बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एक्यापलाई संघीयताको मोडलमा ल्याउन मुख्यमन्त्री गुरुङको प्रस्ताव

एक्यापलाई संघीयताको मोडलमा ल्याउन मुख्यमन्त्री गुरुङको प्रस्ताव

२०२९ मा बनेको संरक्षण ऐनअनुसार चलेको एक्याप खारेज हुनुपर्ने यस क्षेत्रका अधिकांश जनप्रतिनिधिको आवाज छ ।


  • ढोरपाटन संवाददाता
  • माघ २ २०७६, बिहिबार

पोखरा, २ माघ – अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)प्रति स्थानीय तहका जनप्रतिनिधि असन्तुष्ट छन् । २०२९ मा बनेको संरक्षण ऐनअनुसार चलेको एक्याप खारेज हुनुपर्ने यस क्षेत्रका अधिकांश जनप्रतिनिधिको आवाज छ । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)लाई एक्यापको व्यवस्थापकीय जिम्मा दिएको थियो । २०७२ सालमा वन तथा वातावरण मन्त्रालयले एनटीएनसीलाई दिएको जिम्मेवारीअनुसार पुस मसान्तभित्र समुदायलाई हस्तान्तरण गर्ने प्रक्रिया पूरा भइसक्नुपथ्र्यो । म्याद भने माघ ४ गते सकिँदैछ ।
त्यसको पूर्वसंध्यामा अन्नपूर्ण संरक्षण क्षेत्रको व्यवस्थापनबारे पोखरामा छलफल चलाइएको छ, जहाँ एक्यापका ब्यवस्थापनबारे डा. मणिराम वञ्जाडे र डा. आरसी लामिछानेले अध्ययन गरी तयार गरेको प्रतिवेदनमा २ विकल्प दिइएको छ । संघ सरकारले नीति तथा कानुन तर्जुमा गर्ने, प्रदेश सरकारले नियमन, मूल्यांकन र नीति निर्माण गर्ने, राष्ट्रिय प्रकृति कोषले प्रविधिक सहयोग गर्ने, त्यसमातहत अन्नपूर्ण संरक्षण परिषद गरेर जिल्ला, गाउँपालिका र वडासम्म संरक्षण तथा विकास समिति बनाएर व्यवस्थापन गर्ने पहिलो विकल्प थियो । छलफलमा मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले भने, ‘आयोजना संघीयताको मर्मबिपरीत छ । संविधानप्रदत्त अधिकार पनि प्रयोग गर्न पाएका छैनौं ।’
दोस्रो विकल्पमा समुदायमा आधारित मोडल वा सरकारले विज्ञ समूहबाट अध्ययन गरी उपयुक्त मोडल प्रस्तावित गर्ने र त्यतिबेलासम्म अहिलेकै नीतिअनुसार चल्ने थियो । तर छलफलमा सहभागी आयोजनाले समेटेको पाँच जिल्लाका १५ गाउँपालिकाका स्थानीय जनपतिनिधि, संघीय तथा प्रदेश सांसद र सरोकारवालाले भने प्रदेश र स्थानीय तहलाई अधिकार दिएर एक्याप खारेजी गर्नुपर्ने माग गरे । ‘म्याद सकिन २ दिनमात्र बाँकी छ । यो अवस्थामा आएर छलफल चलाउनुले शंका उब्जाएको छ,’ छलफलमा मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले भने, ‘आयोजना संघीयताको मर्मबिपरीत छ । संविधानप्रदत्त अधिकार पनि प्रयोग गर्न पाएका छैनौं ।’ यहाँको स्रोत र साधनको प्रयोग गर्नसक्ने क्षमता समुदाय, स्थानीय र प्रदेश सरकारसँग भएको उनको भनाइ थियो । अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवर, मुस्ताङ घरपजोङ गाउँपालिका उपाध्यक्ष शर्मिला गुरुङ र संघीय सांसदहरुले पनि एक्याप खारेजीकै पक्षमा आवाज उठाए । उनीहरुको प्रश्न थियो, ‘आयोजना व्यवस्थापन समितिका पदाधिकारी र स्थानीयको क्षमता अभिवृद्धि गरेर हस्तान्तर गर्ने भनिएको एक्यापको किन फेरि म्याद थप्नुपर्‍यो । संविधानको मर्मअनुसार प्रदेश र स्थानीय सरकारलाई दिए हुँदैन ? संरक्षण गर्ने भन्ने तर उपभोग गर्न नपाउने ?’
प्रदेश सरकारले व्यवस्थापन गर्ने र स्थानीय सरकारले कार्यान्वयन गर्ने गरी एक्याप हस्तान्तरण हुनुपर्ने अधिकांशको माग थियो । नेकपा सचेतक तथा संघीय सांसद देव गुरुङले संघीय ढाँचामा नरहेको एक्यापको खारेजीको विकल्प नभएको बताए । देश संघीयतामा गइसकेको अवस्थामा पुरानै ऐनमा चलेको एक्याप राज्यको समानान्तर रुपमा रहन नहुने भनाइ थियो । नीतिगत रुपमा संघले, व्यवस्थापन प्रदेश र कार्यान्वयन संघले गर्नुपर्नेमा गुरुङको जोड थियो । संघीय सांसद खगराज अधिकारीले एक्याप हिजोकै अवस्थामा चलाउन खोजिनु दुर्भाग्यपूर्ण भएको बताए । अहिलेसम्म एक्याप र प्रकृति संरक्षण कोषले गरेको कामलाई धन्यवाद दिएर प्रदेश र स्थानीयलाई जिम्मेवारी दिनुपर्ने उनको भनाइ थियो । .संरक्षण आयोजना र स्रोत तथा साधनको उपयोग, संरक्षण र प्रयोग गर्न प्रदेश र स्थानीय सरकार सक्षम भइसकेको अधिकारीले बताए । देशमा गणतन्त्र र नयाँ संविधान आइसकेको अवस्थामा पनि २०५३ सालकै कानुन समातेर बस्दा स्थानीय र जनप्रतिनिधिबीच द्वन्द्व बढेको संघीय सांसद प्रेमप्रसाद तुलाचनले बताए । संरक्षण आयोजनामा जनप्रतिनिधि र स्थानीय व्यवस्थापन समितिबीच द्वन्द्व गराउने काम भइराखेको उनको भनाइ थियो ।
तत्काल समुदायमा हस्तान्तरण नहुने
तर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना तत्काल समुदायमा हस्तान्तरण नहुने भएको छ । प्रदेश सरकार, स्थानीय र समुदायलाई पनि सम्बोधन गर्ने गरी नयाँ मोडल बनाउनुपर्ने भएकाले समुदायलाई हस्तान्तरण गर्न रोकिएको वन मन्त्रालयले जनाएको छ । छलफलमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ३ देखि ६ महिनाको अवधि दिएर संघीयताको मोडलमा एक्यापलाई ल्याउने प्रस्ताव गरेका थिए । त्यसमा सहमति जनाउँदै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले केही समय दिएर व्यवस्थापनको नयाँ नीति बनाउनु उत्तम हुने बताए । ‘एक्यापको व्यवस्थापन गर्ने उपयुक्त विकल्प के हुनसक्छ भनेर पोखरामा छलफल राखेका हौं । सबैखाले सुझाव, धारणा सुन्यौं’ मन्त्री बस्नेतले भने, ‘मुख्यमन्त्रीले करिब निश्कर्ष राख्नुभयो । केही समय दिएर नयाँ कार्ययोजना बनाउन सकिन्छ ।’ न राष्ट्रिय निकुञ्ज न राष्ट्रिय वनजस्तो भएकाले संरक्षण आयोजनाको विकल्प खोज्नुपर्ने उनको भनाइ थियो । राष्ट्रिय वन प्रदेश मातहत छ भने निकुञ्ज संघ मातहत । तिनै सरकारलाई समावेश गरी मध्यमार्गी बाटो खोजिने उनको भनाइ थियो । बस्नेतले भने, ‘संघीयताको मर्मअनुसार र समृद्धिका निम्ति अधिकतम स्रोत र साधनको प्रयोग गर्ने गरी अगाडि जानुपर्छ ।’
किन भइरहेको छ विरोध ?
संविधानअनुसार प्राकृतिक स्रोत तथा साधन र रोयल्टीको पनि तीन तहको सरकारमा बाँडफाँड हुने भनिएको छ । संविधानअनुसार राष्ट्रिय वन, जल उपयोग तथा वातावरण व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई छ । अन्तर प्रादेशिक रुपमा फैलिएको जंगल, हिमाल, वन, संरक्षण क्षेत्र र जल उपयोगको अधिकार संघ र प्रदेश सरकारको अधिकार सूचीमा पर्छ । जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण स्थानीय तहको अधिकारभित्र छ। प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी तिनै तहको सरकारबीच बाँडफाँट हुने संविधानमै उल्लेख छ । तर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम राष्ट्रिय प्रकृति कोषले पाएको छ ।
संरक्षण क्षेत्र र कोषको सम्बन्ध
७६२९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको एक्याप गण्डकी प्रदेशभित्र पर्ने एक्याप देशकै ठूलो संरक्षण क्षेत्र हो । कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दीसम्म फैलिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि विश्वकै उत्कृष्टमध्ये एक मानिन्छ । २०४३ मंसिरदेखि कास्कीको घान्द्रुकबाट परीक्षण सुरु भएको आयोजना २०४९ साउनमा नेपाल सरकारले संरक्षण क्षेत्रको चार किल्ला तोकेको थियो । ४ किल्ला तोक्दै राष्ट्रिय प्रकृति संरक्षण कोषलाई १० वर्षका लागि व्यवस्थापनको जिम्मा दिइयो । त्यसपछि ५ पटक कोषलाई व्यवस्थापनको जिम्मा दिइएको छ । २०५८ सालमा १० वर्ष, २०६९ साल भदौ ४ गते ६ महिना, सोही सालको फागुन १४ गते २ वर्ष र २०७१ साल माघ ४ गते ५ वर्षका लागि आयोजनाको व्यवस्थापन जिम्मा कोषलाई दिइएको थियो । कोष अर्ध सरकारी संस्था हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->