनाभित्रै उदेश्य अनुरुपको काम थाल्ने प्रतिवद्धता पनि व्यक्त भएको छ ।
गलकोट बागलुङ जिल्लाको ऐतिहासिक स्थल हो । २०१९ सालसम्म जिल्ला सदरमुकाम नै थियो । प्रशासनिक कार्य सम्पादनको लागि गलकोट नै पुग्नु पर्ने अवस्था अन्त्यपछि पनि यसको वैभवमा खासै कमी आएन । मध्यपहाडी लोकमार्गको गोरेटो कोरिएपछि बजार बाटो किनारामा स¥यो । मल्ल राजाको दरबार रहेको हरिचौर क्षेत्र ओझेलमा प¥यो । यद्यपी, हरिचौरबासीले हरेस खाएनन् । आफ्नो ठाउँका सम्पदा, संस्कृति र पर्यटकीय क्षेत्रहरुको संरक्षणको लागि जुर्मुराए । अहिले आयोजना हुने महोत्सव पनि यही कडीसँग जोडिएको छ । महोत्सवमा लोपोन्मुख कला संस्कृति, भाँडाकुँडा, सरसामान पनि प्रदर्शन हुँदैछ । मनोरञ्जनको पाटोसँगै यो रमाइलो मेला मात्र हुने छैन भन्ने सन्देश प्रवाहित गर्ने तयारी आयोजकको छ । यो सह्रानीय कदम हो । सामाजिक संस्थाले आयोजना गरेको यो महोत्सवसँगै स्थानीय निकाय, जनप्रतिनिधि, सामाजिक संघ÷संस्था तथा आम नागरिक जोडिनु अर्को सकारात्मक पक्ष हो । उदेश्यमा प्रष्ट भएकैले यो सबै गलकोटबासीको महोत्सव बन्ने उपक्रममा रहेको हो । गलकोटको रेमिट्यान्समुखी अर्थव्यवस्थालाई पर्यटनमुखी बनाउने उदेश्यसहित आयोजित यो महोत्सवप्रति आम गलकोटबासीले अपनत्व महशुस गरुन्, आयोजक यो विषयमा चनाखो हुनुपर्छ । पुनितः लक्ष्यसहितको महोत्सव सफल बनाउन सबै क्षेत्रको सहयोग लिनुपर्छ, सबैलाई समेट्दै अगाडि बढ्नुपर्छ । गलकोट महोत्सवको सफल आयोजनाले महोत्सवको नाममा रमाइलो मेला आयोजना गर्ने प्रवृत्ति बदल्न दबाव सृजना गराउनुपर्छ । महोत्सव सफलताको हार्दिक शुभकामना !

