बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

युवाहरुलाई दक्ष बनाउँछौं

युवाहरुलाई दक्ष बनाउँछौं


  • Dhorpatan News
  • माघ २ २०७६, बिहिबार

सदरमुकाम बागलुङ बजारसँग जोडिएको क्षेत्र हो बलेवा । बिभिन्न कारणले बलेवा क्षेत्र बेला बेलामा चर्चामा आउने गरेको छ । साविकका तीन वटा गाउँविकास समितिलाई बलेवा भनिन्छ । केही बर्ष पहिला सम्म बाईसे चौविसे राजाका पालामा बलेवा कोट अन्र्तगत पर्ने ६ वटा गाविसलाई बलेवा भन्ने चलन थियो । बलेवाको पनि निकै महत्वपूर्ण क्षेत्र हो बागलुङ नगरपालिका वडा नं १४ नारायणस्थान । यहाँरहेको बलेवा बिमानस्थल, छिमेकी जिल्ला पर्वतको सदरमुकाम कुश्मासँग जोडिएका यान्त्रिक तथा झोलुङ्गेपुल, समथर जमिन भएकाले यहाँ रहेको मानव बस्तीको बिकास, कालीगण्डकी कोरिडोर र बागलुङ–कुश्मीशेरा–बरेङ–शान्तिपुर सडकखण्डअन्र्तगत यही वडामा पर्ने सडकका कारण नारायाणस्थान बेला बेलामा चर्चामा आउने गरेको छ । यहाँ रहेको दृष्टिबिहिन छात्राबास, ब्रेललिपीको अध्यापन, क्याम्पस तथा प्रदेशकै नमुना बिद्यालय गाणेश माध्यमिक विद्यालयका कारणले पनि नारायणस्थान सबैको नजरमा पर्ने गरेको छ । बाग्लुङको बलेवासहित देशका आठ ठाउ“हरुमा नेपाल सरकारले एकीकृत बस्ती बिकास गर्ने गरी केही दिन पहिला मात्रै निर्णय गरेको छ । समथर जमिन, खेतियोग्य जमिन भएका कारण यहा“ विकास गर्न निकै सहज रहेको जानकारहरु बताउँछन् । बस्तीको चर्को बिकास, जिल्लाका अन्य ठाउँहरुको तुलनामा उष्ण प्रकृतिको हावापानी र सोही अनुसारका रोगहरुको संक्रमण, भएका संरचनाको उचित सदुपयोग गर्न कठिनाई यो वडाका चुनौती हुन् । पर्यटनका हिसाबले यो क्षेत्र निकै महत्वपुर्ण मानिन्छ । बलेवा नारायणस्थानमा रहेका सम्भावना, चुनौती, मानव विकास, शैक्षिक प्रगति सबै बिषयमा भए गरेका काम र आगामि योजनाका बिषयमा हामीले केही खोज्ने प्रयास गरेका छौं । भारतीय सेनाबाट सेवा निबृत्त भई लामो समय समाजसेवामा लागेका चक्रबहादुर खत्री यस वडामा निर्वाचित भएको आधा कार्यकाल बितेको छ । उनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । प्रस्तुत छ खत्रीले वडाको विकासका लागि गरेका प्रयास, उपलव्धी र आगामि योजनाको बिषयमा सहकर्मी तारानाथ आचार्यले गरेको कुराकानीको संपादित अंश ।

नारायणस्थानको बिकासका लागि के गर्दै हुनुहुन्छ ?
– समय सुहाउँदो बिकासका लागि हामीले प्रयास गरिरहेका छौं । जनताको चाहना र आकांक्षा पुरा गर्ने दौरानमा हामी छौं । बिकासका कुरा गर्दा सबैभन्दा ठुलो मानविय विकास हो । मानविय बिकासको आधार शिक्षा र स्वास्थ्य हो । शिक्षा र स्वास्थ्यको पहुँच बिना मानविय विकासको कल्पना गर्न सकिँदैन । शिक्षाको विकासका लागि हामीले वडामा रहेका सबै बिद्यालयहरु अंग्रेजी माध्याममा पठनपाठन सुरु गरेका छौं । हाम्रो वडामा दुई माध्यमीक र एक आधारभुत बिद्यालय र एक प्राथमिक बिद्यालय छ वटा बाल शिक्षा, एक निजी विद्यालय, एक क्याम्पस र एक वटा बहुप्राबिधिक शिक्षालय हामीसँग छ । सबैमा हामीले शिक्षाको गुणस्तर सुधारको काम थालेका छौं । जनचाहना र बिद्यार्थीको चाहना अनुसार नै अंग्रेजी माध्यममा पठनपाठन थालेका हौं । स्थास्थ्य चौकीको सुदृढिकरण गरिएको छ । हामीकहाँ रहेको स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालनमा ल्याएका छौं । स–सानो जाँचका लागि समेत छिमेकी जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त भएको छ । गर्भवती महिलालाई लक्षित गरेर हामीसँग पोषण कार्यक्रम छ । स्वयंसेवीकाहरुलाई तालिम दिईएको छ । शिविर चलेका छन् । जनचेतनामुलक कार्यक्रम पनि भएका छन् । बिद्यालयहरुमा सफा पानीका लागि कुलर र तातोपानीका लागि सोलार जोडिएको छ ।
आर्थिक बिकासका गतिविधि भएनन् ?
– कृषिमा आधुनिकीकरणको खोजी गरिरहेका छौं । गत बर्ष मात्रै हामीले ४५ वटा टनेल हामीले वितरण गरेका छौं । यो आर्थिक बिकासको सूचक हो । अब हामीले पुरै जग्गामा फलफुल वितरण गर्न सक्छ उसको लागि हामीले फलफुलका बिरुवा वितरण गरेका छौं । केही कृषकहरुले ६÷७ रोपनीमा केरा, लिची लगाउनुभएको छ । हरेक घरमा फलफुल होस भनेर हामीले प्रत्येक घरका लागि पनि फलफुलका बिरुवा बितरण गरेका छौं । हामीले सडक सुधारको काम थालेका छौं । आर्थिक विकासका लागि सडक आवश्यक पुर्वाधार हो । गत बर्ष हामीले पहरेगह्राबाट वडा कार्यालयसम्म पुग्ने चार सय मिटर, नेपानेमा १ सय ५० र कैयाबाट ३ सय मिटर बाटो कालोपत्रे भयो । बाँकी बाटोहरुमा ढुंगा बिच्छाउने, ग्राभेल गर्ने कामहरु भयो । त्यस्तै सिंचाईंको क्षेत्रमा कैयामा पुछारको कुलो बनाउन ४० लाख खर्चेर काम भएको छ र बाँकी कुराहरु मर्मत सुधार गरेर जाने काम भएको छ ।
रोजगारी सिर्जना गर्न केही काम भए ?
– छाडा गाईबस्तुका कारण कृषकहरु हतोत्साही भएका थिए । पुरै नसके पनि छाडा गाईबस्तु केही हदसम्म नियन्त्रणमा ल्याएका छौं । त्यस्तै किसिमले आवास क्षेत्रमा, खेती क्षेत्रमा ठुला–ठुला रुखहरु भएर जोखिमपूर्ण अवस्था रहेकाले रुख काट्ने अभियान चलाएका छौं । जसका कारण कृषकलाई उत्पादनमा असर नपरोस् भन्ने हो । टोल स्तरमै रुख काट्ने नियम बनाईएको छ । हो बिकासका लागि पूर्वाधार बाटोघाटो हो तर मेरो मान्यता मैले नगरपालिकामा बोल्दै गर्दा पनि समग्रतामा विकासका लागि सामाजिक र आर्थिक विकास अनि बल्ल भौतिक बिकास हुन्छ भन्ने गरेको छु । मेरो मान्यता त्यही हो ।
लगानीका हिसाबले त भौतिक बिकासमै लगानी धेरै छ नि ?
–भएको छ । नगरपालिकाले टार्गेट दिएकोभन्दा बढी यो बर्ष पनि हामीलाई कृषि क्षेत्रमा भौतिक विकास छोडेर कम्तीमा ३० प्रतिशत खर्च गर्नुपर्ने भन्ने नगरपालिकाको टार्गेट हो तर हामीले ४२ प्रतिशत बजे राखेका छौं । हामीले युवाहरुलाई डकर्मी तालिम दिने, दुव्र्यशन बिरुद्धको तालिम दिने, महिलाहरुलाई बुटिक तालिम दिने, कृषकलाई बिषादि प्रयोग गर्ने तालिम, यान्त्रिक हलो मर्मत तथा प्रयोग गर्ने तालिम दिने योजनामा छौं । म सँग भएको डाटा अनुसार बाहिरबाट नारायणस्थानमा डकर्मीसिकर्मी तालिम काम गर्न आउने झण्डै १ सय २० को हाराहारीमा छ । त्यो अवस्थालाई मध्यनजर गरेर तालिम आयोजना गरेका छौं । सोही अनुसारको जनशक्ति उत्पादन गरेर आर्थिक बिकासमा लाग्छौं ।
जिल्लाकै ठुला सडकहरुले यहाँको अधिकांश भुभाग समेट्छ तर अझै पनि यहाँहरुको लगानी सडकमै धेरै छ यसको कारण के हो ?
– अब हामी सडकमा धेरै लगानी गर्ने पक्षमा छैनौं, जो नयाँ सडक बनाउने सन्दर्भमा । हाम्रो सबै क्षेत्रका जनता सडकदेखि साढे दुई सय मिटरको दुरीमा छन् । एम्बुलेन्स चाहियो भने पनि साढे दुई सय मिटरको दुरीमा सबैको सडकको पहुँच छ । अब हामी बाटोको स्तरोन्नतीमा जान्छौं । अब हाम्रो ध्यान युवाहरुलाई दक्ष बनाउनेमा जान्छ । भोली कालीगण्डकी करिडोर, बागलुङ कुश्मीशेरा सडक, बलेवा बिमानस्थल सञ्चालन हुँदै गर्दा बाहिरको मान्छेहरु यहाँ आएर बसोबार गर्दै गर्दा यी पूर्वाधारबाट यहाँका जनताले फाईदा लिन सक्ने बनाउनेमा हाम्रो ध्यान छ । त्यसका लागि सबैलाई दक्ष बनाएर राख्छौं ।
खेतीयोग्य जमिनमा प्लटिङ रोक्न केही योजना छ ?
– यसको व्यवस्थापनको लागि अहिले जस्तो घर बनाउनका लागि नक्सा पास गर्न बाटो अनिवार्य भन्ने नगरपालिकाले नीति राखेको छ । यसैले स्वत बीचको जग्गाहरुमा प्लटिङ हुँदैन् । हाम्रा धेरै फाँट छन् । फाँट र बस्ती फरक फरक ठाउँमा छन् । खेतीयोग्य जमिन मासिँदैनन् । हाम्रो वाड घनाबस्ती सर्वेक्षणमा छनौटमा परेको वडा हो । त्यो घनाबस्ती कार्यक्रमअन्र्तगत एकीकृत बस्तीको काम पनि चलिरहेको छ । एकीकृत बस्ती बिकासका लागि आवश्यक पूर्वाधारहरु पनि हामीले बनाई रहेका छौं ।
नगरले बनाएको सडक मापदण्ड कार्यान्वयन गर्न बलेवामा कठिन भयो भन्ने पनि सुनियो ?
– हिजो बागलुङ बजारको मापदण्डमा कमजोरी भएका कारण आज बागलुङ बजारले दुःख पाएको छ । बलेवा नारायणस्थान बागलुङ बजारपछिको घनाबस्ती विकास हुने क्षेत्र हो भनेर महत्वकांक्षाका साथ नगरले मापदण्ड बनायो । त्यसमा केही बिमतीहरु रहे । अहिले त्यो समस्या सुल्झिएको छ । आम जनताको मापदण्ड प्रतिको आवाजका कारण नगरले जनचाहना अनुसार आवश्यकताको आधारमा बाटाको मापदण्ड बनाईएको छ ।
स्वास्थ्यको कुरा गर्दा नारायणस्थानमा अझै हात्तिपाईलेको संक्रमण रहेको अध्ययनले देखाएको छ । त्यसका लागि वडा स्तरबाट कुनै योजना बनाउनुभएको छ ?
– हो । अध्ययनहरुले हाम्रोमा समस्या देखाएको छ । त्यही कारणले नै हामीले गत बर्ष म आँफै बसेर सबै वडाबासीलाई अनिवार्य औषधि सेवन गर्न लगाएका छौं । हात्तिपाईले र डेङ्गुको समेत संक्रमण हुन सक्छ र डेङ्गु लाग्ने लामखुट्टे यहाँ हुन सक्छ भनेपछि हामीले टोल–टोलमा पुगेर जनचेतना मुलक कार्यक्रम गरियो । यो कार्यक्रम यस बर्ष पनि हामि जारी राख्छौं । सरसफाईलाई ध्यानमा राखेर जनतालाई सरसफाईमा जागरुक बनाउनकै लागि हामीले टोलैपिच्छे सरसफाईयुक्त घर छनौट गरेर पुरस्कृत गर्ने योजना पनि बनाएका छौं । सरसफाई र फोहोर व्यवस्थापनको लागि हामीले बजेको व्यवस्था गरेकै छौं । कार्यबिधि बनाएर कार्यान्वयनमा जाँदैछौं । ठाउँठाउँमा फोहोर संकलन केन्द्र बनाएर फोहोरको व्यवस्थापनमा लागेका छौं ।
छिमेकी जिल्लाको सदरमुकाम जोड्ने गरी कालीगण्कीमाथि बनेका संरचनाको सदुपायोग गरेर फाईदा लिन सक्नुभएन भन्ने छ नि ?
– केही कुराहरु त भएकै छन् । यान्त्रिक पुल, लामो पुलका कारणले । फेरी पनि यो दुईवटा क्षेत्रलाई सडक सञ्जालले जो्नकै लागि प्रदेश सरकारले तालकुनाबाट मोटरेवल पुलको परिकल्पना गरेर मोटरेवल पुल बन्दैछ । पुलहरुको उपयोगको सन्दर्भमा यहाँ दुध उत्पादन हुन्छ । यहीँ बिक्री वितरण गर्न सक्ने अवस्था छैन् । हामीले पुलको प्रयोग गरेर कुश्मा पठाएका छौं । तरकारीहरु पनि वारीपारी हुने गरेको छ । बञ्जीजम्पमा भएको काममा रोजगारी सिर्जना भएको छ । जहाँतक फरक जिल्ला फरक सदरमुकाम भएका कारणले हाम्रो गन्तव्य दुवैतर्फ हुने गरेकाले फाईदा लिन नसकिएको हो । जिल्ला सदरमुकामसँग जोडिएको तर कुश्माको जस्तो विकास बलेवामा नभएकाले पनि हामीले कुश्माले जस्तो फाईदा लिन सकेनौ होला । पुलहरुले पर्वतमा भएको जमिनको कमीका कारण अब बलेवामा बसोबास गर्न आउने, यहाँका उत्कृष्ट बिद्यालयहरुमा कुश्माबाट बिद्यार्थी आउने लगायतका धेरै फाईदाहरु भने भएकै छन् ।
निर्वाचनका बाचा सम्झना आउँदैछ कि बिर्सिनुभयो ?
– हामीले बाचा गरेका भौतिक विकासका बाटाघाटा थिए । २ सय ५० मिटरभन्दा धेरै हिँड्न पार्दैनौ भनेका थियौं । त्यो गरेका छौं । बाटो पक्कि गर्ने कुरा थियो त्यो थालनी भएको छ । सिंचाईंका कुरा थिए, भएकै छन् । एक घर एक धाराको कुरा थियो ९५ प्रतिशत घरमा धारा बनेका छन् । अरु पनि बन्छन् । हामीले एउटा महत्वकांक्षी प्रतिबद्धता गरेका थियौं । एक घर एक रोजगार भन्ने । प्रत्यक्ष रुपले रोजगार नभए पनि अप्रत्यक्ष त भएकै छन् तर भनेको जस्तो भएको छैन् । यहाँ बन्ने बाटोमा बाहिरका मजदुर आएर काम गरेका छन् । तर यहाँका युवा यवतीलाई काममा लगाउन सकेका छैनौं । स्वरोजगार कार्यक्रम अन्र्तगत हामीले १ सय जना युवा युवतीलाई यो साल रोजगार बनाउँछन् । चुनावका बेला गरेका बाचा अनुसारनै हामीले काम गरेका छौं ।
अन्तमा बाँकी केही छ ?
– हाम्रो कार्यकालमा हामीले गरेका बाचा सत प्रतिशत नभएपनि ९० प्रतिशत पुरा गर्छौं । स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमीकतामा राखेर काम गर्छौं । सामाजिक बिकास पहिलो सर्त मानेका छौं । युवाहरुलाई दक्ष बनाउँछौं । आर्थिक र भौतिक बिकासमा हाम्रो ध्यान केन्द्रित हुने छ । धन्यवाद ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->