लेखक : सौरभ
पुस्तक : असङगति
सौरभ फरक धारका लेखक रहेछन् । नेपालको इतिहास, सभ्यता, सँस्कृति र हाम्रो चेतलाई फरक ढंगबाट बिश्लेषण गर्ने उनको शैली पनि फरक छ । नेपाल बारेको खोज, अध्ययन, विश्लेषणमा आफ्नो फरक मत वा असहमती रहेको सन्दर्भमा लेखिएको ‘असंङगति’ कृति उनको असहमतीको दोस्रो भाग हो । गहिरो अध्ययन पश्चात मात्र लेख्न अघि सर्ने सौरभ आफैमा सान्र्दभिक तथ्यहरुले भरिएको खदिलो कृति तयार गर्छन । हल्काफुल्का विषयहरुले बजार तताउने बर्तमान परिबेशमा सौरभको कृति पढिसक्न पनि त्यती सजिलो भने छैन । चाख र रुची भरपूर नभई उनको कृति पढ्ने धैर्यता पाठकलाई बिचैमा टुट्न पनि सक्छ । बिशेष पाठकको हकमा त यो लागु हुने कुरा भएन तर मैजस्ता पाठक भने बिचबिचमा धर्मराउन सक्छन् । फेरी पनि राष्ट्रियताले ओतप्रोत भएको पाठक भने पढ्दैजाँदा उनको फ्यान नभइकन रहन सक्दैन । यसरी नै पाठकलाई बाध्न सिपालु रहेछन् सौरभ ।
उनले नेपाल अध्ययनका क्रममा गरिएका त्रृटिहरु भन्दै तिनलाई सच्याउनको लागि कृति लेख्ने प्रयास गरेको भनेका छन् । लेखकले एक नयाँ शैलीको रुपमा कृतिभित्र विविध सन्दर्भ जोडेर पनि सन्दर्भसूचि राख्न आवश्यक देखेनन् जुन सायद उनको नयाँ प्रयोग नै होला । जसले गर्दा आमपाठकलाई उनका पुस्तकका सन्दर्भहरु खोज्न त्यती सजिलो छैन् । बिबिध सन्दर्भहरुलाई जोडेर र तुलना गरेर आफ्ना खरा तर्कमार्फत बागी मत जाहेर गरी स्थापित गर्न उनी सफल देखिन्छन् । आफ्नो कृति असङ्गतिमा बिबिध असंगत कुराहरुलाई लेखकले सप्रमाण पेश गरेका छन् ।
कुनैबेला उनी बारेको मिथक सुनिन्थ्यो रे केशमहलस्थित पुस्तकालयमा रहेका सबै कृतिहरु र तिनका केस्रा–केस्राको बारेमा जानकारी सौरभले राखेका छन् । उनका कृतिहरु पढ्दा लाग्छ त्यो मिथक होइन यथार्थ हो ? । उनीमा जानकारीको भण्डार यती गहिरो र गहकिलो रहेछ सोउपर म बबुरोले एकादुइ कृति पढेकै भरमा गरेको टिप्पणीले कतै लेखकलाई अन्याय त हुने होइन, म लेख्न बस्दा सोचिरहेछु । तथापी एक पाठकले आफ्ना आँखाबाट लेखकलाई जे जसरी बुझ्यो त्यो भन्न त मिल्ला नि भनि केहि लेख्ने दुस्साहस गरेको मात्र हो । थप मेरा लेखक उपरका बुझाईका कमजोरी भए क्षमा चाहन्छु । असङ्गति भित्रका विभिन्न प्रसङगहरुमा लेखकले पोखेका केही बिचारलाई हुबहु प्रस्तुत गर्ने अनुमति चाहन्छु । ति यस्ता छन् ।
‘रगतमै रहेको गणेश बन्ने संस्कृतिबाट माथि उठ्ने उपायको खोजी सबै मिलेर गर्नुपर्ने बेला भइसकेको छ । अतिशय ब्यक्तिपूजा गर्ने संस्कार वा अन्धभक्त प्रबृत्तिले नत नेतृत्व खारिन्छ नत देशले काँचुली फेर्दछ ।’
लेखक अगाडी लेख्छन्– ‘पूजा त नीति र बिधिको निरन्तरतालाई गर्नुपर्दछ तर नीति र बिधि निर्माण गर्दा चौडा छाती भएका, परिवेश बुझेका र ब्यक्ति, समुह, पार्टीभन्दा अलि माथी उठेर कार्य गर्नेहरुको समुह सहभागी भने हुनैपर्दछ । ब्यक्तिपूजाले सम्बन्धित परिवारलाई सुख र गौरव त अवश्य दिएहोला तर सिर्जनाशास्त्रको विधि र नीतिमाथि भने प्रहार गर्यो सोको हेक्का राख्दै अघि बढ्नु पर्दछ ।’
अर्को एक प्रसङ्गमा लेखक लेख्छन्– ‘एउटा परिवार जस्ले आफ्नो निकट होइन सुदूर विगतहरु जान्दैन वा त्यसवारे हेक्का राख्दैन त्यसले अन्ततः स्वतन्त्रताको रक्षा पनि गर्न सक्दैन । स्वतन्त्रता हतियार लिएर रक्षा गरिने विषय पनि होइन । हतियारकै बलमा मात्र लक्षित स्वतन्त्रताले अन्ततः ब्यक्तिगत स्वतन्त्रता कहिल्यै दिँदैन ।’ भन्दै ब्यक्तिगत स्वतन्त्रताका उपर खबरदारी गर्ने तरिका पेश गरेका छन् ।
हालको सूचना क्रान्तिको युगका सन्दर्भमा लेखक लेख्छन् । ‘आफ्नो इतिहासका सूचनाहरु नभएको समाज र कालखण्ड मुर्कट्टा हो । त्यसले वर्तमान र आगत दुबैलाई निरन्तर तर्साइरहन्छ ।’ र फेरी बि.पी. कोइरालाको भनाइलाई लेखकले सन्दर्भका रुपमा लिँदै जोड्छन् ‘अरुले हिडेको बाटो हिड्ने त सिपालु हो अर्थात् शिल्पी हो त्यो सर्जक होइन ।’ अतः देशका सुचनाहरुको सर्जक बन्ने हैसियत राख्नका लागि लेखकले सुझाव दिइरहेका छन् ।
एक फरक प्रसङ्गमा लेखक सौरभ लेख्छन्– ‘वि स २०६३ पछि आफ्नो बिगत र बर्तमानको दुःखालाप गाएर ठूलो सिर्जक दरिने होड्बाजी चलेको जस्तो देखिन्छ । यो मनोरोग हो ।’ त्यस्तै उनी थप अगाडी लेख्छन् ‘पढेरमात्र लेखिने कुरा होइन साहित्य भलै अभिब्यक्तिको शैली र समकालिन बिषयबस्तुको प्रकृति बुझ्न पढ्ने हो तर साहित्य कलात्मक चिन्तन नै हो ।’ भनि साहित्यका बारेमा आफ्नो स्पष्ट धारणा पेश गरेको भेटिन्छ ।
फेरी एक प्रसङ्गमा उनले लेखेका छन्– ‘पृथ्बीको अति जान्ने बुझ्ने मै हुँ मार्का फिरङ्गी, उपदेशक र तिनका मतियार यो देशलाई कुनै हालतमा आबश्यक छैन’ र ‘पश्चिमाप्रतिको हाम्रो आँखा चिम्लाई अज्ञानताले मात्र भएको होइन एक बिशुद्व दासताले पनि भएको हो । शिक्षाका, बिज्ञानका, अर्थशास्त्रका, भूगोलका, ब्यापारका, सुरक्षाका, कानुनका, इतिहासका, साहित्यका अर्थात् कुनैपनि बिषय र क्षेत्रका तथ्य तथ्यांकहरु बरु नेपालीलाई उपलब्ध नहोलान् बिदेशी मुलतः पश्चिमाहरुका लागि सजिलै र सहजै उपलब्ध छन् किनभने गोरा बाबुसाहेवहरुले कुनैदिन आफ्नो देशमा बोलाइदेलान, तालिमका नाममा भन्ने हरेक नेपाली बुद्दिजिबी ठुलो आशा राख्छन् ।’
उनको समग्र पुस्तक अध्ययन पश्चात कृतिको अन्त्यमा उल्लेख गरिएजस्तै जसरी बुझाइएको छ, त्यस्तो होइन –इतिहास ।
जसरी बुझिएको छ, त्यस्तो होइन –पहिचान ।
जसरी ब्याख्या गरिएको छ, त्यस्तो होइन –संस्कृति ।
जति सार्वभौम भन्छौ, त्यति गुलाम छ –राजनीति ।
जे ठानिएको छ, त्यो होइन –आवश्यकता ।
जसलाइ बौद्दिक मानिएको छ, त्यसमा छ –कुत्सित स्वार्थ ।
खोज्छौ स्वाधिनता तर पराधिन छ –प्रबृत्ति । यस्तै परस्पर बिरोधी तत्वहरुको चिरफार हो –असङ्गति ।
यस बाहेक लेखककै भाषामा विस्तृत विषयबस्तुको लागि त तपाइले कृति अध्ययन गर्नैपर्छ । उनको कृति सरसरी पढिसकेपछि मलाई लागेको र छोएको केहि कुरामात्र मैले यहा उल्लेख गरेको हुँ । अतः उनका बिबिध प्रसङ्गहरुका बारेमा असहमति तपाई हाम्रो हुँदैन भन्ने होइन । तर कृति अध्ययनका क्रममा तर्कमार्फत आफ्ना बिषय राख्ने सन्दर्भमा भने एक खरो रुपमा उनको उपस्थिति देखिन्छ । अध्ययनकै क्रममा कता–कता उनले भनेजस्तै इतिहास, पहिचान, संस्कृति, प्रवृति, आवश्यकता, लगायतका सबै कुरा फरक ढंगले मात्र बुझ्ने हो भने कसरी फेरी छिचोलिएला र अभ्यास गरिएला त्यसै–त्यसै अत्यास पनि लाग्छ । यसैगरी प्रत्येक क्षेत्रको निकास वा यथार्थ के होला यसतर्फ सोचाई केन्द्रित गर्दा पुरै नयाँ बिचारले मथिंगल हल्लाइदिने क्षमता राख्ने लेखक सौरभलाई फेरी फेरी पनि पढ्न पाइयोस् । हरेक इस्युहरुमा मत बझाँउनु भन्दा प्राथमिकतामा राखेर खास खास इस्युहरुलाई फरक ढंगले बुझाइयोस् बल्ल मैजस्तो कोरा पाठक दोधारमा नपर्लान आगे तपाइको मर्जी । धन्यवाद ।
मितिः २०७७।१।७





