शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पि.एन.क्याम्पसका ‘प्रथम’ विद्यार्थी अर्थात ‘डिल्लीप्रसाद गुरु’

पि.एन.क्याम्पसका ‘प्रथम’ विद्यार्थी अर्थात ‘डिल्लीप्रसाद गुरु’

काट्ने शब्दको प्रयोग गर्दा त्यहाँ हिंसा हुन्छ भन्ने अर्थ लगाउनुहुन्थ्यो । तरकारी बनाउने या केलाउने, आलु बनाउने आदि भनिन्थ्यो ।


  • एकराज पाठक
  • माघ १८ २०७६, शनिबार

‘मेरो क्याम्पस जीवन सुरु भयो २०१७ सालमा । पोखरामा पिएन क्याम्पस खुलेको थाहा भयो र क्याम्पस पढ्न गएँ । म सो क्याम्पसको पहिलो विद्यार्थी हुँ । प्रमाणपत्र तह (आइ.ए.) तह खुलेको थियो । अंग्रेजी, संस्कृत र राजनीति शास्त्र पढ्ने निधो गरेँ । त्यस समयमा क्याम्पस पढ्न पाउनु र यो तहसम्म पढ्न विद्यार्थीमा चेतना हुनु पनि ठूलै कुरा थियो भन्ने तथ्य पछि महसुश गरेको हुँ । त्यसैवर्ष शुरु भएको पहिलो ब्याचमा १३ जना विद्यार्थी थिए । ती विद्यार्थीमा म प्रथम भएँ । दुवै वर्षको नतिजा प्रकाशन भएपछि म प्रथम भएको कुरा गुरुले क्याम्पसमा र सबै कक्षामा आएर भन्नुभयो । क्याम्पस प्रमुख हुनुहुन्थ्यो जर्ज जोन । उहाँलाई दक्षिण भारतबाट (मलाई लाग्छ केरलाबाट) ल्याइएको थियो । उहाँ अंग्रेजी भाषाका विद्वान । मलाई धेरै माया पनि गर्ने । झन् पछि त म प्रथम भएपछि निकै मन पराउनुहुन्थ्यो । तिमी यो कलेजको पहिलो विद्यार्थी भन्नुहुन्थ्यो र मेरो आनीबानी आदि अरुलाई उदाहरण दिनुहुन्थ्यो भन्ने कुरा साथीहरुबाट थाहा पाउथेँ । ब्याच पनि पहिलो, अनि पढाइमा पनि प्रथम । साथीहरु पनि थोरै भएकोले सबैले चिनेका थिए । मेरो क्षमता उनीहरुले पहिल्यै थाहा पाएका थियौँ भन्थे । किनभने मैले कक्षमा नबुझेको कुरा गुरुहरुलाई सोध्ने गर्दथेँ । त्यसताका गुरु र विद्यार्थीको सम्बन्ध अहिलेको जस्तो कहाँ थियो र ? गुरुसँग बोल्नै डराउने, कुनै कुरा सोध्नै डराउने । गुरुहरुलाई धेरै मान्नुपर्छ, श्रद्धा गर्नुपर्छ भन्ने हाम्रो संस्कारले पनि यस्तो भएको होला । गुरुहरुलाई एकसरो केही सोध्ने हो, सवाल जवाफ भन्ने हुदैनथ्यो, त्यतिगर्दा कुरा बुझिएन भने सकियो ।’
एकैछिन भागवतको पुस्तक पन्छाउँदै ‘डिल्लीप्रसाद गुरु’ले झण्डै छ दशकअघिको आफ्नो कलेज जीवन सम्झिए । उनलाई सबैले चिन्ने र बोलाउने नाम हो ‘डिल्लीप्रसाद गुरु’ । यसै वर्ष दशैँको महाअष्टमीको बिहान उहाँको निवास बागलुङ नगरपालिका १२ स्थित वरडाँडा पुग्दा भागवत बाचन गर्दै थिए । उमेरले ८१ पुगेका उनको यो ४४ वर्षदेखिको दैनिकी हो । नवदुर्गा परेकोले दुर्गा शप्तशती पाठ गर्न बाँकी नै थियो । पोखराको पृथ्वीनारायण क्याम्पस, पिएन क्याम्पस नामले चिनिन्छ । विसं २०१८ बाट शुरु भएको त्यस क्याम्पसको उहाँ नै पहिलो विद्यार्थी हो । आइएमा पनि उनी प्रथम भए ।
पछि म बिए पढ्न त्यहाँ बसिन, पैयूँपाटामा पढाउन थालेँ विगत सम्झिए । मैले नियमित रुपमा बिए पढोस् भन्ने चाहनुहुन्थ्यो सर । तर मलाई भने जागिर खानु थियो । त्यसपछि गुरुले मलाई चिठी पठाउनुभएछ । ‘तिमीले बिए पढ्नुपर्छ आउ’ लेख्नुभएको थियो । त्यो चिठीले मलाई निकै उत्साहित बनायो । उहाँकै अक्षरमा भएकोले आजसम्म राखेको छु– चिठी देखाउँदै उनले भने । कस्तो कस्तो लाग्यो । गौरवान्वित महसुश गरेँ । त्यो पत्र हेर्दा जाउँ जस्तो पनि लागेको थियो किनभने त्यस समय गुरुप्रतिको आदर अर्कै थियो । अंग्रेजी, संस्कृत र ज्योतिष ः
संस्कृतको एक तह पढाइसकेपछि ज्योतिष विद्या पढौँ भन्ने लाग्यो उनलाई । त्यस समय कति पढेको भन्ने तह हुदैनथ्यो । उनी वेद पढ्न सक्ने भएका थिए । ‘विसं २००९ मा १३ वर्षको थिएँ । पिताजीले पनि गाउँमा त्यस विधाको बारेमा जान्ने मान्छे नभएकोले पढ्नुपर्ने भन्नुभयो । उहाँ छ जना साथीसहित अर्चलेका प्रजापति गुरुकहाँ जानुभयो । उहाँ आमा बुबाको एक्लो छोरा । पढ्न सके भयो, अरु केही काम गर्नु नपर्ने । भन्नुहुन्छ– मेरो त कामै पढ्नेमात्र थियो । मैले ज्योतिष विद्या तीन वर्ष पढेँ । बिहान आठ बजेतिर खाना खाएर गुरुकहाँ जाने अनि झमक्क साँझ परेपछि घर आइपुग्ने । त्यही जान आउन दिनमा बढीमा तीन घन्टाजति हिँड्नुपथ्र्याे ।’
ज्योतिष पढ्दाका केही आफ्ना अनुभवहरु सुनाउदै, ‘गुरुकुलको पढाइमा अनुशासन कडा हुन्थ्यो । आनीबानी मात्र होइन, बोलीचालीमै पनि बडो विचार पुराउनुपथ्र्याे । संस्कृतका नियमहरु पलना गर्नुपथ्र्याे । कहिल्यै कसैले अपशब्द बोलेको गुरुले थाहा पाउनुभयो भने भोलि देखि नगए हुने । सात्विक र संस्कृतिको पालना गर्ने हुनुहुन्थ्यो गुरु । जस्तै भनौँ न तरकारी या आलुलाई काट्ने नभन्ने । काट्ने शब्दको प्रयोग गर्दा त्यहाँ हिंसा हुन्छ भन्ने अर्थ लगाउनुहुन्थ्यो । तरकारी बनाउने या केलाउने, आलु बनाउने आदि भनिन्थ्यो । यो एक उदाहरण मात्र हो, बोलीचालीमा यस्ता अरु कैयौँ छन् उदाहरण ।’ लेखक पाठक
उनले अहिले पनि गुरुले आफ्ना लागि गरेको मेहनेत सम्झिए । डिल्लीप्रसाद भन्छन, ‘गुरुले बडो ध्यानपूर्वक पढाउनुहुन्थ्यो । तर दक्षिणाको कुनै नियम थिएन, स्वेच्छाले दिँदा हुन्थ्यो । जस्तो कि कुनै नयाँ पुस्तक फुकाउँदा, नयाँ अध्याय थाल्दामात्र गुरुलाई केही (दुई चार पैसा) राख्ने गर्दथ्यौँ । बरु गुरुकोमा जाँदा घ्यू, कुराउनी, तरकारी यस्तै लगिन्थ्यो ।’
गुरुको घरको काम केही सघाउने चलन भएको अनुभव सुनाउछन उनी । ‘तर मैले घरमा काम गर्नु नपर्ने भएकोले गुरुकहाँ पनि खासै गर्दैनथेँ । त्यस समय काम भनेको उही हो, खेती र पशु चौपायाको । अनि हामीबाट त्यति कामको आस पनि गरिँदैनथ्यो । गुरुको घरमा गुरुले नै काम गरेको देखेपछि यसो सघाउने चाहिँ गरिन्थ्यो । त्यहाँ उहाँहरुले शुरुमा तिथि, नक्षत्र, बार, योग आदि गणना गर्ने काम गर्नुभयो । त्यहीँबाट उहाँले २०१० सालको पात्रो निकाल्नुभयो । त्यस वर्षको पात्रो गुरुले सिकाएर र अनि विसं २०१७ को पात्रो चाहिँ आफैले गणना गरेर निकाल्नुभयो । ज्योतिष विद्याको प्रयोग पछि उहाँहरुले गाउँमा गर्नुभयो । चिना लेख्ने, पात्रो लेख्ने, आदि ।’
त्यसबेलाको दुःख सम्झिदै उनी भन्छन, ‘अहिलेजस्तो हरेक व्यक्तिको कोठा कोठामा पात्रो झुण्डिने अवस्थै थिएन । पात्रो आफैले लेख्ने हो । हामीले कति वर्षसम्म त पात्रो लेखेर बाँड्थ्यौँ । गाउँमा यससम्बन्धी जान्ने मानिस निकै कम भएकोले ज्योतिष विधाको पनि ठूलो महत्व र उपयोगिता थियो । केही समय यही नै काम गरेर गाउँमा बस्यौँ । तर पछि होइन पस्तो पढे लेखेको व्यक्तिले जागिर नै खानुपर्छ भन्ने लाग्यो र जागिरका लागि बागलुङ बजार गयौँ ।’
त्यस समय कसैले भन्यो– तिमीहरु पढेका केटाहरु यसरी बस्ने होइन अंग्रेजी पढ्नुपर्छ । उनी र उनका र साथीहरुलाई यो ठीकै लाग्यो र घर छोडे । उनले बागलुङ बजारको विद्यामन्दिर विद्यालयमा पढ्न थाथे । विसं २०१२ को वैशाखमा ४ कक्षामा भर्ना भए । बेद चण्डी र ज्योतिष पनि पढेकोले गुरुहरुलाई यसले ४ कक्षासम्म सजिलै गर्नसक्छ भन्ने लाग्यो र कक्षा ४ मा भर्ना गरिदिए । त्यसपछि असारमा अर्धवार्षिक परीक्षा भयो, त्यसमा प्रथम भएँ । अनि मलाई ५ कक्षामा राखियो । अर्काे परीक्षा भयो मंसिरमा । त्यसमा पनि म प्रथम भएपछि ६ कक्षामा चढाइयो । एकै वर्षमा म तीन कक्षासम्म चढेँ । एसएलसी २०१६ सालमा भयो । पाल्पा पुगेर एसएलसी दियौँ । दुई दिन लगाएर त्यहाँ पुगेका थियौँ । यसरी अंग्रेजीको पढाई शुरु भएको हो ।
इज्जतिलो शिक्षण पेसा :
त्यस समयको इज्जतिलो पेसा हो शिक्षण । त्यसो त सिमीत मात्र पढेलेखेका भएकोले यस खालको जनशक्ति नै पाउँदैनथ्यो । उपलब्ध सिमीत व्यक्तिले नै यो पेशा अंगाल्नुपर्ने हुन्थ्यो । कतिपयका लागि अर्काे विकल्प पनि देखिँदैनथ्यो । तर पनि यो पेसाको बडो इज्जत थियो । समाजले शिक्षकलाई राम्रो स्थान दिएको थियो । मलाई पनि शिक्षण पेसा मनपर्ने । एसएलसीसँगै मैले पैयूँपाटामा पढाउन थालेँ । विसं २०१७ देखि एक किसीमले नियमित जस्तो भयो । सुरुआतीका दिनमा तलब पाउन गाह्रो थियो, पछि केही मात्रामा तलब पनि आउन थाल्यो, अझै रमाइलो भयो । पढेलेखेपछि जागिर पाइन्छ भन्ने पनि समाजमा स्थापित भयो । एकाध मानिस यसरी उदाहरणका रुपमा स्थापित भएपछि अरुलाई पढ्न स्कुल जानलाई प्रेरणा पनि प्राप्त हुने गरेको थियो । त्यहीँ पढाउँदा पढाउँदै म आइए, बिए पढ्न गएँ । पछि बिए पढ्न पनि पिएन क्याम्पसमै गएँ । गुरु पनि खुसी हुनुभयो । क्याम्पसभरि हाम्रो आइएको प्रथम विद्यार्थी आयो भनेर भन्थे ।
पैयूँपाटामा भाषा पाठशाला थियो त्यस्तै विसं २००८ तिरबाटै । पछि विसं २०१४ मा पूर्णप्रकाश नेपालजी आए । उनले त्यहाँ पढाउन थाले । म पनि एसएलसी पासपछि त्यहीँ पढाउन थालेको हुँ । तर त्यतिबेला हामी विशुद्ध शिक्षकभन्दा पनि विद्यालय स्थापना गर्ने हेमराजजीलाई विद्यालयका लागि आवश्यक विविध काममा सघाउँथ्यौँ । स्थानीय समाजसेवी युवा हेमराज पौडेलको विद्यालय स्थापना गर्ने उत्कट चाहना त पूरा भयो तर त्यहाँ विद्यार्थी आउने हुन् कि होइनन्, आर्थिक कारणले विद्यालय चल्ने हो कि होइन भन्ने देखि लिएर शिक्षक नपाउने सम्मका धेरै समस्याहरु थिए । त्यसमा हामीले पनि उहाँलाई सघाएका थियौँ । यसरी शुरु भएको मेरो शिक्षण पेसा मेरो जीवनका पछिल्ला दिनहरुसम्म आइपुग्दा पृथ्वी उच्च मावि अमलाचौर सम्म नै आइपुग्यो । त्यसअघि तराईका केही जिल्ला, पोखरा, पछि फलेबास क्याम्पसमा पनि पढाएँ । विषय प्राय अङ्ग्रेजी नै हो ।
छोराछोरी विद्यालय पठाउन मान्दैनथे । कहिलेकाहीँ त हामी घरघरमा पुगेर तपाईँका छोराछोरी विद्यालय पठाइदिनोस् भनेर अनुरोध गर्ने गर्दथ्यौँ । हेमराजजी र पूर्णप्रकाशजी त टीनको पातो काटेर ढ्वाङ् बनाएर ‘आफ्ना छोराछोरीलाई विद्यालय पठाउँ’ भनेर घोक हाल्दै पनि हिँड्नुहुन्थ्यो । छोरी त कहाँ पठाउनु त्यतिबेला विद्यालयमा घरबाट निस्किने अवस्था त थिएन । मेरो सम्झनामा एकजना खर्सेडाँडाकी नानी थिइन् पढ्न आउनेमा । तर उनी पनि एक्लो केटीमान्छे निकै अप्ठेरो मान्थिन् । कतिका त हामी घरमा पुगेरै छोरीलाई पनि पढाउनुपर्छ, केही हुदैन, हामी जिम्मा भयौँ भनेर तिनका बुबाआमासँग अनुरोध पनि गरियो ।
पञ्चायतको अप्ठेरो जागिर :
करिब १२ वर्ष पढाएपछि उनले माविनिमा अस्थायी जागीर शुरु गरे । बागलुङमा खटाइयो सुरुमा । अंग्रेजी विषयको विद्यालय निरीक्षक । त्यस समय जिल्लामा अंग्रेजी पढाइको महत्वका बारेमा विस्तारै मानिसहरुले बुझ्दै थिए । त्यसैक्रममा उनले जिल्लाका प्राय सबैजसो विद्यालयहरुमा पुगे । मलाई याद भएसम्म माविनिको मासिक तलब ४७५ रुपैयाँ थियो । त्यो पनि निकै ठूलो भयो त्यस समय । मलाई लाग्छ त्यतिबेला एक तोला सुनको मूल्य ३०० रुपैयाँ थियो । पछि जिशिअ (जिल्ला शिक्षा अधिकारी) बन्नुभएका उनी विसं २०३५ मा म्याग्दीमा बसे । नियमले मिल्ने भएमा मैले कहिल्यै पनि विद्यालयले दिने काम रोकिनँ,उनी भन्छन । विद्यालय सञ्चालनको स्वीकृतीका लागि पनि राजनीति हुने । स्थायी अनुमतिका लागि त झन कुरै भएन । माथि सरकारले देशमा शिक्षाको विकासको नीति लिने तर जिल्लाहरु तिर भने विद्यालय माग्दा कसले माग्यो, त्यसमा संलग्नहरु काँग्रेस कम्युनिष्टहरु हुन् कि को हुन् भन्नेजस्ता विषयमा गुट उपगुटहरुमा विभाजन हुने काम हुन्थ्यो । राजनीति खुब हुन्थ्यो । विसं २०४५ सम्म उनले यो सेवा गरे । वास्तवमा पञ्चायती व्यवस्थामा सरकारी सेवामा काम गर्न गाह्रो रहेको उनको अनुभव छ । भन्छन, पञ्चायत हेर्दा व्यवस्था एउटा तर त्यसभित्र धेरै गुट, उपगुट । काम गर्न निकै गाह्रो थियो ।
स्कुल माग्दा खोसियो जागिर :
उनको जिल्ला शिक्षा अधिकारीको जागिर विना जानकारी नै खोसियो । उनले स्मरण गरे, ‘म्याग्दीको जिशिअ थिएँ विसं २०४३ मा । छोरा प्रदीपको बिहेको तयारीको लागि घर जाँदा क्षेत्रीय शिक्षा निर्देशकसँग मौखिक रुपमा विदा स्वीकृत गराएँ । म बिहेको तयारीमा लागेँ उता मेरो बारे कहाँ गएको भनेर प्रश्न उठाइएछ । एकपक्षले विदा स्वीकृत नगराइ गएको भनेर विदाको रेकर्ड फाएल खोज्ने कोहीले के खोज्ने गर्न थालेछन् । अञ्चलाधीशले थर्काएपछि निर्देशक पनि डराएछन् । पछि त जागिरबाट निकालेछन् । अहिलेजस्तो फोन थिएन् आफ्नो अवस्थाको जानकारी गराउन ।’
कुरा अर्कै थियो । म अमलाचौरमा विद्यालय माग्ने काममा लागेको भनेर तारो बनाएका थिए । त्योे विद्यालय कम्युनिष्टहरुले मागेका भन्ने थियो त्यतिबेला । दिनानाथ (पूर्व शिक्षामन्त्री) लगायतसँग म पनि थिएँ । विभिन्न अधिकारी तथा नेताहरुलाई भन्ने काम भएको थियो । अमलाचौरमा विद्यालय मागेको भन्ने आरोप लगाएछन् । पञ्चायतका बेलाको जागिर कम्युनिष्टसँग जोडेपछि सक्कियो । गुटका मनिसले त्यसैकारण मलाई निकाल्ने उचेरो खोजिरहेका बेला यो पनि एउटा निहूँ हुनपुग्यो । होला त्यहाँ विभिन्न किसीमले पञ्चायतका गुटका मानिस मेरो विरुद्धमा थिए होलान् । अरु पनि कारण त थिए होलान् तर मलाई निष्कासनका लागि उनीहरुलाई यो एउटा निहूँ भयो । पछि अदालत त गएँ । तर पञ्चायतको अदालत पनि त्यही त हो केही गरेन । सरकारका विरुद्ध अदालत के जान्थ्यो । गएन । मेरो कुनै गल्ती नभएको कारणले म किन चुप लागेर बसौँ भनेर अदालत गएको मात्र हो ।
डिल्लीप्रसाद शर्मा नेपालमा अंग्रेजी र संस्कृत पनि जान्ने थोरै विद्धानमध्ये पर्छन । उनले अंग्रेजीमा एमए र संस्कृतमा आचार्य गरे । अनि ज्योतिषशास्त्री पनि । विद्यावारिधी शोधको अन्तिममा पुगेका उनले त्यसलाई पूरा गर्न भने अवसर पाएनन् । पछिल्लो पर्वते राजा कृतिबम मल्लका सभा पण्डित प्रेमनिधि पन्तको व्यक्तित्व र कृतित्वका विषयमा विद्यावारिधी शोध लेखेर लगभग अन्तिममा पु¥याएका थिए । कुनै व्यक्तिले उनलाई लठ्याउने औषधि खुवाएर उनको औँठी र हातैले लेखेको शोधको झोला पनि लुटेर लगिदिएकोले त्यो काम पूरा गर्न नपाएको बताए । केही वर्षअघि भएको यो घटनालाई उनले आफ्नो जीवनको सबैभन्दा दुःखद घट्ना भन्छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->