बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

साहित्य महोत्सवको सन्देश

साहित्य महोत्सवको सन्देश


  • Dhorpatan News
  • पुष १ २०७६, मंगलबार

पोखरामा ८ औँ नेपाल साहित्य महोत्सव सम्पन्न भएको छ । साहित्य महोत्सव भनिए पनि यहाँ विभिन्न सामाजिक विषयमा परिचर्चा भयो । देश र विदेशका विद्धानहरुले विभिन्न सत्रमा आफ्ना धारणाहरु सुनाए । साहित्यको यो महाकुम्भमा साहित्यका विविध आयामहरुबारे पनि चर्चा भयो । नेपाली साहित्यलाई विश्वस्तरीय बनाउनेबारे बहसहरु छेडिए । यति धेरै लेखक÷विचारकहरुलाई एउटै मञ्चमा उभ्याउनु आफैमा कठिन कार्य हो । व्यवस्थापनमा देखाएको चुस्तताले मात्रै नभएर छलफलका विषयहरु, कलाकार, लेखकहरुको छनौटले पनि कार्यक्रम अब्बल ठहरियो ।
नेपाल साहित्य महोत्सवका सुरुका ४ वटा श्रृंखलाहरु संघीय राजधानी काठमाण्डौमा सम्पन्न भएका थिए । भूकम्प र भारतीय नाकाबन्दीको छेकोमा यो महोत्सव पोखरा सारियो । आयोजक वुकवार्म फाउण्डेसनका अनुप बरालका अनुसार विदेशमा हुने साहित्यिक महोत्सवबारे सुनेकै भरमा केही गरौँ न भन्ने लडहमा यो महोत्सवको परिकल्पना गरिएको थियो । युवाहरुको लहडमा सुरु भएको यो महोत्सव आठौं संस्करणसम्म आइपुग्दा राष्ट्रकै महत्वपूर्ण साहित्यिक महोत्सव बन्न सफल भएको छ । राज्यले निर्वाह गर्नुपर्ने दायित्वबहन गरेकोमा पनि आयोजक धन्यवादका पात्र भएका छन् । आयोजकहरुले साहित्य सम्मेलनका आउँदा श्रृंखला पनि पोखरामै आयोजना गर्ने उद्घोष गरेका छन् । यो पोखराको लागि खुुसीको कुरा हो । ठूलो खर्च, त्यति नै मान्छेहरुको व्यवस्थापन गर्नु चानचुने कुरा होइन । केही व्यावसायिक प्रतिष्ठानको सहयोगमा संचालित यो महोत्सव अब व्यक्तिको नभएर समाज र राष्ट्रको बनेको छ । नेपाली साहित्य विश्वस्तरको बनाउन पनि महोत्सवले प्रत्यक्ष÷परोक्ष रुपमा सघाएको छ । त्यति मात्रै नभएर साहित्य र समाजका विविध आयामहरुको बहस चलाएर यसले समाज रुपान्तरणको लागि पनि ठूलै भूमिका निर्वाह गरेको छ ।
कला,साहित्य र संगीतबिनाको समाज अधुरो हुन्छ । साहित्यले समाजको कथा बोल्छ । सामाजिक रुपान्तरणको लागि भूमिका निर्वाह गर्छ । त्यसैले कला, संगीत र साहित्य समाजको अभिन्न अंग हुन् । कुनै पनि समाज कति सुसंस्कृत छ भन्ने कुराको भेउ पाउने माध्यम पनि यही नै हो । साहित्य मनोरञ्जनको माध्यम मात्रै होइन । रुपान्तरणको औजार पनि हो । अतः कला, साहित्य र संगीतको विकास राज्यको दायित्व हो । नेपालमा भने ठीक उल्टो छ । राज्यले कला, साहित्य र संगीतको उत्थानको लागि गठन गरेका संस्थाहरु राजनीतिक भर्तीकेन्द्र बन्न पुगेका छन् । ती संस्थाहरुले कला, संगीत र साहित्यको उत्थानभन्दा भजन गाउने धन्दा चलाएका छन् । यो दुर्भाग्यपूर्ण छ । यस्तो अवस्थामा एउटा प्रकाशन गृहले आयोजना गरेको साहित्य महोत्सवको जति प्रशंसा गरे पनि थोरै हुन्छ । साहित्य महोत्सवले पठन संस्कृतिको विकास मात्रै गरेको छैन, सुसंस्कृत समाज निर्माणमा आफ्नो तर्फबाट यथेष्ट योगदान दिएको छ । अत ः यी र यस्ता महोत्सवहरुमा राज्यले नै सहयोग गर्नुपर्छ । पोखरामा आयोजना भएकोजस्तै महोत्सवहरु देशका अन्य भागमा पनि हुने वातावरण निर्माण गरिनु पर्छ । यसो हुन सके नेपालले पनि विश्वस्तरका लेखक जन्माउनुका साथै पठन संस्कृतिको विकाससँगै सुसंस्कृत समाजको निर्माण हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->