स्याङ्जा, ४ चैत- गल्याङ नगरपालिकाका नगरप्रमुख भुपराज अधिकारीले व्यावसायिक सोच विना आत्मनिर्भर बन्न नसकिने बताएका छन् । गल्याङमा ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालिमको उद्घाटन गर्दै नगरप्रमुख अधिकारीले कृषि प्रधान देशका नागरिक घरमा दुई चार ओटा बाख्रा भैंसी पालेर आत्मनिर्भर बन्न नसकिने बताए ।
आफ्नै पेशामा रमाउने भन्दा पनि नेपालीहरुमा जागिर खाने र वैदेशिक रोजगारिमा जाने क्रम बढेको बताउदै देश समृद्ध बनाउनको लागि वैदेशिक रोजगारि लाई छाडेर आफ्नै देशमा काम गर्नुपर्नेमा नगरप्रमुख अधिकारीले जोड दिए । ‘रोजगार भन्दा स्वरोजगार धेरै महत्वपुर्ण कुरा भएकोले आफुले जानेको काम र सिपको प्रयोग गर्न हिचकिचाउनु हुदैन ।’उनले भने ।
नगरपालिकाले कृषि र पशु लगायतका क्षेत्रमा काम गर्ने किसानलाई उच्च प्राथमिकता दिएकोले यस क्षेत्रमा लाग्ने सबै किसानलाई सहयोग गर्ने बताए । नगरप्रमुख अधिकारीले तालिमको अवधि बढाएर भएपनि सक्षम जनशक्ति उत्पादन हुनुपर्ने भन्दै तालिमका लागि आवश्यक समन्वय र सहयोग गर्न नगरपालिका सधैं तयार रहेको जानकारी दिदै तालिमलाई उपलब्धिमुलक बनाउनु पर्ने बताए ।
गल्याङ नगरपालिका पशु शाखा प्रमुख तथा तालिमका प्रशिक्षक सुशिल अर्यालले पशुका लागि यो तालिम पहिलो चरण भएको भन्दै आगामी दिनमा पनि तालिमलाई अझै बढाउँदै लैजाने बताए ।
तालिममा गल्याङ नगरपालिकाका विभिन्न वडाका २० जना अगुवा कृषकको सहभागिता रहेको छ । गल्याङ नगरपालिकाको समन्वय र आधिखोला बहुप्राविधिक शिक्षालयको आयोजनामा सञ्चालन गरिएको तालिम ६५ दिन सम्म संञ्चालन गरिने आधिखोला बहुप्राविधिक शिक्षालयले जनाएको छ ।




