बागलुङ,१ पुस – सदरमुकामदेखि कुश्मीसेरा जाने सडकको ट्रयाक खुलेको दुई दशक नाघ्यो । २१ किमी यो सडक खण्डमा कति लगानी भयो भन्ने समेत अहिलेसम्म यकिन छैन । बरु पटक पटकका लगानी खेर गए । करोडौं रकम लगानी भएको महिना नबित्दै यहाँको सडक सधैं हिलाम्मे, खाल्डैखाल्डा भएर यात्रीले सधै सास्ती मात्र खेपे ।
अब भने यो सडकको यात्रा पनि सहज बन्ने भएको छ । गण्डकी प्रदेश सरकारले सडकहरुको स्तरीकरणमा प्रादेशिक सडक ‘क’ वर्गमा परेको यो सडक कालोपत्रेको काम थालिएको छ । गत असारमा टेण्डर प्रकृया थालिएको यो सडकको १० किलोमिटर खण्डको काम भदौ १० गतेबाट सुरु भएको हो । सडक स्तरोन्नतीसहित कालोपत्रेको जिम्मेबारी पाएको कर्ण विल्डर्स प्रा.लि.ले कामलाई तिब्र बनाएको छ ।
काम सुरु गरेको पहिलो ३ महिनामै १५ प्रतिशत काम सकिएको निर्माण कम्पनीका साईड सुपरभाईजर सन्दिप श्रेष्ठले बताए । मालढुंगा भन्दा केही अघि कालीगण्डकी करिडोरदेखि पाग्जा सम्मको झण्डै ४ किलोमिटर सडक २०७३ सालमा पक्कि बनेको थियो । सडक बिभागले पक्कि बनाएको उक्त सडकको अन्तिम बिन्दुदेखि कुश्मीशेरातर्फ १० किलोमिटर खण्ड कालोपत्रेको काम यो आर्थिक बर्षमा सुरु भएको हो । यो योजना अन्तरगत पाग्जादेखि टाकुरी सम्मको सडक कालोपत्रे हुने छ ।
भौतिक पुर्वाधार मन्त्रालयको २६ करोडको लगानीमा उक्त सडक कालोपत्रे हुँदै छ । यो रकम कर बाहेकको रकम हो । २०७८ साल असार मसान्तसम्म काम सम्पन्न गर्नेगरी निर्माणको जिम्मेबारी लिएको कम्पनीले ९ किलोमिटरमा माटो काट्ने, पक्कि पर्खाल बनाउने, तारजाली सहितको पर्खाल बनाउने कामलाई अन्तिम चरणमा पु¥याएको छ । बाँकी १ किलोमिटरमा पनि क्रमशः काम अघि बढेको निर्माण कम्पनीले जनाएको छ । 
‘प्ररम्भीक चरणको काम अन्तिम चरणमा पुगेको छ’ श्रेष्ठले भने ‘नाली निर्माणको काम धमाधम भैरहेको छ । एक दुई महिनामानै हामिले आधा काम सक्छौं ।’ दुई बर्षको समायावधी लिएर काम थालेको कम्पनीले कुनै बाधा अबरोध नभएमा एक बर्षमै काम सक्ने लक्ष लिएको निर्माण कम्पनीका प्रबन्ध निर्देशक नविन गुरुङले बताए ।
यो सडक निर्माणका लागि कम्पनीले ३ सय जना मजदुर र दुई दर्जन बढी साना ठुला मेसिनरी सामानहरु प्रयोगमा ल्याएको छ । प्रारम्भिक चरणको कामबाट सरोकारवाला समेत सन्तुष्ट देखिन्छन् । ‘यो सडकको काम सोचे भन्दा द्रुत गतिमा भएको छ’ बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा. सुर्य पाठकले भने ‘तोकेको भन्दा छ महिना अघि काम पुरा गरे निर्माण कम्पनीलाई हामि सम्मान गर्छौं ।’ स्थानीय सर्वसाधारणले सडकको काममा सन्तुष्ट रहेको बताएका छन् । ‘हामीले पनि भरपुर सहयोग गरेका छौं काममा अबरोध हुन दिँदैनौ’ सडक प्रभावित क्षेत्रका स्थानीय उमानाथ शर्माले भने ‘समयमा काम हुने आशा पलाएको छ ।’ जिल्लाको दक्षिणमा रहेका सबै गाउँहरु जोड्ने सडक भएकाले यो सडकमा सर्वसाधारणको चासो बढी रहेको छ । 
‘हामीलाई स्थानीय अवरोध भएन र निर्माण सामग्री सहज पायौं भने छिट्टै काम सक्छौं’ साईड इन्चार्ज श्रेष्ठले भने ‘एक दिन पनि काम रोकेका छैनौ, समयमा हस्तान्तरण गर्छौं ।’ भौतिक पुर्वाधार कार्यालयले पनि अन्य सडकको तुलनामा यो सडकको काम सन्तोषजनक रहेको जनाएको छ । ‘यो काम गर्ने कम्पनी हो हामीले समयमा काम सक्न प्रेरित गरेका छौं’ भौतिक पुर्वाधार कार्यालय पर्वतका प्रमुख दयाराम अधिकारीले भने ‘अब छिट्टै बागलुङको दक्षिण पक्कि सडकसँग जोडिन्छ ।’
गत बर्ष एक कार्यक्रममा जैमिनी नगरपालिका वडा नं. १ का काशीराम आचार्र्यले अहिलेसम्म ६ पटक कालोपत्रै भैसक्यो भनेर यो सडकको खिल्ली समेत उडाए । हुनपनि कुश्मीसेरामा आउने ठूला नेताहरुले हरेक बर्षजसो सडक कालोपत्रे गरिदिने आश्वासन दिने गरेका थिए । त्यसमा कांग्रेस र कम्प्युनिष्ट नेताहरु सबै छन् । मन्त्रीदेखि प्रधानमन्त्री सम्मका नेताले पनि कालोपत्रेको आश्वासन दिएपनि यो सडकले कहिल्यै गति लिएको थिएन् । फलस्वरुप दक्षिण बागलुङका जनतालाई यो सडकले सधै गिज्याएको थियो । अब सडकले गिज्याउने दिन सकिएको प्रतिनिधिसभा सदस्य डा. पाठक बताउँछन् । 
तत्कालिन जिबिसले २०५४ मा निर्माण थालेको यो सडक खण्ड २२ बर्ष पुग्दा पनि हिलाम्मे र धुलाम्मे छ । यो सडक खण्डमा कति रकम खर्च भयो भन्ने यकिन तथ्यांक समेत अझै कतै भेट्न सकिंदैन । कहिले जिविस, कहिले आरआईडिपी, कहिले ड्रिलिप र कहिले स्थानीय तहको बजेट लगानी परेको छ । ‘यो सडक निर्माणमा कसले कति रकम खर्च गरेको छ भन्ने यकिन तथ्यांक कतै भेटिंदैन’ स्थानीय काशीराम आचार्यले भने, ‘झण्डै एक अर्ब खर्च भयो होला, अझै सेरा जाने भन्दा कर्मचारीदेखि सर्वसाधारण अप्ठ्यारो मान्छन ।’
एशियाली बिकास बैंकको ऋण सहयोगमा शुरुवातमा कामका लागि खाद्यान्न कार्यक्रममार्फत खुलेको ट्रयाकमा करोडौ खर्च भएको थियो । यो खण्डमै दोश्रो पटक एडिबीकै सहयोगमा १६ करोड रुपैया“ लगानी गरियो । विकेन्द्रीत ग्रामीण पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप) ले यो सडक ग्राभेलको काम गरेको थियो । २०७० देखि ०७२ सम्मको ठेक्का सम्झौता २०७३ मा पुरा भयो । बाटो हस्तान्तरण भएकै बर्ष पनि सहज यात्रा भएन । 
स्थानीय तह गठन पनि यो सडक बागलुङ र जैमिनी नगरक्षेत्रमा पर्छ । स्तरोन्नती र कालोपत्रे गर्न नगरको बजेटमा साथ दिने दाताको खोजी गर्दा काम ढिलाई भएको नगर प्रमुख ईन्द्रराज पौडेलले बताए । तर गत बर्ष स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत यो सडकमा एक करोड लगानी गरेर डेढकिमी कालोपत्रे गरिएको छ । केही खण्डमा स्टिमेट त्रुटी हुँदा कालोपत्रे उप्कियो । तरपनि यो सडकलाई कालोपत्रे गरिछाड्ने भन्दै नगरपालिका र सांसद डा. सूर्य पाठक अगाडि बढेका छन् । यो बर्षपनि यो सडकको सेरातर्फ र बलेवा खण्डमा समेत बजेट परेको छ । कुश्मीशेरा तर्फबाट कालोपत्रे गर्नका लागि साझेदारी कार्यक्रमको २ करोड रुपैयाँको टेण्डर खुलेको छभने केन्द्रिय रणनैतिक सडक अन्र्तगतको १ करोड बजेटको पनि काम सुरु हुने चरणमा रहेको छ ।





