आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

कविता : लाहुरेकी आमा

कविता : लाहुरेकी आमा


  • राधिका कल्पित
  • मंसिर २१ २०७६, शनिबार
बाडुल्की लाग्छ जब
झझल्कोले सताउछ
आँखा फरफराउछ जब
भयले सताउछ
जब मोबाइलको घण्टि कराउँदैन केही दिन
संशयले मुटु खुम्चिन्छ
सात समुन्द्र पार छन्
सात देशमा कोखका सात टुक्राहरु
कहिले जापानमा भुकम्प गयो रे भनिदिन्छन गाउँलेले
कहिले मलेसियामा ज्वालामुखी फुट्यो रे भनिदिन्छ रेडियोले
कहिले अस्ट्रेलियामा सुनामि आयो रे हजारौ बेपत्ता भनिदिन्छ समाचारले
कहिले बेलायतमा गोलि चल्यो रे नेपाली मारिए रे भनिदिन्छ बिबिसि ले
कहिल्यै समाचार नसुन्ने लाटी आमा
सन्तान बिदेशिएपछि रेडियो सुन्ने भएकी छन
लालाबाला काखमा हुँदा रेडियो बोकेर आएका खसमले
रातभरी रेडियोको कान बटार्दा झर्को मान्ने आमा
आजकल समाचार नसुनि बस्न नसक्ने भएकी छन् ।
कहिलै एक्लो भएन दरम खोला
लाहुरेकी आमा सगसंगै सुस्साउँछिन्
सन्चो बिसन्चो बोक्दैन आजकल हुलाकी
हालखबर सोद्दैनन् आजकल गाउँलेहरु
पँधेरामा भेटिन्नन साथी संगिहरु
न भेटिन्छन सोतेको पाखो र खहरेभिरतिर
साईंलि र माइली
कसलाइ सोधुन् लाहुरेकी आमा हालखबर?
घरकै धुरीतिर फर्केर
जब बिहानै टौवा माथि कराउँछ काग
आँखा भन्दा पहिल्यै रसाउछन् उनका दुई लाम्टा
अनि कुलदेउता सम्झेर के- के मन्त्र जप्छिन
भाकल गर्छिन मेरा सन्तान सकुशल रहुन् भनेर
एकाबिहानै सन्चो-बिसन्चो सोध्ने मन हुन्छ
अनि हेर्छिन क्यालेन्डर
आज त कसैको बिदा छैन
के फुर्सद होला र आमासंग बोल्ने
भन्ने मन थियो उज्यालो नहुँदै
मैले नराम्रो सपना देखेँ भनेर ।
जब अगेनोमा आगो भरभराउछ
डराउँछिन ऊनि सत्रु किन हाँसे भनेर
झोस्छिन् अगुल्टो पानीमा र मन सन्तोष पार्छिन
जब तरकारि पकाउने सुरसार हुन्छ
घिरौला काट्छिन, सम्झिन्छिन् ठुलेलाइ
मही पार्न बस्छिन जब
 सम्झन्छिन साहिलोलाई
हत्केला पसार्दै नौनी माग्न आएको
मनमा मथिङगल मच्चिन्छ
मदानी जस्तै घुम्छ उनको वात्सल्य मायाँ
जब बाल्टी लिएर बस्छिन् माइली गाई दुहुन
सरसर बज्दा दुधका धारा
याद आउछ टुक्रुक्क छेउमा बटुको लिएर बसेकी सान्नानीको मधुरो अनुहार ।
किन लखेट्छन् मलमल जस्ता नरम यादहरुले उनलाइ?
किन रमाउन सकिनन् सिडनि हार्वर र न्युयोर्कमा
र फर्किन आफ्नै घर?
किन रमाइलो लागेन टोकियोको रमझम र
फर्किन आफ्नै आँगन?
किन मन लागेन लन्डन ब्रिर्जको त्यो मादकता
सतायो मालि गाइको यादले ?
मदुस भरिका खसमका तक्मा र फुली हातभरि लिएर
बाँडिन्छिन् घरि सिन्दुर र सुवेदारको यादमा
भोटो र घाँघर सुँघेर किन भरिन्छ छाति
जसरि रसाउछन् सुकेका झरना बर्षातमा ।
छोराले पठाइदिएको ओभरकोट गुटुमुट पारेर फाल्छिन
अनि मदुसबाट झिक्छिन घलेक र घन्टेमाला
अनि छिटको फरिया र पल्टने च्यादर ओडेर
हेर्छिन ऐनामा र बिर्सिन चाहन्छिन् सातवटा मुटुहरु
जो निस्के कोखबाट
र हराए काखबाट
अनि बिलाए आँखाबाट एक- एक गर्दै
र आज उनलाइ पनि उनिहरुले जस्तै
सबलाइ चटक्क बिर्सेर एक्लो हुने मन छ
कल्पेर त्यहि मुलायम यादहरुमा
लालटिन बालेर झिसमिसेमा गाँउबाट भागेकी
सिर्फ सुवेदारकी मनपर्ने कान्छी भएर ।
रेडियोको कान बटार्छिन
समाचारको सट्टा गीत बजाउछिन
`बेनिको बजार जता मायाँ उतै छ नजर´
खै के सम्झिन
भित्ताको सुवेदारको फोटो हेर्दै
लामो समय पछि बिर्सिएको हाँसो बटुलेर
मुसुक्क मुस्काइन् लाहुरेकी आमा ।
काठमाडौ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->