बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लघु कथा : कुर्लुङ खट्टे

लघु कथा : कुर्लुङ खट्टे


  • शिवप्रसाद पाण्डे
  • पुष ८ २०७६, मंगलबार

उजिरबहादुर चंखे नामबाट परिचित थिए ; छन् । उनी कलीलै उमेरबाट भुमिगत राजनीतिमा लागेका थिए । भोक तिर्खा , डर त्रास , सपना विपना , झुप्रा अोडार , बन्दुक बम , वर्ग शत्रु मित्रु , जनवाद प्रतिक्रियावाद , उकाली अोराली धेरैको कथा मात्र उनले सुनेनन् व्यथा पनि भोगे ।उनी एकपटक दुर्गम गाउँको एउटा घरमा सामन्य अर्थमा बाँस बस्न र बिशेष अर्थमा सेल्टर लिन पुगे । उनीसंग एक जना साथी पनि थिए । तिनीहरूलाई अोछ्याउन भेडाको ऊन र अोडन एउटा घुम दिईयो । घरभेटी बाले तिनीहरुलाई खानाको बारे सोधे – मकै भुटि खाने कि कुर्लुङ खट्टे खाने ? चंखेले तत्काल आफ्नी आमाले भुटेका तातो खट्टे दुधमा खन्याएको “झ्याई खट्टे” र खट्टेमा खुदो मोलि खाएको मीठो स्वादको याद आयो । उनले भुटेका मकैको तुलनामा कुर्लुङ खट्टे राम्रो होला भनि अनुमान लगाए । त्यसैले उनले जवाफ दिए – कुर्लुङ खट्टे खाने हजुर बा ! त्यसपछि घरभेटि बा भित्र पसि ढोका लगाए । तिनीहरू कतिखेर कुर्लुङ खट्टे खान दिन्छन् भनि प्रतीक्षा गरि रहे । तर बुढा बा उज्यालो नभैकन बाहिर निस्केनन् । बिहान मात्र तिनीहरूले थाहा पाएकि स्थानीय भनाईमा “कुर्लुङ खट्टे खानु” ले केही नखाने हुदोरहेछ ।

लडाइँ कालमा चंखे भाग्दा भाग्दै खुट्टा भाचिए पछि पक्राउमा परे । उनलाई हतियार भण्डारण स्थल भन्न केरकारसाथ यातना दिइयो । तर उनी वक्दै वकेनन् । अन्तमा साँचो वकाउने यन्त्र प्रयोग गरियो । आजभोली जस्तो हाई प्रोफाइलका बन्दीले त्यो यन्त्र प्रयोग गर्ने वा नगर्ने भन्ने कुरा आफ्नो इच्छामा भर पर्ने व्यवस्था त्यतिखेर थिएन । चंखेलाई साँचो कुरा वकाउने यन्त्रले वकाई छाड्यो । यन्त्रको बटन रातो बल्यो । उनलाई गद्दारीको बिल्ला सहित दुबैतिरबाट कारबाही माथि कारबाही गरियो ।अहिले उनी नामले रिहा भएका छन् । सत्ता पल्टेको छ । आफु सँगैका केही सर्वहारा भनौं वा सर्वहारीहरुको उचाइ उनले नाप्नै सक्दैनन् । अपाङ्ग अपहेलित अपमान र अपसमायोजन जस्ता शब्दहरुको सामान्य अर्थ उनले पहिल्यैदेखि बुझिसकेका थिए । यी शब्दहरु लगायत अपसृप ( सम्बन्ध बिच्छेद गरिएको ), अपहसित ( खिल्ली उडाइएको ), अपहिज ( कामको निम्ति योग्य नभएको ), अपरिणय ( विवाह नभएको अवस्था ) जस्ता धेरै अप उपशर्ग लागेर बनेका शब्दहरुको भावार्थ उनले अहिले बुझेका छन् । धेरै चंखेहरुले जीवनले घाँस खायो भने पनि उजिरे चंखेले भन्ने गर्दछन् – मेरो जीवनले कुर्लुङ खट्टे खायो !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->