म प्रेम गर्छु
तिमिलाई हैन
लासलाई ।
मृत्युबारे सोच्दैछौ– आफ्नो
बन्द गर सोच्न
मेरो प्रेम अपुग छ आफ्नै लासलाई ।
यी काँधहरु देख्दै छौ नि
यो छाती हेर्दै छौ नि
सोच्दै हौला
एकछिन टाउको राखेर
प्रेमिल वातहरु गर्न पाए …
अँहँ हुन्न,
यी काँधहरुमा त
यो छातीमा त
वर्षौंवर्षदेखि बोकेर हिँडेको छु
आफ्नै लास ।
यो मुस्कान या खुसी अनुहार
यो आँसु या दुःखी अनुहार
यो आक्रोश र आवेगको अनुहार
या तिमीले नदेखेका
यी शरीरका अवयवहरु
लासका सानासाना टुक्राहरुमात्रै हुन्
र, जहाँजहाँ पुग्छु म
यो छातीबाट
यी काँधहरुबाट
चाहेर–नचाहेर
लासका यिनै टुक्राहरु खस्छन् ।
मानिसहरु घृणा गर्छन्
मानिसहरु श्रद्धा गर्छन
टुक्रा लासलाई
या अफवाह फैलाउँछन्
लासबारे
हैन, मबारे
तर म
प्रेम गर्छु र गरिरहन्छु
तिमीलाई– हैन लासलाई ।
जब झर्नेछ
लासको अन्तिम टुक्रा
अमुक गुफामा
मेरो प्रेम
त्यही लास हुनेछ
मान्नु,
मेरो प्रेमको लास
तिमीलाई समर्पण ।
मान्न ,
उहिल्यै उहिल्यै
देवताले बोकेर हिँडेकै हो
आफ्नो प्रेमिकाको लास
मेरो लास– प्रेम
तिमीलाई अर्पण ।
० ० ०
मृत्युको गुलाफ
मानिसलाई जीवन यसै कारण दिइयो
कि
उसको मृत्यु होस् ।
तर मानिस कति धेरै लोभी छ
हामीसँग कति धेरै सानासाना लोभहरु छन् ।
एक पाइला अघि बढ्न पाए हुने
एक चिम्टी बढी लिन पाए हुने
एकै नजर धेरै हेर्न पाए हुने
एकै स्वास बढी फेर्न पाए हुने
हामीसँग अनगिन्ती सानासाना लोभहरु छन् ।
भोको पेटमा रोटीझैं पस्छ जब
आँखाभित्र
मसिनामसिना सपनाहरुको अनेकौं रङ्ग
तब हामीमा
सानासाना लोभहरु उफ्रिन्छ बुरुकबुरुक
त्यो राम्रो मेरै भए हुने
त्यो ठूलो मेरै भए हुने
त्यहाँ परसम्म मेरै बाटो भए हुने
दैव सधैं मेरै दाहिने रहोस्
हामीसँग कति धेरै सानासाना लोभहरु छन् ।
विहानी
अँध्यारोको बथानबाट छुट्याएर ल्याउँछ किरण
र, बिछ्याइदिन्छ
ऊ उता पाठशाला जाने बाटाहरुमा
यी यता मन्दिर जाने बाटाहरुमा
या जीवनलाई हिँड्न हुने
कुनै हरियो मैदानमा
जब हामी
त्यही बाटो भएर
अङ्गभङ्ग भएका सपानाहरु बोकेर
अस्पतालको बाटोतिर हिँड्छौं
लोभ बढेर आउँछ
कि
अस्पतालको आकस्मिक शै्ययामा
बसिरहेकोछ मृत्यु
त्यसलाई अहिल्यै भेट्न नपरे हुने .
सायद,
मृत्यु टाढा कतै
रेशमझैं फक्रन्छ
र, हामी
ओभरकोटले शरीर ढाकेझंै
छपक्कै मृत्यु ओढेर हिँड्छौं
र, कुनै एक दिन
खुसीका ससाना मुस्कानहरु चपाउँदै
मृत्युको गुलाफ फक्रिन्छ,
सबै चेतनाहरु ढाक्दै पत्रिन्छ
र, छोपिन्छ …
मानिसलाई जीवन यसैकारण दिइयो
कि
उसको मृत्यु होस ।





