बागलुङ, १० पौष– ८० बर्षको उमेरमा अधिकांस नेपालीको मृत्यु भैसकेको हुन्छ । बाँचेकाहरु पनि ओच्छ्यान परेका, छोरानातीको भरमा खानुपर्ने बाध्यतामा हुन्छन् । तर बागलुङको बरेङका कुलबहादुर पुन अहिले पनि तन्नेरीझै हिड्ने मात्र हैन सदरमुकाम आएर धेरै काम सल्ट्याएर गाउँ फर्कन सक्छन् ।
बरेङ गाउँपालिका २ हुग्दीशिरका ७९ बर्षका पुन युवाझै सबै काममा सक्रिय छन् । गाउँको बिकास निर्माणमा पनि उनकै अगुवाई धेरै छ । सन् १९५८ मा भारतीय सेनाको २÷८ जिआरमा भर्ती भएर उनले २२ बर्ष सम्म जागिर खाए । उनी भर्ती भएको बेला भारतीय सेनाले चीन र पाकिस्तानसँगको धेरै लडाईमा समय बिताउन बाध्य भए । त्यो लडाईमा धेरै नेपालीले पनि ज्यान गुमाए । उनी भने दुवै लडाई जितेर फर्केका थिए । अहिले पनि उनले रोग जितेर बसेका छन् । अहिले पनि उनी बर्षको दुइपटक पेन्सन थाप्न सदरमुकाम आउँछन् । त्यतिमात्र हेन यो उमेरमा पनि उनी ग्रामीण सडक, बिद्युतीकरण, खानेपानी र सिंचाईका योजनाहरुमा अगुवाई गर्छन् । घरको काम भ्याउने, सरसफाईका अभियानमा साथ दिने र त्यसपछि फेरी सामाजिक अभियानमा उत्तिकै सक्रियता देखेर गाउँले दंग पर्छन् । ‘हनेरी सुवेदार’ पदबाट पेन्सन भएका उनलाई गाउँलेले पनि धेरै सम्मान गर्छन् । उनको खानपान देखेर धेरै लोभिन्छन् । ४२ बर्षदेखि पेन्सन खाएका पुनलाई अहिले पनि तन्नेरीहरुले सामाजिक अगुवाको रुपमा रोजी रहेका छन् ।
गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्मा युवा छन् । उनले पनि धेरै पटक पुनको अगुवाईमा भएका क्रियाकलाप, कामप्रति विश्वास मान्छन् । भन्छन्, ‘लाहुरेहरु जागिरमा पनि इमान्दार थिए, अहिलेको काममा पनि इमान्दार छन् ।’ ८० पुग्दै लाग्दा उनले बरेङ स्थित खानेपानी उपभोक्ता समिति, सडक निर्माण समिति लगायतका आधा दर्जन संघसंस्थाको नेतृत्व गर्छन् । उकालो ओरालो सहजै झर्छन् । चस्मा लगाउनु पर्दैन, लठ्ठी टेक्नु पर्दैन ।
‘गजे घले र श्रीप्रसाद बुढाथोकीले तालिम गराएका सैनिक हुँ, त्यसै कमजोर कहाँ हुन्छु ?’ पुनले भने, ‘दुइवटा लडाईको गोलीले नखाएको मेरो शरिर रोगलेपनि छोएको छैन ।’ कानूनी रुपमा जिउँदो देखाउन भने उनी पेन्सन क्याम्पसमा पनि देखिनु परेकोमा अलि लज्जाबोध भएको बताए । तरपनि बोर्डका सैनिक अधिकृतहरुनै पुराना घटना सुनाईदिनु भन्दै समय माग्दा भने गर्व लागेको बताउँछन् ।
केही अधिकृतले उनलाई हसाउँदै ‘बुढो अझै १० बर्ष मर्दैन’ भनेर किस्सा गर्ने पुनले बताए । पुनका छोरा टोपबहादुरपनि भारतीय सेनाबाटै निवृत्त भैसकेका छन् । ७ बर्षदेखि टोपबहादुरले पनि पेन्सन पाउन थालेका हुन् । पेन्सनका लागि बाबुछोरा एक दिनअघि सदरमुकामम आएका थिए । डिभिजन खानेपानी तथा सरसफाई कार्यालय, बिद्युत बितरण केन्द्र सहितका धेरै संस्थामा पुगेर पुन आँफैले धेरै काम फत्ते पारे । अन्य काममा पनि छिमेकीले पुनलाई बोलाएर ल्याउने गर्छन् । पुनको अर्को बानीपनि छ । पत्रपत्रिका पढ्ने, रेडियो सुन्ने र देश बिदेशका खवर थाहा पाईराख्ने । अझैपनि उनी देशबिदेशका घटना बारे चासो राख्छन् । समय पर्दा सहकर्मी र युवालाई भारत, पाकिस्तान र छिमेकी देशका समसामयिक घटना सुनाईहाल्छन् । ‘कसैले सोध्यो भने थाहा पाउनुपर्छ भनेर युवालाई पनि सिकाउँछ्, आजकलका युवाको खानपान पनि राम्रो छैन, पढ्ने, लेख्ने पनि गर्दैनन्’ उनले भने, ‘बहादुरी मात्र नभएर नेपालीले धेरै कुरा बुझेका छन् भन्ने भारतीयको बुझाई फेरिदै गएको छ ।’ पछिल्लो समय नेपालीले अध्ययन पनि गर्दैनन् भनेर हेपिनु परेको छ ।





