पोखरा, ९ बैशाख–
तल सेती सुसाउँछ । माथि केशवको मन । अनि, उनी गाउन थाल्छन्…
जूनै नदेखी, घामै नदेखी बितिगयो, अब मेरो जिन्दगी..
कति हेर्ने थिएँ, मैले घाम देखे जून देखे ।
कति रम्ने थिएँ होला, रंगीचङ्गी फूल देखे
खोलै नदेखी, मुलै नेभेटी बितिगयो अब मेरो जिन्दगी
…
उसो त केशवका एक/दुईवटा गीत पनि बजारमा आइसके । तर, केशव गायक हो भनेर कमैले चिन्छन् । केशव अर्थात्, केशव सुवेदी । जसलाई सेतो छडी टेकेर पोखराका स्टेज कार्यक्रममा कहिलेकाहिँ उँभिदै गरेको देख्न सकिन्छ ।
केशव जन्मदै दृश्टिविहीन होइनन् । पछि एक्कासी आँखाको ज्योती गुम्यो रे ! २०६७ मा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका केशवले सांगीतिक क्षेत्रमा भने त्यति अग्लो उचाइ हाँसिल गर्न सकेनन् । तर, अझैं पनि संगीत क्षेत्रबाट उनी टाढिएका छैनन् । निरन्तर संगीत साधनामा छन् । आफ्नो आवाज कुना कन्दरासम्म फैलाउन चाहने सुवेदीले मेहनत जारी राखेका छन् । ‘उद्देश्यअनुसार अहिलेसम्म उल्लेख्य सफलता हाँसिल हुन सकेन, मलाई त्यो थाहा छ, संगीत साधना हो, सफलता÷असफलता क्षणिक हुन्छ’ उनी भन्छन्, ‘तर, संगीत साधनालाई निरन्तर अघि बढाउनुपर्छ भन्ने मलाई थाहा छ, समयसँगै सफलता हासिल हुन्छ भन्नेमा म दृढ छु ।’
आफ्नो सांगीतिक क्षेत्रको आरोह–अवरोह सुनाउँदा केशव कहिले रोमाञ्चिल हुन्थे । कहिले निराश देखिन्थे । संगीतको लत उनमा यसरी बस्यो कि उनी हरहमेसा गीत गाइरहन्छन् । केशवको संगीतप्रतिको यो लगाव देखेर उनका ठूलोबुवाका छोराले विन्ध्यवासिनी संगीत प्रशिक्षण केन्द्रमा भर्ना गरिदिएका थिए । त्यहीँबाट उनले संगीतको पहिलो अक्षर चिने । उनको पहिलो गुरु थिए, भोलाप्रसाद राई । उनैबाट पहिलो पटक ‘सारेगम…’ सिके ।
केशवलाई राम्रो प्रतिभा कहीँ गए पनि फेल हुन्न भन्ने थाहा छ । त्यसैले त संगीतको निरनतर साधनामा छन् । प्रविधिले संगीत साधनाभन्दा हिट हुन् नयाँ पुस्ता दौडधूप गरेको देख्दा केशवलाई नमीठो लाग्छ । दुः ख गरेर अघि बढ्न खोज्ने पुस्ता यसरी छायाँमा पर्छन् थाहा छ । तैं, पनि गीत गाएको सुनेर कसैले तारिफ गरिदिँदा मख्ख पर्छन् ।
‘राम्रो गायौ भनेर तारिफ गर्दा एकदमै खुसी लाग्छ,’ मुसुक्क मुस्कुराउँदै केशवले भने, ‘संगीतमा केही गर्न सक्छु भन्ने हिम्मत त्यसरी नै आउँछ ।’
दिनभर पोखरामा हुने सांगीतिक कार्यक्रम खोजी हिँड्छन् । चिनजानका कोही भए प्रस्तुतिका लागि ठाउँ मिलाइदिन आग्रह गर्छन् । अवसर पाए प्रस्तुति दिइहाल्छन् । साँझ परेपछि दोहोरी साँझमा पनि गाउन पुग्छन् ।
बगरको शिखर दोहोरी साँझमा गीत गाएर आर्थिक जोहो गर्दै आएका उनी अहिले त खाली छन् । न कुनै कार्यक्रम छ । न दोहोर साँझ नै खुल्छ । दोहोरी साँझबाट मासिक ९ हजार रुपैयाँ आउँथ्यो । अहिले त त्यो बाटो पनि बन्द भएको छ । कहिलेकाहीँ माया गरेर ग्राहकले टिप्स पनि दिन्थे । अहिले सबै चिज ठप्प छ । ‘संगीतमा केही गर्न सक्छु भन्ने हिम्मत त्यसरी नै आउँछ,’ उनी भन्छन्, ‘हिम्मत भएर मात्रै के गर्ने ? अहिले त सबै ठप्प छ । जिविका चलाउँनै धौ धौ छ ।’ बुबा, आमा भाइ बहिनी गरि १३ जनाको परिवार लकडाउनले गर्दा मारमा परेको उनले सुनाए ।





