स्याङजा , १२ चैत – विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले विश्वलाई नै त्रसित बनाएको छ । चिनमा देखापरेको कोरोना भाइरस युरोपीयन मुलुक र अरबियन देशहुँदै नेपालमा समेत प्रवेश गरिसकेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण फैलन नदिन देश लकडाउन घोषणा गरेको छ । देशभर अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेर संक्रमण फैलिनबाट रोकेर जनतालाई सचेत रहन अपिल गरिरहेको छ ।
सरकारले सकेजति कोसिस गरिरहेको छ । तर पनि उपचारमा सहभागी स्वास्थ्यकर्मीहरुले उपचारका क्रममा चिकित्सकले सुरक्षाको लागि प्रयोग गर्ने पिपिई ड्रेसको अभाव भएको बताइरहेका बेला राष्ट्रिय आविष्कार केन्द्रले सो ड्रेस निर्माणको लागि आवश्क सामाग्री र सिलाउने टेलरको व्यवस्था भएको र ४ सय जति बनाउन सकिने केन्द्रका प्रमुख महाविर पुनले फेसबुक स्टाटसमार्फत जानकारी दिएका छन् । पुनको स्टाटसबाट देश अप्ठ्यारोमा परेको बेला आफैसंग भएका स्रोत र साधनको प्रयोग गरेर अहिले देखिएको अभावलाई तत्कालका लागि टार्न सकिन्छ भन्ने कुरालाई स्पष्ट पारेको छ । टिचिङ अस्पताल काठमाडौं र विपि कोइराला अस्पताल धरानको आग्रहमा आफुले सो ड्रेस तयार पार्न लागेको पुनको स्टाटसबाट बुझ्न सकिन्छ ।
सुरक्षा ड्रेसको अभाव झेलिरहेका वालिङ अस्पतालका चिकित्सकलाई वालिङ नगरपालिका–१ का समाजसेवी लक्ष्मीपती पौडेलले मंगलबार ३ थान पिपिई ड्रेस सहयोग गरेको बताएका छन् । कोरोना संक्रमणका कारण चिकित्सकले बिरामीको उपचारका क्रममा प्रयोग गर्ने सुरक्षा ड्रेसको अभाव भएकोले ३ सेज वालिङ अस्पताललाई सहयोग गरेको पौडेलले बताए । रेन्कोट बनाउन प्रयोग गरिने कपडाबाट यो तयार पार्न सकिने पौडेलको भनाइ रहेको छ । आफुले रेन्कोट बनाउन प्रयोग गरिने कपडाबाट पोखरामा तयार पारेर ल्याएको र साइज अनुसार प्रतिसेटको २ हजारदेखि २ हजार २ सय सम्ममा स्थानीय स्तरमै टेलरिङको काम जानेकाले यो तयार गर्न सकिने उनले बताए ।
वालिङ अस्पतालका अध्यक्ष शोभाकान्त पौडेलले आफुहरुको आग्रहमा पिपिई ड्रेस उपलब्ध गराएको र यसले अस्पतालमा काम गर्न सहज भएको जानकारी दिए । सरकार र विभिन्न संघ संस्थाहरुले हाम्रै गाउँघरमा विभिन्न समयमा दिदीबहिनीहरुलाई सिलाईकटाई तालिम दिएका छन् । यो अभावका बेलामा स्थानीय तहहरुले आवश्यक सामाग्री उपलब्ध गराएर सिप सिकेका दिदीबहिनीहरुका साथै सबै टेलरहरुलाई स्वास्थ्यकर्मीहरुको लागि आवश्यक पर्ने ड्रेस उत्पादन गर्न लागेमा हजारौँ पिपिई ड्रेस बनाउन सकिन्छ । अब स्थानीय तह र सरकारको ध्यान यसतर्फ जान जरुरी देखिन्छ ।





