पुस्तक : हजार माइलको बाटो
लेखक : नारायण ढकाल
उनको पुस्तक अध्ययन पश्चातको ब्यक्तिगत बुझाइ र एक पाठकको खस्रो आँखाले जे देखे र लेखकले जसरी छोए वा भनौ लेखकलाई एक पाठकले जसरी जति बुझ्यो । एक संक्षिप्त बकपत्र ।
हुनतः शब्दलाई तौलेर खेलाएर पस्कन सक्ने ब्यक्ति म होइन । शब्द र तिनका भावलाई बिशेष अर्थ आउने हिसाबमा प्रस्तुती गर्न काविल पनि छैन, तथापी ‘हजार माइलको बाटो’ अध्ययनका क्रममा लागेका केहि तरङ्गहरुलाई पेश गर्न गइरहेको छु ।
नारायण ढकाल नेपाली साहित्यको सुपरिचित नाम रहेको सुनेको भए पनि धेरै पढ्न बाँकी नै थियो । अखबारी पानाहरुमा कहिलेकाँही उनलाई पढेको भने थिए तर उनको उचाँइ र गुण दोष केलाउने सामथ्र्य ममा थिएन र छैन पनि । कोभिड–१९ का कारण एकान्तवासमा रहेको अवधिमा अलि पहिला नै किनेर ल्याएपनि पढिसक्न नभ्याएको उनको कृति हजार माइलको बाटो पढि सक्याए ।
करिव पचास साठी बर्षको नेपाली राजनीतिक उहाँपोहलाई स्वरैकल्पना समेत जोडेर बर्गीय चेतका साथ उनले उजागर गर्न खोजेको प्रयास निकै रोमान्चक लाग्यो । त्यती धेरै शब्द खेलाउने सीप नभएकोले उनका कृतिका उद्दरणहरुलाई आफ्नोभन्दा उनकै भाषामा पेश गर्न अनुमति चाहन्छु । हुनतः फिनीक्स बुकले २०७४ माघमा प्रथम संस्करण निकालेको यस पुस्तकको शुरुमै चेतावनीका शब्दहरु छन् । ‘पुस्तकको कुनैपनि अंश पुनःउत्पादन गर्न नपाइने तथा शैक्षिक र प्रज्ञिक प्रयोजनका लागि बाहेक प्रकाशकको लिखित स्विकृती अनिवार्य रहने’ उल्लेख गरिएको छ ।
मेरो जानेबुझेसम्म नारायण ढकाल काठमाडौंको काँछका बासिन्दा हुन् । यो उपत्यकाको राजनीतिक आर्थिक र सामाजिक परिवर्तनलाई नजिकै तर एक छुट्टै कुनामा बसेर मसिनो गरि हेरिरहेका एक चिन्तक हुन । बाउन्न पचपन्नतिर मैले कलेजको बिद्यार्थी जीवन कटाइरहँदा उनी यस भेगका सक्रिय राजनीतिज्ञ थिए । समयक्रममा मुलधार वा प्रवाहमा हिड्न चाहेनन् वा सकेनन् वा केन्द्रिय राजनीतिमा उतिसारो आउन चाहेनन् वा सकेनन् त्यो आफै जानुन । क्रान्ति गर्न आम मानिसलाई लिएर अगाडी बढ्ने तर क्रान्तिको मुखियाले क्रान्तिपश्चात सोको प्रतिफल बितरणमा सबैलाई साथ लिन नसक्दा रगत र पसिना बगाएकाहरुलाई उचित सम्बोधन नगरिदा त्यो जोश जाँगर, सिद्दान्त, सपना कतै छोडेर जिजिबिषा बोकेर र आफ्नो रुचिलाई अन्यत्रै मोडेर दिन गुजार्न कती मानिसहरु बाध्य होलान । कता कता तिनैको एक लाइनमा लामबद्ध रहेको अवस्थामा तपाई, हामी र नारायण ढकाललाई पनि कहिलेकाहीँ भेट्न सकिएला । होला क्रान्तिका मुखियाको पनि आफ्नै सिमाहरु छन् भन्ने बिषयहरु उठ्लान । तथापी सडकको आम मानिसलाई त्यो बुझ्न र बुझाउन त्यती सजिलो भने पक्कै छैन । हाम्रो आम परिवेश, समाजसँग सापेक्ष भएर उक्त विषयलाई बुझ्न खोजे मात्र समाधान निस्केला नत्र जटिलता थपिने मात्र हो । उनको कल्पनाशिलता बेजोड देखिन्छ । पात्र छनौट र तिनका घटनाक्रमहरुलाई आफ्नो लेखनीले धार लगाएका राजनीतिक आख्यानकार ढकाल पात्रमार्फत बिचारोत्तेजक समयबोध गराउँछन् । हजार माइलको बाटोमा मुखियाको भूमिकामा रहेका नरेन्द्रनाथले समय बोलेका छन् । समयको क्रमको साठी सत्तरी बर्षे कालखण्डर्लाइ एक्लै बोकेर बाजेको बिंडो थाम्दै आएका र त्यसबाट भाग्न नसकेको र नसक्ने भनि इमान्दारीपूर्वक जनअदालतमा बकपत्र पेश गरेको देखिदा उनीमात्र गलत रहेछन् भन्ने आधार पुष्टि गर्न कठिन पनि छ ।
समय सिद्दान्तमा भएपनि ब्यवहारमा एकैपटक उथलपुथल नहुने रहेछ । युद्ध, क्रान्ति, आन्दोलनको गति र समयको आफ्नै गतिबिच तालमेल नहुँदा सोको फसल आम नागरिकले अपेक्षित रुपमा नपाउने रहेछन् । गरिबी, जातजाती र धर्मको नाममा क्रान्तिको रोटी सहजै सेक्न सकिने हुनाले हाम्रो जस्तो अर्थतन्त्र र सामाजिक परिवेशमा क्रान्तिको झिल्को बाल्न सजिलो र प्रतिफलको समानुपातिक बितरण त्यत्तिकै गाह्रो पनि रहेछ ।
क्रन्तिकारीको अपेक्षालाई ब्यबहारको कसिमा तौलेर हिसाब बुझाउन सकिएन वा आश्वास्त पार्न सकिएन वा फरक बाटो र बर्गमा आफू दपेटिइयो दपेटाइयो । क्रान्तिलाई निष्कर्षमा पूर्याउन नसक्दा हाम्रा बर्गीय सपना र आकांक्षा पूरा हुन सकेनन् । नेतृत्वले पदमा पुगेपछि हिजोको दुःखको ब्याज खाने प्रवृत्तिले चतुरेहरुको बोलावाला बढ्यो । सुनौला सपना बोकी मनैदेखि क्रान्ति रोजेर अघि बढ्ने धिरेन्द्रनाथ र दिलबहादुर बिश्वकर्माहरुका दुःखका दिन किन फिरेनन् ? एकपटक राज्यका सन्चालकहरुले गम खाने पो होकी । यस्तै यस्तै बाणयुक्त बिचारहरुलाई पात्र र घटनामार्फत स्वरैकल्पना समेत मिसाइ बकाएर पाठकलाई जोशिलो बनाइदिने लेखक ढकालको प्रगतिको कामना गर्दछु ।
फेरी अर्को कोणबाट हेर्दा क्रान्ति अनवरत चलिरहने बिषय हो । यसको गति र लय भने फरक हुनसक्छ । कहिले देखिने प्रतिफल आउला त कहिले नदेखिने गरि प्रतिफल आउला । एककदम अघि र पछि पर्दैमा आत्तिने र हतास हुने प्रबृत्तिले लक्ष्य भेदन गर्न कदापी सकिदैन । क्रान्तिकारी कहिल्यै थाक्नुहुँदैन भन्दै हजार माइलको यात्राको कुरा गरिरहेका छन् । तसर्थ सजग र सचेत हुँदै नागरिक कर्तब्य निर्वाह गर्न लेखकले गरेको आव्हानलाई सलाम छ, आगामी दिनहरुमा अरु थप बुलन्द सिर्जनाहरु पढ्न पाइयोस् साधुवाद ।
२०७६।१२।२६
एकान्तबास
(लेखक उपाध्याय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उप–सचिव हुन् ।)





