‘आराध्या’ ?
मैले यो नाम उसको नागरिकता हेरेर थाहा पाएँ र झस्किएँ, किनभने उसलाई मैले यो नामबाट चिनेकै थिइनँ । त्यस दिन थाहा पाएँ जुन दिन हाम्रो पछिल्लो भेट भएको थियो । यसैलाई अन्तिम भेट पनि भन्न सकिएला तर फेरि भेट होला नि कुनै दिन, यसकारण पछिल्लो भन्न मन लागेको ।
हामी आपसमा परिचित । मायाका बात हुन्थे, प्रेमिल गफगाफ हुन्थे र हुन्थे अरू पनि कुरा । तर बिहे गर्ने, सँगै बाँच्ने अनि मर्ने कुरा भने कहिल्यै भएनन् । ऊ मलाई ‘हावा’ भन्थी म उसलाई ‘हावा’ भन्थे । धेरैपटक हामी दुवै हावा–हावा भएर मनोलोकमा उड्यौं तर कहिल्यै साँच्चै उडिहालौं भन्ने लागेन ।
उसलाई पहिलोपल्ट मैल फेसबुकमा देखेको हुँ भदौको कुनै दिन थियो त्यो । सुबिका बम्जन । मैले नै साथी बन्न अनुरोध गरेँ, उसले स्वीकारी । मैले घर सोधेँ उसले बताई । मेरो डेरादेखि केही तल उसको घर रहेछ । शनिबारको एक दिन म उसको घरको बाटो हिँडेँ, घरनजिकै गएर आँगनमा खेलिरहेका भुराहरूलाई सोधेँ, ‘सुबिकाको घर कुन हो ?’ उनीहरूले सिकाइदिए । ला, म त उसकै घरनजिक पो रहेछु । कतै उसले मलाई देखी भने ? मनमा कता–कता डर मिश्रित लाज लाग्यो र हतार–हतार त्यहाँबाट अघि बढेँ । घर चिनेरै मख्ख परेको म दङ्ग भएर अर्को बाटो डेरातर्फ फर्किनै लाग्दा बाटैमा ऊसँग भेट भयो । हेराहेर भयो, तर आँखा जुधाइहाल्ने आँट गरिएन । त्यहीबेला पनि मलाई डर मिश्रित लाज लाग्यो ।
त्यसको केही दिनपछि उसको फोन–नम्बर पत्ता लाग्यो । मैले फोन गरेँ । म एयरपोर्टतर्फबाट फर्कंदै थिएँ । भदौको महिना भए पनि आकाशमा बादल थिएन बरु पूर्णिमाको रात भएकाले टहटह जुन थियो । मैले त्यही जुनको उज्यालोमा उसलाई प्रेम प्रस्ताव राखेँ । जवाफमा ऊ हाँसी मात्रै । मैले स्वीकारेको ठानेँ र मख्ख परेँ । जुनको उज्यालोभन्दा मनको उज्यालो चम्किलो भयो । फोन संवादले निरन्तरता पाइरह्यो, पाइरह्यो ।
तीजनजिक आउँदै थियो । साथीहरूसँग सल्लाह भयो, कृष्णजन्माष्टमीको साँझ उसको गाउँमा नाच हेर्न जाने । नाच हेर्ने टिमको मै कमान्डर । मलाई उसको घर फेरि देख्नु थियो । अझ भनौं ऊ नाचेको देख्नु थियो र फोनमा बोलेको मान्छेसँग आँखा जुधाउनु थियो । तर मेरा साथीहरूलाई भने नाच हेरेर रमाउनु थियो । जब हामी नाच भइरहेको ठाउँमा पुग्यौं त्यहाँ उनी थिइनन् । मदिराले मातिएका एक पुरुषले पहिला मेरा साथीलाई नाच्न कर गरे । पछि मलाई । कर पनि अति भएपछि म रिसाए र ती मातिएका व्यक्तिलाई थर्काएँ पनि । ‘म नाच्दिनँ भनेको सुनेनौ बूढा ?’ यति भएपछि हामी फर्कियौं । उसलाई हेर्ने धोको पूरा भएन उल्टै झगडा भयो ।
भोलिपल्ट नाच्न गएकैमध्येको एक साथीले भन्यो, ‘साला छोरीचाहिँ त्यती राम्री छे, बाउ के भाको ?’ मैले कुनै वास्ता गरिनँ उसले फेरि दोहोर्यायो । मैले मन नलगाएर खाली औपचारिकताका लागि मात्रै सोधेँ, ‘भन्न खोजेको के हो ?’ उसले भन्यो, ‘हिजो तँसँग झगडा भएको मान्छेको छोरीको नाम सुबिका हो । हिरोइनजस्ती छे ।’ लौ बर्बाद, म सगरमाथाको टुप्पोबाट एकैचोटि पहिलो बेस क्याम्पमै झरेजस्तो भएँ ।
भेट हुन पा’कै छैन बाउसँग झगडा भएछ ।
एकचोटि लाग्यो, सुबिकालाई नै फोन गरेर भनिदिउँ, ‘तिम्रा बाउले हिजो साँझ मातेर हामीलाई नाच्न धकले र मैले पनि तिम्रा बाउलाई धकेदिएँ । सरी ल सुबिका ती तिम्रा बाउ हुन् भन्ने थाहै भएन ।’ तर भनिनँ । पछिसम्म यसकै पछुतो भइरह्यो । त्यसपछि पनि धेरैपटक ऊसँग फोनमा बात भयो तर यो विषय कहिल्यै उठेन । लाग्यो मातेको तालमा भएको धकरपकड बूढाले बिर्सिए र देख्नेले पनि बिर्सिए । मलाई भने त्यो दिन बरु नाचिदिएको भए हुन्थ्यो किन त्यसो गरे हुँला भन्ने लागिरह्यो ।
निकै वर्ष हामी अफेयरमा रह्यौं । देख्नेले पनि ‘यिनीहरू मायामा छन्’ भने, नदेख्ने पनि शङ्का गरे ।
पुसको एक साँझ सधैं झैं उसको मोबाइलले घण्टी बजायो । फोनमा मधुरो आवाज आयो, ‘मलाई कहिले भगाउँछौ ?’ म ट्वाँ… अरूअरू कुरा भए पनि यस्तो कुरा कहिल्यै भएको थिएन । जवाफमा मैले भने, ‘कहिले भाग्छ्यौं ? उहिल्यै भगाउँछु ।’ मैले ठट्टै सम्झिएँ । त्यो साँझ खासै लामो कुरा भएन । फोन राखेपछि मैले सम्झिएँ, साँच्चै सुबिकालाई भगाउनु नै पर्ने भयो त ! एक मनले भगाइदिउँ भन्ने लागे पनि अर्को मनले आँटेन । रात अघि बढ्यो म निदाएँ ।
त्यसकै भोलिपल्ट हो, ऊसँग भेट भएको, ऊ केही सरकारी कागजात बनाउन व्यस्त भएका बेला जम्का भेट भयो, ऊ अघिपछि भन्दा निःतान्त फरक देखिई । मैले जिस्क्याएँ, ‘भाग्ने कुरा गर्दैथ्यौ त, के हो विदेशै जान आट्यौ कि क्या हो ?’ जवाफमा ऊ बनावटी हाँसो देखाई । खासै कुरा भएन । त्यहीबेला उसले हातमा समातेको नागरिकता हेर्न भ्याएँ, लेखिएको थियो, ‘आराध्या बम्जन’ उसको बोलाउने र चल्तीको नाम पो सुबिका रहेछ, खास नामै थाहा नपाउने पहिलो मान्छे हुँजस्तो लाग्यो । यो भेटमा खासै कुरा भएन ।
साँझ डेरामा फकिएर मैले नै फोन गरेँ, तर सम्पर्क हुन सकेन । बिहानपख फोन गरेँ अफ थियो । म्यासेज लेखेँ, ‘सुबिकाबाट आराध्या भएपछि फोन पनि फेरियो कि क्या हो ?’
फेसबुक खोलेर म्यासेन्जरमा पनि म्यासेज छाड्ने तरखर गर्दै थिएँ, एकजना साथीको स्ट्याटससहितको फोटोेले म रन्थनिएँ, माथि लेखिएको थियो, ‘नयाँ जीवन सुरु गरेकोमा सुबिकालाई बधाई !’ तल थियो रातो टीका र माला लगाएको स्वयम्बरको तस्बिर ।
त्यही पछिल्लो भेट नै सायद अन्तिम भेट थियो । तिमी सुबिकाबाट आराध्या भएको दिन तिम्रो नाम फेरिएको दिन ।
ऊ अहिले कहाँ छे, के गर्छे र कसरी बसेकी छे ! थाहा छैन । तर पनि याद भने आइरहने, सम्झना छाइरहने । उसको वास्तविक नाम थाहा मात्रै पाएँ, त्यही नामले बोलाउन भने पाइनँ ।





