स्याङ्जा, १८ फागुन : वालिङ नगरपालिका १४ तमादीका ३० वर्षीय यामप्रसाद लुईटेल विश्व मोटरसाईकल यात्रामा निस्केका छन । वालिङ नगरपालिकामा भएको एक कार्यक्रका विच बिदाई भएर लुईटेल दार्चुलाको लागि प्रस्थान गरे । वालिङबाट विदाई हुनुभएका लुईटेलले विश्व मोटरसाईकलको औपचारिक यात्राको सुरुवात भने दार्चुलाबाट शुभारम्भ गर्ने बताए ।
वालिङ नगरपालिकाका नगरप्रमुख दिलिपप्रताप खाँणले मोटरसाईकलमा विश्वयात्रा गर्ने कार्य सहज नभएपनि यात्रा सफल हुनेमा आफुहरु विश्वस्त रहेको भन्दै यात्रा सफलताको शुभकामना दिए । आफ्नै नगरका बासिन्दा लुईटेलको यो यात्राले नगरले गर्भको महसुस गरेको बताउदै यात्राको क्रममा आइपर्ने बाधा अड्चनको धैर्यताका साथ सामना गर्दै अगाडी बढ्न उनले आग्रह गरे ।
उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेले नेपाल भ्रमण वर्षको अवसर पारेर विश्व भ्रमणमा निस्किनु निजी क्षेत्रको लागि निकै खुसिको कुरा भएको बताए । लुईटेलको विश्व भ्रमण गर्ने कार्यले जिल्ला बासि निकै उत्साहित भएका छन् । स्याङ्जा बासिको मात्रै नभएर देशकै लागि गौरवको कुरा भएको जिल्ला बासिको भनाई रहेको छ ।
सन् २०२२ सम्ममा नेपालका ७ सय ५३ स्थानीय तहको करिब ६० हजार किलो मिटरको यात्रा पुरा गरि सन् २०२२ बाट विश्व यात्रामा निस्किने र दश वर्ष भित्रै ८ लाख किलो मिटरको यात्रा गर्ने योजना रहेको लुईटेलले बताए ।
समाज र राष्ट्रको लागि केही गर्नु पर्छ भन्ने उद्देश्यले आफु विश्व यात्रामा निस्किन लागेको लुईटेलले बताए । नेपालको यात्रा गर्दा प्रत्येक स्थानीय तहमा पुगेर पर्यटन र यसका सम्भावनाका विषयका अन्तरकृया गर्ने उनले बताउनु भयो । लुईटेलले भने “मोटर साईकल एउटा साधन हो । यो साधनको सदुपयोग गर्दै देशको पर्यटनको सम्भावना र अवस्थाको अध्ययन गरि यसलाई अन्तराष्ट्रिय स्तरमा नेपालको बारेमा जानकारी गराउने उद्देश्यले विश्व मोटर साईकल यात्रामा निस्किन लागेको छु, यसमा सबैको सहयोगको अपेक्षा गरेको छु ।”
अर्जेन्टिनाका इमेलियो स्कटोले मोटरसाईकल यात्राबाट दश वर्षमा ७ लाख ३५ हजार किलो मिटर यात्रा गरेको र दश वर्ष भित्रै ८ लाख किलो मिटरको यात्रा पार गरेर त्यो रेकड आफुले तोड्ने लुईटेलको भनाई थियो ।




