बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शान्त छ प्रकृति, उस्तैछ दिन, उस्तैछ रात पनि !

शान्त छ प्रकृति, उस्तैछ दिन, उस्तैछ रात पनि !

नयाँ बर्षको शुभकामना


  • किरण गुरुङ
  • चैत्र २९ २०७६, शनिबार

शान्त छ, प्रकृति
उस्तैछ दिन,
उस्तैछ रात पनि !
सूर्योदयका बिहानी
र सूर्यास्तका साँझ पनि उस्तै छन्
घरिभत्र बन्द छु
घरभित्रै टोलाउँछु
घरभित्रैबाट टाढा टाढा मन डुलाउँछु ।

घरको छतबाट चियाउँछु
कोइलीको स्वर पनि उस्तै मीठो पाउँछु
आँखाले भ्याएसम्म क्षितिजसम्म नियाल्छु
बसन्त त सुटुक्कै आई पुगेछ
हाँगा-हाँगा, पात-पातमा आँखा डुलाउँछु
नयाँ अंकुरा र पालुवा टुसाएर पलाएको देख्छु ।

तर म, मान्छे आफैभित्र,
डर र त्रासको डरलाग्दो शुन्यता पाँउछु
युरोप,अमेरिका र एशियाका वैभवहरू
विश्वलाई थर्काउने आणविक मिसाइलहरू
सबै सबै त्रस्त छन्, परास्त छन्
मनमा भय मच्चिरहेको छ
आँखामा मृत्यु नाँचिरहेको छ
तिमी हेर्न सक्छौ
डोनाल्ड ट्रम्पको आँखा,
या सि जिन पिङको आँखामा
तिमी सोध्न सक्छौ
बोरिस जोन्सनलाई मृत्युको डर कस्तो हुन्छ ?
स्पेनको राजकुमारी त मरेर गइन,
तिमी उनलाई के सोध्नु हुन्छ? बरू सोध,
मृत्युपछि बाँच्ने आफन्तहरूको पीडा कस्तो हुन्छ ?
इटालीलाई सोध,
घर घरमा मृत्युको ताण्डव कस्तो हुन्छ ?
जीवन र मृत्युुक‍ो दूरीमा फरक कति हुन्छ ?
मान्छेका लास र उनीहरूका चिहान कस्तो हुन्छ ?
त्यस्तो बेला के दुख्छ ?
मन, मुटु या सम्पूर्ण शरीर ?
आँसु बग्छ या रगत ?
मुटु धड्कन्छ या बन्द हुन्छ ?
आँखा लोलाउँछ या टोलाउँछ ?
बिछोडको पीडा कस्तो हुन्छ?
मिलनको खुशी अब कहिले पलाउँछ ?

भो ! मान्छेहरू अब कसैलाई नसोध,
बरू तिमी आफैले आफैंलाई सोध,
प्रकृति किन शान्त छ ?
हावाले पात त्यसरी नै हल्लाइरहेछ, जसरी अघि
झरना झरिरहेकै छ आफ्नै सुरमा
नदी बगिरहेकै छ, हाम्रा हिमाल हाँसिरहेकै छ
तर,
मान्छेको भने गति हराएको छ
मान्छेको मति पनि हराएको छ
कोरोनाको त्रासले
या जीवनको अन्तिम सत्यले
मान्छेलाई त्रसित बनाएको छ
जीवनको यो त्रासदी र भोगाइ हिजो समान थिएन
हिजोका इरान, इराक, अफगानिस्तान र प्यालेस्टाइनका युद्धमा
हिटलर र नाजीका साम्राज्यहरूमा
उनीहरूका कालकठोरी र ग्यास च्याम्बरहरूमा
साम्राज्यवादी आक्रमण र निरंकुश शासनकालमा
मान्छेको भोगाइ र जीवन समान थिएन
त्रासदी त झन समान छदैं थिएन
अहिले यतिबेला, आफ्नै अट्टहासले
डोनाल्ड ट्रम्प र सिङ्गो अमेरिकालाई गिजाइरहेको छ
हिजोका आफ्नै सफलता र गर्वका
अट्टहासले मान्छेलाई सताइरहेछ
के धन? के दौलत?
के हो वैभव?
के हो विकास ? के हो विनास ?
अहिले यतिबेला,
अमेरिकी अस्त्रको के काम ?
मानव जातिको शस्त्रको के काम?
केको युद्ध ? केको जीत ?
बरू सोध,
सुदूर पश्चिमका राउटेहरूलाई
प्रकृति के हो?
तर कहिल्यै नसोध,
उनीहरूलाई
के हो सभ्यता? असभ्य को हो ?

त्यसैले,
अब भयमा बाँच्न छाड मान्छेहरू
कोरोना त फगत प्रकृतिको एक परिघट्ना
शाश्वत विधि, विधान र नियम
प्रकृतिका सबै चर अचर जगतै समान
विधिको विधान, प्रकृतिको नियम
जीवनको अन्तिम सत्य “मृत्युु”
घर घरमा मृत्युु , चर चरमा मृत्युु
प्रत्येक प्रहरमा मृत्युु,
प्रत्येक काल खण्ड र युगक‍ो पनि मृत्यु
हिजो, विगत र इतिहास सबै मृत्युका खण्डहरहरू
म, मान्छेहरू
प्रकृति त शान्त छ, हिजो जस्तै, अस्ति जस्तै
दिनको उज्यालो उस्त‌ै छ
रातको अँध्यारो पनि उस्तै छ
केवल समय मात्र उस्तै छैन
फरक फरक छ
म, मान्छे बाँचेको समय र म, मान्छे मर्ने समय पक्कै फरक हुनेछ
वर्तमान विगत र विगत इतिहास हुनेछ
मृत्यु त शाश्वत सबैको समान हुनेछ ।
२९ चैत्र, शनिवार २०७६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->