पोखरा,५ पुस – नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायिक प्रवर्द्धनका लागि देशका विभिन्न ठाउँमा हुने मेला महोत्सवको आयोजना नेपाल उद्योग वाणिज्य महासंघले मात्रै गर्न पाउनु पर्ने बताएका छन । शुक्रबार स्याङ्जामा आयोजित ‘गण्डकी प्रदेशस्तरीय स्याङ्जा महोत्सव’ मा बोल्दै ढकालले स्थानीय उत्पादन, सीप र कलालाई प्रवर्द्धन गरी बजारसम्म पुर्याउने काम उद्योग वाणिज्य महासंघ र यस मातहतका संघ संस्थाहरुको रहेकाले त्यससम्बन्धी मेला महोत्वस पनि महासंघले मात्रै गर्न पाउनु पर्ने दावी गरे ।
उनले मेला महोत्सवहरुको आयोजना गर्ने काम नेपाल उद्योग वाणिज्य महासंघ र यस मातहतका संघसंस्थाहरुलाई मात्र दिनुपर्ने प्रावधानका लागि सम्बन्धित सबै प्रदेश सरकारहरु र संघीय सरकारसमक्ष पहल गर्ने बताए । नेपालको आर्थिक विकास तथा समृद्धिको यात्रामा निजी क्षेत्रको ठूलो योगदान रहेको भन्दै उनले देश विकासको तीन खम्बे अर्थनीतिमा निजी क्षेत्र एक दरिलो खम्बा भएकोले यससँगको सहकार्य र साझेदारीबाट मात्र देशमा समृद्धि आउने बताए । सरकारी संयन्त्रको पुरानै मानसिकताका कारण व्यावसायीलाई सोचेजस्तो सहज वातावरण नरहेको ढकालको भनाई थियो।




