नेपालको एकमात्रै शिकार आरक्षको अधिकांश भूभाग रहेको क्षेत्र हो बागलुङ । झोलुङ्गे पुलको जिल्ला भनेर पहिचान बनाएको बागलुङ जिल्लामा रहेका खोलानाला र पहाड पखेरा मात्रैको उचित सदुपयोग गर्न सक्ने होभने पर्यटनका हिसाबले बागलुङ निकै महत्वपुर्ण गन्तव्य हो । प्रशस्त पर्यटकीय क्षेत्र रहेको बागलुङका धेरै ठाउँमा अहिलेसम्म पनि पर्यटक नपुगेकाले ‘भर्जिन’ गन्तव्यको रुपमा बागलुङका कयौं ठाउँमा पर्यटक पु¥याउन सकिने बताउँछन् बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखाल । कला संस्कृतिले धनी मानिने बागलुङ पछिल्लो समय धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा विकास पनि तिब्र गतिमा भईरहेको छ । बागलुङका ६ गाउँपालिका र ४ नगरपालिकामा अथाह पर्यटकीय संभावना बोकेका ठाउँहरु रहेका छन् । जिल्लाका दशवटै पालिकाहरुले पर्यटकीय क्षेत्रको बिकासका लागि यो वा त्यो ढंगबाट लगानि गरेको पाईन्छ । हरेक पालिकाको नीति तथा कार्यक्रम र बजेटलाई हेर्ने होभने पर्यटकीय क्षेत्रहरुको विकासका लागि सम्बोधन भएकै छ ।
बागलुङका दश गाउँ तथा नगरपालिकाले एक-एक वटा क्षेत्रको मात्रै प्रचारप्रसार गर्ने होभने पनि बागलुङ दश धार्मिक तथा प्राकृतिक सौन्दर्य रहेका गन्तव्यहरुमा पर्यटक भित्राउन सकिने उद्योग बाणिज्य संघ बागलुङका महासचिव नरेश कँडेल बताउँछन् । नेपाल सरकारले सन् २०२० लाई नेपाल पर्यटन भ्रमण वर्षको रुपमा मनाउन सुरु गरेको छ । बुधबार मात्रै केन्द्र तथा प्रदेश सरकारहरुले बृहत कार्यक्रमको आयोजना गरेर भ्रमण बर्षको शुभारम्भ गरेका छन् । भ्रमण बर्षको लागि पछिल्लो समय बागलुङमा भौतिक संरचना निर्माण तथा पूर्वाधारको विकास भएका केही गन्तव्यहरुलाई प्रयोगमा ल्याउन सकिन्छ । पर्यटकको रुची, पर्यटकीय स्थलको भौगोलिक अवस्था र त्यहाँ निर्माण भएका संरचनाले भ्रमण बर्षको सफलता र बागलुङको आर्थिक बिकासमा टेवा पु¥याउन भूमिका खेल्ने जानकारहरु बताउँछन् ।
ढोरपाटन शिकार आरक्ष
भ्रमण बर्षको प्रारम्भमै पुग्नु पर्ने स्थान हो ढोरपाटन शिकार आरक्ष । नेपालकै एकमात्र शिकार आरक्ष हुनुको अलवा यो क्षेत्रमा रहेका पर्यटकले रुचाउने कयौं प्राकृतिक स्रोत साधनको उपयोग गर्न सकिन्छ । ढोरपाटन उपत्यका र त्यहाँको रहनसहन शहरीया उपत्यकाभन्दा भिन्दै आनन्द अनुभुती गर्ने क्षेत्र हो । उत्तरतर्फ बगिरहेको उत्तरगंगा नदीले पर्यटकको तिर्खा मेटाउँछ । शिकार आरक्षमा बर्षको दुई पटक हुने शिकार, यहाँ आउने बिदेशी साहसिक सिकारी र त्यस क्षेत्रका स्थानियको घुम्ती बसाई तथा रहन सहन अर्को महत्वपूर्ण पाटो हो । बैशाखे पूर्णिमा र जनैपूर्णिमाका दिन ढोरपाटन उपत्यका प्रबेश द्वारमै रहेको मन्दिरमा भक्तजनहरुको ठूलो भिड नै हुने गर्दछ । यहाँ रहेको ढोरबराह मन्दिरमा पूजा गर्नाले मनोकांक्षा पूरा हुने जन विश्वास रही आएको छ । यातायातको सहजताले ढोरपाटनलाई सुगम बनाएको छ । ढोरपाटन शिकार आरक्ष क्षेत्र पुग्न बागलुङ सदरमुकामदेखि करिब १ सय २० किलोमिटरभन्दा बढीको दूरी पार गर्नुपर्छ ।
बागलुङ कालिका भगवती मन्दिर
साविकको पश्चिमाञ्चलमा नै चर्चित धार्मिक पर्यटकीय गन्तव्य हो बागलुङ कालिका मन्दिर । पुर्वबाट आउने जोकोहीले पर्वतको सिमा कटेर कालीगण्डकी तर्नासाथ यो मन्दिरको दर्शन गर्न सक्छन् । मन्दिरको धार्मिक गरिमाका अलवा मन्दिर क्षेत्रको प्रकृतिक मनोरम वातावरण पर्यटकको मन छुने अर्को आकर्षण हो । आफ्नै पौराणिक तथा धार्मिक महत्व बोकेको यस मन्दिरमा पूजा आराधना गर्दा मनोकांक्षा पूजा हुने जनविश्वास छ । पछिल्लो समय बागलुङ कालिका मन्दिरमा धार्मिक पर्यटकसँगै मनोरम दृष्यमा रम्नेहरुको भिडभाड हुने गरेको छ । घना जंगलको बिचैमा रहेको मन्दिर, मन्दिर परिसरमै संरक्षण गरिएका पशुपंक्षी र मन्दिर छेउछाउबाट देखिने हिमश्रृंङ्खला तथा निर्वाद बग्ने कालीगण्डकीको दृष्यले जो कोही लोभिने गरेका छन् । विशेषगरी चैतेदशैँ र बडा दशैँको समयमा भक्तजनहरुको भीडभाड हुने यो मन्दिरमा सार्वजनिक बिदाका दिनहरुमा समेत ठुलै भीड लाग्छ । सातै दिन खुल्ने मन्दिरमा औषतमा भक्तजनको उपस्थिती उल्लेख्य रहने गरेको गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्का बताउँछन् ।
शालिग्राम संग्राहालय
पौराणीक महत्वलाई जोगाई राख्न आधुनिक प्रबिधिको प्रयोग र समन्वयकारी भुमीकाले बनेका संरचना महत्वपुर्ण हुन्छन् भन्ने उदाहरण हो शालिग्राम संग्रहालय । छोटो समयमा निर्माण भएर पनि जुन संग्राहलय चर्चित पर्यटकीय स्थल बन्यो । सम्भवत जिल्लाभरीमै धार्मिक पर्यटकीय क्षेत्रमा प्रबेश गर्दा प्रबेश शुल्क लाग्ने गन्तव्य पनि यही हो । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर परिसरमा भूमिगत ‘स्वामी श्रीधराचार्य शालिग्राम संग्रहालय’ हालै मात्र खुल्ला गरिएको छ । यद्यपी निर्माण चरणमै त्यहाँ आन्तरिक पर्यटकहरुको बाक्लो उपस्थिति भएको थियो । ६ करोड रुपैयाँ लागतमा एक वर्ष लगाएर संग्राहलय बनाइएको हो । संग्राहलयमा गण्डकी सभ्यताको प्रतिरूप, धार्मिक पुस्तकालय, ध्यानस्थल र वृत्तचित्र प्रदर्शनीकक्ष बनाइएको छ । एक सय मिटर लामो सुरुङको प्रवेशद्वार नजिकै कृत्रिम भू–बनोटमा दामोदरकुण्डदेखि त्रिवेणीसम्मका धार्मिक तथा सांस्कृतिक सम्पदाको नमूना देखाइएको छ । बागलुङ सदरमुकामदेखि ४.८ किलोमिटरको दुरीमा अवस्थित संग्रहालयमा यातायातका साधनमार्फत १५ मिनेटमै पुग्न सकिन्छ ।
सर्वसिद्धिधाम पञ्चकोट
पछिल्लो समय बागलुङका धार्मिक पर्यटकीय गन्तव्यको सूचीमा अग्रस्थानमा रहने क्षेत्र हो यो । पञ्चकोटमा पछिल्लो समय आन्तरिक पर्यटकको हरेक दिन बाक्लो उपस्थिती रहने गरेको छ । बाहिरी जिल्लाबाट बागलुङ आउने जोकोही पनि पञ्चकोट पुग्ने गरेका छन् । शान्त र मनोरम वातावरणमा अवस्थित रहेको पञ्चकोटमा पर्यटकलाई लोभ्याउनको लागि विभिन्न किसिमका मूर्ति, मन्दिर लगायतका पूर्वाधारहरु निर्माण भएका छन् । यहाँबाट उच्च पहाडी क्षेत्र लगायत धौलागिरी हिमाल आँखै अगाडी उभएको देख्दा पर्यटकहरु मोहित हुने गरेका छन् । ठुलो पथ्थरमाथी कलाकृतिको सहायताले बनेका संरचनानै यहाँका सम्पत्ति हुन् । समुन्द्री सहतदेखि करिब एक हजार १ सय मिटरको उचाईमा रहेको यस क्षेत्र घुम्न लायक क्षेत्र हो । पञ्चकोट स्वामी कमलनयन आचार्यको पहलमा अझै निर्माण चरणमै रहेको छ । वि.सं. २०७१ सालदेखि हरेक वर्ष महायज्ञ संचालन गरि आर्थिक जुटाउँदै आइएको छ ।
गाजाको दह
बागलुङको पर्यटकीय गन्तव्य मध्येमा पर्छ गाजाको दह । गाजाको दह जैमिनी नगरपालिका वडा नम्बर ३ मा पर्दछ । गलकोट नगरपालिका, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको संगम स्थलमा रहेको दह प्रचारप्रसारको कारण ओझेलमा परेको थियो । गत वर्ष गण्डकी प्रदेश सरकारले यसलाई पर्यटकीय गन्तव्यको सूचीमा पारेको छ । पर्यटकीय गन्तव्यमा परेपछि यहाँ पूर्वाधार निर्माण लगायतका कामहरु हुन थालेका छन्भने प्रचारप्रसार पनि हुन थालेको छ । यहाँबाट उच्च पहाडी क्षेत्र लगायत धौलागिरी, माछापुछ्रे लगायत दर्जन हिमालको दृश्यावलोकन गर्न सकिन्छ भने आधा दर्जनभन्दा बढी जिल्लाहरु समेत देख्न सकिन्छ ।
रिघा ताल
पछिल्लो समयमा घुम्न इच्छुक मानिसहरुको रोजाईमा पर्ने मध्येको एक ताल रिघा ताल हो । यद्यपी पर्याप्त प्रचारको अभावले आम मानिसहरुले यसबारे अझै जान्न पाएका छैनन् । निसीखोला गाउँपालिका वडा नम्बर ७ मा रहेको रिघा ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । बागलुङ र पूर्वी रुकुमको सिमानामा रहेको यो ताल उच्च पहाडी क्षेत्रमा पर्दछ । तालको संरक्षण पूर्वाधार निर्माणको लागि डिपीआर तयार पारिएको छ । यहाँबाट उच्च पहाडीया मनोरम दृश्य अवलोकन गर्न सकिन्छ भने बागलुङ, रोल्पा, रुकुम, गुल्मी, प्युठान लगायतका जिल्लाहरु देख्न सकिन्छ । ताल संरक्षणमा कसैको ध्यान नहुँदा तालको पानी सुक्दै जान थालेको थियो । बागलुङ सदरमुकामदेखि करिब १ सय २५ किलोमिटर भन्दा बढि दुरीमा रहेको यस तालमा सवारी साधनमार्फत ७ घण्टामा पुग्न सकिन्छ ।
गाईघाट झरना
जिल्लाका पर्यटकीय क्षेत्रहरुको सूचीमा अग्रस्थानमै पर्ने क्षेत्र हो गाईघाट झरना । जुन झरनाको प्रचारप्रसार र आसपासका क्षेत्रमा भौतिक पूवाधारको विकासका लागि स्थानीय सरकारहरुको ध्यान समेत केन्द्रित छ । बागलुङको ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानमा यो झरना पर्छ । बागलुङ सदरमुकामदेखि पश्चिममा रहेको यो झरनाको विकासका लागि हरेक वर्ष ताराखोला गाउँपालिकाले बजेट विनियोजन गरेर पूर्वाधार निर्माण गर्दै आएको छ । झरनामा गलकोटको हटिया बजारदेखि १ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ भने सवारी साधानमा करिब २० मिनेटमा पुग्न सकिन्छ । स्थानीय सरकार आउनुभन्दा पहिले ओझेलमा परेको झरना अहिले निकै चर्चामा आउन थालेको छ । करिब ५० मिटर लामो झरनाको विकासका लागि ताराखोला गाउँपालिकाले गुरुयोजना बनाएर काम थालेको गाउँपालिका अध्यक्ष प्रकाश घर्ति बताउँछन् ।
घुम्टकोे लेक
जिल्लाको मध्यभागको पहिचान हो घुम्टेको लेक । जुन लेकलाई पृष्ठभूमिमा राखेर कयौं कलाकारले गीत बनाए । नेपालका कयौं ठाउँमा पुगेका यस क्षेत्रका स्थानीयले घुम्टेको सन्तान भनेरै आफ्नो परिचय दिए । आकर्षक पर्यटकीय स्थलमध्ये घुम्टे लेक पनि एक हो । गलकोट नगरपालिकामा पर्ने घुम्टे लेक समुद्री सतहदेखि १ हजार ३ सय ९३ फिट उचाईमा रहेको छ । बागलुङ सदरमुकामदेखि करिब ५०.५ किलो मिटरको दुरीमा पर्ने घुम्टे लेक जान खास गरि ३ वटा बाटाहरु प्रयोग गरिन्छ । गलकोट नगरपालिकाको पाण्डवखानी, हरिचौर र ताराखोला गाउँपालकाको हिलबाट घुम्टे जान सकिन्छ । घुम्टेबाट देखिने सुन्दर हिमश्रृखला, विभिन्न प्रजातिका लालिगुराँस (लाली गुराँस फुल्ने मौषममा) देख्न पाईन्छ । घुम्टेको शिरमा सिद्ध र भैरवको मन्दिर पनि भएकाले धार्मिक आस्थावानहरु समेत त्यस क्षेत्रमा पुग्ने गर्दछन् ।
गलकोट दरबार
जिल्लाको अर्को आकर्षक पर्यटकीय स्थलमध्ये गलकोट दरबार पनि एक हो । प्रायः बागलुङ आउनेहरु त्यस दरबारको बारेमा चासो राखेका हुन्छन् । एक पटक त्यस ठाउँमा पुग्ने अभिलाषा समेत रहेको पाईन्छ उनीहरुमा । गलकोट नगरपालिकाको हरिचौरमा अवस्थित छ दरबार । बागलुङ सदरमुकामदेखि हरिचौरसम्मको दुरी ४८.५ किलोमिटर रहेको छ । जीपमार्फत त्यस ठाउँमा पुग्न २ घण्टा १५ मिनेट जति लाग्छ । इतिहासमा लेखिए अनुसार गलकोट राज्यमा राजा तिजारी मल्लपछि क्रमशः पार्थिव मल्ल, विभू मल्ल, श्रीपति मल्ल, श्रीदत्त मल्ल, पृथ्वीपति मल्ल, नारायण मल्ल, श्रीनिवास मल्ल र जगत मल्ल राजा भएका थिए । वि.स १८४४ मा गोर्खा राज्यमा एकिकरण भएपछि सत्ता च्युत भएका राजा जगत मल्लले तत्कालिन नेपाल सरकारसँग अनुनय गरेर केही जग्गा बिर्ता पाएका थिए । यीनको निधनपछि वि.स १९६९ देखि छोरा भरतबम मल्लका नाममा जग्गा थामिएको थियो । वि.स १९९७ वैशाख ९ गते राजा भरत बमलाई थप बिर्तासहित राजाको श्रीपेच लगाउन पाउने गरि प्रशासनिक, न्यायिक एवं आर्थिक अधिकार दिईएको थियो । उनै भरत बममल्लको पालामा वि.स १९७८ मा यो दरबार निर्माण गरिएको तत्कालिन राजपरिवारकै सन्तान मञ्जेश बम मल्लले बताए । दरबार हेर्न आन्तिरिक पर्यटकहरुको बाक्लो उपस्थिति हुने गरेको छ ।
हाँडीकोट
प्रसस्तै सम्भावना भएर पनि पर्यटक पुग्नै नसकेको ठाउँ हो हाँडीकोट । जैमिनी नगरपालिका–१० राङखानीमा पर्नेे हाँडीकोट समुन्द्री सतहदेखि २१ सय ९५ मिटर उचाईमा रहेको छ । ९० हेक्टर जमिनमा फैलिएको हाँडीकोटबाट दर्जन बढि हिम श्रृंखलाहरु देखिन्छ । हाँडीकोटमा आन्तरिक पर्यटकहरु फाट्टफुट्ट त्यस ठाउँमा पुगिरहन्छन् । तर पूर्वाधार निर्माण र प्रचारप्रसारको अभावले गर्दा धेरै मानिसहरु त्यस ठाउँबारेमा जानकारी छैनन् । बागलुङ सदरमुकामदेखि हाँडीकोटसम्मको दुरी ५८.६ किलोमिटर दुरी रहेको छ । सवारीमार्फत ३ घण्टा १७ मिनेटमा राङखानी पुगिन्छ भने हाँडीकोट धुरीमा पुग्न १५–३० मिनेट समय पैदल हिँड्नु पर्ने हुन्छ । त्यस ठाउँमा सतुवा, विष्मा, भुत्केस, रक्तमुल, रक्तताल, पखण्डित, पहेँले लगायतका दर्जनौ बहुमुल्य जडिबुटी पाईन्छ । त्यस ठाउँबाट नाङ्गो आँखाले नै बुटवल बजार देख्न सकिन्छ भन्ने बुढापाकाहरु सुनाउँछन् ।





