बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नयाँ वर्ष

नयाँ वर्ष


  • शम्भु अर्याल
  • बैशाख १ २०७७, सोमबार

नयाँ वर्षको प्रारम्भमा छु । बाहिर सुनसान छ । रातदिन धुलो धुवाँ र हरनको कोलाहलले मुखमा उझिण्डो झुन्डिन्थ्यो । अहिले सन्त्रासले । मुखमा यो कुभिण्डो जस्तो उझिण्डोको उल्झन पनि कहिल्यै नछुट्ने भयो बाबा ! वायुपानले नै धड्किईरहेको मुटु गुटुमुटु परिरहेको छ । धित मरुन्जेल श्वास लिन नपाएर राम्रोसँग अक्सिजन नघुलेको पानीको माछोजस्तो पक्यापक्या परेको भ्रान्ति भइरहेको छ ।
जिन्दगी उठ खाउ, सुत मात्रै भएको छ । पहिला बरफवाले देशी दाईको बरफको प्वाँ प्वाँ हरन जस्टो पिँपिँ र टिँटिँले कानको किरा खान्थ्यो । आजकल एकबिहानै चराचुरुङ्गी चिरबिर गर्छन । झ्यालसम्मै भुरूरू उड्दै स्वच्छन्द कति मोजाले पो खेल्छन् भँगेरा भँगेरी । बिहान बिहानै बिबिध चराचुरुङ्गीको अनेकावाज कति सङ्गितमय हुँदोरहेछ । पालैपालो चिँ चिँ को अनेक धुनमा सङ्गीत पाउँछु । हुरिबतासले हल्लेको टिन जस्तो ढन्ड्यङ र ढुन्डुङले मलाई मात्रै दिगदिगी लागेको होला भन्ठानेको त बल्ल थाहा भयो चरी पनि नजिक नपर्दा रहेछन् चर्का हरनले तर्सेर ।
सहपाठी, सहयात्री, एउटै गाउँका राजेन्द्र दाइ अमेरिकामा डाक्टर भै सकेछन् । अस्ति मात्रै वालिङ टेलिभिजले अन्तर्वार्ता लिएको थियो । कोरोना भाईरस (कोभिड–१९) कस्तो प्रकृतिको भाईरस हो डाक्टर सहाब ? डा. साहबले भन्नुभयो । यो बाहिर वातावरणमा रहँदा निर्जीव हुन्छ । यदि हातमा टाँसिएर नाकमुख आँखाबाट शरिरमा प्रवेश गर्याेभने यो सजिव हुन्छ । त्यसैले केही छोइसकेपछि पटकपटक साबुन पानीले हात धोऔं । बाहिर गएर घरभित्र पस्दा सेनिटाइजरले हात रगडौं । कलम समाउँछु हातै धुन्छु । मलम समाउँछु हातै धुन्छु । छोयो कि धोयो । धुँदाधुँदा औंलाका कापा पाछेर एकुवा नै भयो कि भनेर मनमनै भयभित हुन्छु । बुढि पैसा लेउ न । तीन चार वटा सेनिटाइजर लिएर आउछु । बोल्न के भ्याथें । उताबाट महारानीको महावाँणी बर्षिहाल्यो । ल्याउनुभयो अब मुखाँ लाउनी माड हुन छाडिसक्यो । सेनिटाईजर ! खुदो खानुभयो ।
मैलै राख्न दिएको पैसा मैलै माग्दा टकटक गरेको देख्दा कनपारो तातेर आउँछ । फेरि पनि मौन रहन्छु । बोले महिला हिंसा भै हाल्छ । चौकी शौकीतिर लर लौरीको क्वारेन्टाइनमा राख्देलिन् भन्ने भयले लुसेमुन्टो लगाउँछु । कानुनले नै जोइटिङग्रे बनाएपछि बस छोरा भुइँछोडेर गमला भित्र थुपुक्क ।
गाउँमा बस्दा हैरान भयो । यसो आँगन छोडेर निस्क्यो । बाटाँ भेटे जतिले कहाँ हिडेको ? किन हिंडेको ? किन चाहियो ? खालि किन किन ? किन ? किन चाहियो अर्काको दिनचर्या ? आर्कैको निन्दो र चर्चाेले हैरान भएर । अब यो गाउँमा बसेर तर नलाइने भयो बाबै ! प्रश्नै प्रश्नको भारले हारै हुनि भ जिन्नगी भनेर बजारमा आएर होटेल गरेको । बरै ! किन हुन्थ्यो नानीदेखि लाएको बानी के शहर, के बजार । ब्यावसायिक गोपनियता मैले मेरो धर्म ठान्छु । कर्मलाई मर्म मान्ने कृष्णवाणीको गुरूमन्त्र जप्ने मान्छे म । मान्छेका ढङ्गले धर्म पनि भङ्ग गराइदिने भए । भुत्रो बिकास हुन्छ त यो देशाँ ! थोत्रो दिमाखमा खाली आर्काले के गर्छ’को पहरा मात्रै छ । रेष्टुरेन्टमा चारपाँच जना रक्सेहाहरू टुन पल्टेर बसेका थिए । त्यहीँ बेला एउटा जोडि आएर रूम मागे । चाबी लिएर उनिहरू रूमतिर लागे । दाइ किन आएका हुन् उनिहरू ? होटेलमा केटाकेटी किन आउँछन् ? अर्कोले आँखा झिम्काउँछ ? दङ्ग पर्छु, कस्तो सुलसुले होला । कानुनमा बाउ नचिनाई बच्चा जन्माउन पाएपछि कानुनले नसोधेको कुरा निदि र खोजी गर्छ । टुनको धुन देखेर कनसिरी तात्छ ।
मैल के गर्छु ? मैले के गर्नुपर्छ भन्नी कहिले होला हामी ? फेरि बसेको कोही देख्दिन । डण्डुु दिनभर क्यारम्बोर्डका गोटीले बाजा बजाईरहन्छ । बन्धु चियागफ लगाउन लाग्यो भने क्या पासो पर्छ । लम्बेतान छुट्टिनै गार्हाे । फेरि यस्तो महामारीले संसार बन्द हुँदा । पुलिसले बाटो छेकेरै बस्दा पनि एक्लै एक्लै गौंडा गौंडाबाट जुटिहाल्नी र भुटिहाल्नी म्यारिज । मोबाइल टोन हात धोऔँ । म्यासेन्जरको स्क्रिन त हातै धोऔँ भन्याबेलाँ थुकले खुरुखुरु औंलाका टुप्पा चोब्दै तुरूप तुरूपभन्दा पो कुरूप लाग्छ अनुहारको मलाई ।
पेशाले फुत्त फुत्त दौडिरहने काम पर्छ । कुनै दिन बाइक स्टार्ट गरेर यसो पुलपारी पुगेको गाउँको अङ्कलले निकै हातारो जस्तो हस्याङ र फस्याङ शैलीमा हात तल र माथि गर्दै रोक्नुभयो । स्पिडको बाइक झड्यामै ब्रेक लगाएको धन्नै भर्याम्मै भएन । कहाँ हिडिस् ? अलमल्लै परें । मसला लिन अङ्ल ! ल जा । पछि जुक्ति आयो बुढी नछुनी भाइछ प्याड लिन भन्दिन पर्नि रैछ ।
अल्ली पर पुगेको एकजा चिरपरिचित अनुहारको हाउभाउले बुरुक्क हात उचालेर इसाराले कता हिडिस् सोध्नुहुन्छ । ए बाबा ! त्यत्रो आवास्यक छ भने किन हाल्दैन कम्पनीले बाइकमा माइक ?
कति वर्ष भयो हरेक वर्ष भित्ताको क्यालेन्डर फेरियो रङ्गरोगन फेरिएन । तिथिमिति फेरियो परिस्थिति फेरिएन । आन्दोलन गरियो आर्तनादको आर्त उस्तै छ । वाद प्रतिवादहरू कति भए संस्लेषण उस्तै छ । रूखको पात पलाउँछ झर्छ । बोट उस्तै छ । अभियान ठुलाठुला भए अभियान्ताहरू उस्तै बने । आखिर मुसाको छोरो मुसै भयो । अलिअलि उन्मुख समय र परिस्थितिको झिनो आशा लागिरहेको थियो यो वर्ष । त्यो पनि कोभिड उन्नाईसको निर्जीव बस्तुले लखेटिरहेको छ मान्छेलाई । घरबाट बाहिर निस्कन प्रतिबन्ध छ है ! निर्जिव भाईरसले पनि जीवन खोज्दो रहेछ । कामना गर्छु कोभिडको स्पर्शमा कोही नपरून् ।
बिलखमन्न पर्छु परिवारमै कत्रो बिचल्ली छ । अमेरिकाको छोरो सम्झेर आमा सुकसुकाइ रहेकी छन् । अर्धाङ्ग बिछोडको पीडा दुईचार वर्ष खाडीमा एकलिने युगलहरूलाई मात्र थाहा हुन्छ । यो वर्ष त क्यालेन्डर पनि नझुण्डिने भयो भित्तामा । कर्म, सान, मान, खुशी, बुद्धिविवेक र सुस्वास्थ रोगप्रतिरोधात्मक क्षामताको हाइ हाइ होस् । कोभिड बाई बाई होस् । नयाँ वर्षको शुभकामना ।
(लेखक अर्यालय वालिङ नगरपालिका–६ मिर्दी स्याङ्जा निवासी हुन् ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->