बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सागको लागि बनेका पूर्वाधार लथालिङ्ग नहोस्

सागको लागि बनेका पूर्वाधार लथालिङ्ग नहोस्


  • Dhorpatan News
  • मंसिर १७ २०७६, मंगलबार

१३ औँ दक्षिण एसियाली खेलकुद ( साग ) जारी छ । राजधानी काठमाण्डौ, पोखरासहित देशका विभिन्न भागमा आयोजित सागमा यो क्षेत्रमा सातवटै देशले भाग लिएका छन् । दक्षिण एसियाली सहयोग संगठन ( सार्क) को स्थापनासँगै सागको कल्पना गरिएको हो । सार्कको अध्यक्ष राष्ट्र नेपाल नै हो । यस मानेमा पनि साग आयोजना गर्न पाउनु नेपालको लागि गर्वको विषय हो । अर्कोतर्फ सार्कको भूमिका यतिबेला प्रभावकारी छैन । भारत र पाकिस्तानबीचको कटुताको छायाँ सार्कमा पर्दा सार्क निष्प्रभावी बन्न पुगेको हो । यस्तो अवस्थामा ती दुबै राष्ट्रका खेलाडीहरुलाई बोलाएर प्रतियोगितामा भिडाउनुलाई पनि सफलता मान्नुपर्छ । खेल कुटनीतिको रुपमा यसलाई अथ्र्याउन छिटो होला तर नेपालले साग आयोजन गरि दक्षिण एसियामा आफ्नो भूमिका भने प्रष्ट्याएको छ ।
खेल आयोजना भइरहेको छ । अहिलेसम्म खासै खोट लगाउनु पर्ने अवस्था छैन । खासगरि नेपाली खेलाडीहरुले उचित तालीम र सुविधा बिना पनि मज्जाले आफ्नो खेल प्रदर्शन गरेका छन् । यो खुसीको कुरा हो । तर, पूर्वाधार निर्माणको दृष्टिले भने नेपाल कहिँकतै चुकैकै छ । सागअन्तर्गत पोखरामा ८ वटा खेल भइरहेका छन् । मुख्य खेल हुने पोखरा रंगशाला अझ पूर्ण तयार भएको छैन । एकातिर काम भइरहेको छ, अर्कोतिर खेल चलिरहेको छ । दशरथ रंगशालाको अवस्था पनि करिब त्यस्तै रह्यो । तर, हतार भए पनि त्यसले केही इज्जत भने जोगाएको छ । पूर्वाधार निर्माणमा हामी कति कमजोर रहेछौँ भन्ने सन्देश विश्वमाझ नराम्रोसँग जानबाट बचे पनि खेलकुद मन्त्रालय यो मामलामा चुकेको भने प्रष्ट देखिएको छ । समयमै काम सम्पन्न गर्न कसले छेकेको थियो र ? ढिला काम थाल्ने र गुणस्तरीयभन्दा पनि काम चलाउने रुपमा मात्रै पूर्वाधार निर्माणले खेलकुद क्षेत्रको विकास हुन सक्दैन । नेपाली खेलकुदमा देखिएको यो रोगको निदान खोज्न ढिला भएको छ । अर्कोतर्फ खेलाडीहरु पर्याप्त तालीम पाएका छैनन् । खालिपेट खेल कहिलेसम्म खेल्ने भन्ने प्रश्न यतिबेला पनि उठ्न थालेको छ । किर्तिमानी खेलाडीहरु यहाँको प्रतियोगिता छाडेर खाडीमा श्रम बेच्न जाने अवस्था कायम रहेसम्म खेलकुदका जति ठूला प्रतियोगिता आयोजना गरे पनि अवस्था सुध्रदैन । यो सत्यलाई सक्दो छिटो मनन गर्नुपर्छ । खेलकुदमा लाग्नेहरुलाई राज्यले संरक्षण गर्न कुनै कन्जुस्याइँ नगर्ने हो भने मात्र यसले सही गति लिन्छ । जे होस्, पहिलो साग आयोजना गरेको नेपालले १३ आँै को पनि आयोजना गर्ने अवसर पाएको छ । खेल सकिन अझै धेरै दिन बाँकी छ । यो बीचमा नेपाल कहिँकतै चुक्नु हुँदैन । खेलाडीको सुरक्षा, व्यवस्थादेखि यसको समापनलाई पनि त्रुटीरहित बनाउन सबै खेलप्रेमी एक हुनुपर्छ । मुख्य कुरा त, सागको मुखमा बनाइएका संरचनाहरुलाई त्यही अवस्थामा राख्दै थप पूर्वाधार निर्माणमा लाग्नैपर्छ । अहिले हतारमा भएको काम गुणस्तरीय छ कि छैन, अनियमितता पो भएको छ कि भन्ने प्रश्नको जवाफ पनि जनताले खोज्छन् भन्ने बुझ्नुपर्छ । प्रतियोगिता सकिएपछि पूर्वाधार लथालिङ्ग हुने अवस्थाप्रति बेलैमा सचेत बन्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->