स्याङ्जा, २ चैत- फेदिखोला गाँउपालिकामा शनिबार राती परेको असिनापानीले अन्नबालीमा करोडौको क्षति पुर्याएको छ । गाँउपालिकाको १ र ४ वडामा किसानले लगाएको तरकारी खेती र गहुँ बालीमा पूर्ण रुपमा क्षति पुर्याएको छ भने वडा २ र ३ मा आंशिक क्षति पुर्याएको स्थानीय बासिन्दा सुजन पोख्रेलले बताए ।
फेदीखोलाले कृषिमार्फत किसानलाई स्वरोजगार बनाउने अभियान सञ्चालन गरेपछि उत्साहित भएर कृषि पेशामा लागेका किसान यतिबेला भने चिन्तित बनेका छन् । आफुले लगाएको खेती असिनापानीले सखाप पारेपछि उनीहरु चिन्तित बनेका हुन् ।
गाँउपालिका अध्यक्ष घनश्याम सुवेदीले असिनापानीबाट प्रभावित किसानको खेतबारीमै पुगेर अनुगमन गरिएको बताए । अध्यक्ष सुवेदीले भने ‘गत बर्षभन्दा यो वर्ष कृषि उत्पादन वृद्वि हुने अवस्था थियो तर असिनापानीले ठुलो क्षति पु¥यायो ।’
गत बर्ष २ करोड बराबरको कृषि क्षेत्रमा कारोबार गरेको पालिकाले यस बर्ष उत्पादनमा आधारित अनुदान कार्यक्रममार्फत कृषक उत्साहित थिए । कुखुरापालन व्यवसाय गर्दै आएका वडा नम्बर १ का कुमार सुवेदीले भने– ‘प्राकृतिक बिपत्तिले बर्बाद बनायो ।’ उनले १२ सय कुखुरा पालेका थिए । असिना पानीले गर्दा सबै लगानी डुब्ने अवस्थामा पुगेको गुनासो गर्दै सुवेदीले भने, ‘असिनापानीले खोर भत्कनुका साथै दानामा समेत क्षति पुग्यो ।’
सोही ठाउँकी अर्की किसान केसरी सुवेदीले असिनापानीले तरकारी बाली सबै सखाप भएको बताउँदै खेतबारीमा हेर्न सक्ने अवस्था नरहेको बताइन् । असिनाका कारण दुःख गरि लगाएको खेतीको फल खाने बेलामा यस्तो अवस्था देख्नु पर्दा निकै दुःख लागेको उनको भनाई छ । केसरीले भनिन्– ‘काउली, टमाटर र मुला लगायतका तरकारी लगाएकी थिए, अब केही पनि बाँकी रहेन ।’
तरकारी खेती र पशुपंक्षी पालन गर्ने किसानको संख्या बढ्दै गरेको फेदीखोला गाँउपालिमा असिनापानीले किसानलाई एकपटक नराम्रोसंग झस्काइदिएको छ । हालसम्म करिव ६ करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । गाउँपालिकाले पीडित किसानलाई राहात उपलब्ध गराउन सम्बन्धित निकायमा पहल गर्ने अध्यक्ष सुवेदीले बताए ।




