सरकारले कोरोना भाइरस (कोभिड १९)को संक्रमणको रोकथामका लागि लकडाउनको घोषणा गरेपछि गाउँ फर्किएका युवायुवती यतिबेला आफुले जानेको काममा समय खर्चिएर लकडाउनको सदुपयोग गरिरहेका छन् । उनीहरुको दैनिकी यतिबेला घरपरिवारलाई सहयोग गर्नुका साथै आफुले जानेको सिप प्रयोग गरेर घरायशी काममा प्रयोग हुने सामग्री उत्पादन गरिरहेका छन् ।
वालिङ बजारमा मोबाइल पसल संचालन गर्दै आएका केशव पराजुली यतिबेला वालिङ नगरपालिका–१२ चौतारस्थित आफ्नै घरमा घाँसको प्रयोग गरिने डोका, मल बोक्न प्रयोग हुने थुन्से बुन्न ब्यस्त छन् । उनको दैनिकी बाँस घारीमा गएर बाँस काट्ने, चोया तयार पारेपछि डोको थुन्से बुन्ने काम गरेर बित्ने गरेको छ । फुर्सदको समयमा यत्तिकै बस्नुभन्दा आफुले जानेको सिप प्रयोग गर्दा समय बिताउन पनि सजिलो हुने र डोका, थुन्से सुपो लगायतका बाँसबाट बनाउन सकिने सामग्री बनाएको पराजुलीले बताए । चार दिनमा दुई डोका, एक थुन्से र एक सुपो (नाङलो) तयार पारेको उनले बताए ।

बुटबल बाणिज्य क्याम्पसमा विविएस चौथो वर्षमा अध्ययनरत कालीगण्डकी गाउँपालिका–६ की निशा न्यौपाने पनि यतिबेला गाउँघरको काममा ब्यस्त छिन् । कलेज बन्द भएपछि घरमा आएकी निशाले घरपरिवारसंगै खेतबारीमा काम गरेर समयको सदुपयोग गरेको बताउँछिन् । निशाले भनिन्– ‘यतिबेला गाउँघरमा खेती लगाउने, मल बोक्ने र गहुँ भित्राउने चटारो भएकोले ब्यस्त छु ।’ परिवारसंगै काम गर्दा रमाईलो पनि हुने घरको काममा सहयोग पुग्ने भएकोले परिवारसंगै काम गरिरहेको न्यौपानेले बताइन् ।

बुटबलमा सो–रुम म्यानेजरको काम गर्दै आएका कालीगण्डकी–६ कै रमेश न्यौपानेको पनि दैनिकी मेलापात गरेरै बित्ने गरेको छ । सोरुम बन्द भएपछि गाउँघर फर्किएका न्यौपाने घरको कामसंगै गाउँमा कोरोना भाइरस संक्रमणका बारेमा स्थानीयलाई सजग बनाउन व्यस्त छन् । गाउँमा मकै छर्ने र मल बोक्ने समय भएकोले आफु पनि यहीँ काममा तल्लीन रहेको रमेशको भनाई छ । – शब्द/तस्बिर : हिमलाल पराजुली/स्याङजा




