स्याङ्जा, १८ चैत– वालिङ नगरपालिकाले विभिन्न संघसंस्था तथा ब्यक्तिले सहायताको नाममा चन्दा उठाउन र आँफूखुसी वितरण नगर्न आग्रह गरेको छ । चैत १६ गते गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले आपूर्ति ब्यवस्थापनलाई सहज बनाउने र सहायता दिन चाहेमा सम्बन्धित स्थानीय तहमा सम्पर्क राख्नुपर्ने निर्णय भएकाले सोही अनुसार गर्नुहुन वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले अनुरोध गरेका छन् ।
‘गृह मन्त्रालयको परिपत्रअनुसार कसैले पनि सहायताको नाममा चन्दा उठाउन वा आँफूखुसी सहायता वितरण गर्न पाउने छैनन्’ नगर प्रमुख खाँणले भने, ‘एकद्वार प्रणालीबाट सहायता गर्दा राम्रो हुने र समान पहुँच पुग्ने भएकाले वितरणमा दोहोरोपनाको समस्या हुन पाउँदैन ।’ गृहमन्त्रालयको परिपत्रअनुसार स्थानीय तहले तोकेको मापदण्ड अनुसारका सहयोग सामग्रीहरु भएमा मात्र स्थानीय तहले स्वीकार गरी वडास्तरीय समितिमार्फत वितरण गरिने वालिङ नगरपालिकाले जनाएको छ ।




