बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीको गुर्जामा हिरा जस्तै चम्किने कार्ज पत्थर खानी अलपत्र

म्याग्दीको गुर्जामा हिरा जस्तै चम्किने कार्ज पत्थर खानी अलपत्र


  • धु्रबसागर शर्मा
  • मंसिर २० २०७६, शुक्रबार

म्याग्दी, २० मंसिर –  म्याग्दीको धौलागिरि गाउँपालिका वडा नं १ मा पर्ने अत्यन्त दुर्गम गाउँ गुर्जामा हिरा जस्तै चम्किने बहुमूल्य पत्थर ‘कार्ज’ को खानी अलपत्र अवस्थामा रहेको छ । बहुमूल्य कार्ज पत्थरखानी उत्खनन् ह्न नसक्दा राज्यले अर्बौ रुपयाँ गुमाएको छ ।
कार्ज पत्थरका कारण रातको समयमा हिराजस्तै टल्कन गुर्जा हिमालको फेदमा रहेको घुर्मखोलाको पहाड गुर्जाको गौरब बनेको छ । सबैको ध्यानाकर्षण गरेको छ र राज्यलाई अर्बौ रुपैयाँ आम्दानी गराउनका लागि उत्खनन् गर्न आह्वान गरिरहेको छ ।
म्याग्दीमा एउटा उखान निकै प्रचलित छ । ‘टुप्पीभन्दा माथि ठाउँ छैन,गुर्जाभन्दा माथि गाउँ छैन’ । यो उखानबाट नै स्पष्ट हुन्छ गुर्जाको अवस्था, विवशता र बाध्यता । यातायात र सूचना प्रविधिबाट निकै टाढा रहेको यो गाउँमा प्रकृतिले अनुपम सुन्दरता र सम्पदा खन्याईदिएको छ । गुर्जा हिमालको फेदमा अवस्थित एउटामात्र गाउँ गुर्जाको विशेषता हो । यस्तो दुर्गम गाउँमा छ हिराजस्तै टल्किन कार्ज ढुङ्गाको खानी ।
हिरा,मोतीजस्ता बहुमूल्य विलासी धातुमा प्रयोग हुने ‘कार्ज’ नामक उक्त पत्थरको खानी गुर्जाको पहाडमा रहेको प्रमाणित भैसक्दा पनि उत्खनन्का लागि राज्यले कुनै पहल नगर्दा अलपत्र अवस्थामा रहेको हो ।
खानी तथा पुरातत्व विभागले एक दशक अगाडी उक्त ढुङ्गा खानीको पहिचान गरेपनि उत्खनन्का लागि सम्बन्धित निकायले चासो नदेखाउदा अलपत्र परेको धौलागिरि गाउँपालिका वडा नं १ का वडाअध्यक्ष झकप्रसाद छन्त्यालले बताए ।
‘बहुमुल्य हिराको खानी हुनसक्छ, खानीको वास्तविकता अवलोकन गर्नुपर्छ’ म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतमले भने । गुर्जा गाउँबाट करिव एकदिनको दुरीमा रहेको खानी आसपासका पहाडहरू रातको समयमा बत्ती बलेजस्तै टल्किने गरेको वडाअध्यक्ष छन्त्यालले जानकारी दिए ।
‘खानी आसपासका क्षेत्र रातको समयमा समेत टल्कन्छन् । प्रचुर सम्भावना भएपनि राज्यले नै चासो देखाएको छैन’ छन्त्यालले बताए । खानी भएको क्षेत्रमा रातको समयमा पहाड नै बत्ती बालेजस्तै उज्यालो हुने भएकाले पनि स्थानीयले अनुसन्धानमा सघाउन अनुरोध गरेका छन् । पत्थरलाई उचित प्रशोधन गरे बहुमुल्य धातु तथा औठी तथा मानिसले प्रयोग गर्ने धातुहरूमा प्रयोग गर्न सकिन्छ ।
नीजि क्षेत्रबाट सहयोगको अपेक्षा
दशकौंदेखि राज्यको सेवा सुविधा र पहँुचबाट टाढा रहेको गुर्जाका वासिन्दाले नीजि क्षेत्रबाट सहयोगको अपेक्षा गरेका छन् । गुर्जामा ग्रामिण पर्यटनको प्रचुर सम्भावना, बहुमूल्य खानी, जडिबुटी र जैविक विविधताले युक्त भएको कारणले पनि नीजि क्षेत्रको ध्यानाकर्षण हुने कुरामा स्थानीय आशावादी छन् ।
‘यहाँका सम्भावनामा लगानीको आवश्यकता छ, गाउँपालिकामा सुरूङ मार्गको प्रस्ताव समेत पारित भएको छ’ वडा अध्यक्ष झकप्रसाद छन्त्यालले भने । उनले ग्रामिण पर्यटन अन्र्तरगत रुकुम र बागलुङ जोड्ने बस्तीहरुलाई समेटेर पदमार्ग सहितको योजना बनाइ पदैलमार्ग र हवाई मार्ग हुदै गुर्जामा आउन सकिने बताए ।
हवाइ तथा पैदलमार्गको गन्तव्य बनाउन आग्रह
विकट गुर्जालाई हवाई तथा पदैलमार्गको गन्तब्य बनाउन स्थानीयबासीले माग गरेका छन् । कृषि, पर्यटन र खानीमा अति सम्भावना भएको गुर्जाको विकासमा नीजि क्षेत्रबाट आवश्यक सहयोगको अपेक्षा गर्दै स्थानीयले गुर्जालाई वेवास्ता नगर्न आग्रह गरेका म्याग्दी उद्योग वाणिज्य संघका भूतपूर्व अध्यक्ष जीवनकुमार विश्वकर्माले जानकारी दिए ।
फोटो ः गुर्जामा रहेको कार्ज पत्थर खानीबाट निकालिएको पत्थर

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->