आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

सिफारिस फिल्म : आत्मसम्मानमा ‘थप्पड’

सिफारिस फिल्म : आत्मसम्मानमा ‘थप्पड’


  • Dhorpatan News
  • बैशाख १० २०७७, बुधबार

विश्वभर फैलिएको कोरोना भाइरसका कारण डेढ लाखभन्दा बढी मानिसले ज्यान गुमाइसके। नेपाल ३० दिनदेखि लकडाउनमा छ। सबैजना घरभित्रै बसिरहेका छन्। धेरै दिनदेखि घरभित्र थुनिनुपर्दा उकुसमुकुस हुन थालेको छ। यो फुर्सदमा मनपर्ने पुस्तक पढांै, बच्चाहरूसँग धीत मरुन्जेल खेलांै, केही राम्रा फिल्म हेरौं। अहिलेको सन्दर्भमा अनुभव सिन्हाद्वारा निर्देशित बलिउड फिल्म थप्पड अनुकूल हुन सक्छ। श्रीमान्ले श्रीमतीलाई एक थप्पड लगाउनु, शारीरिक चोट मात्रै होइन। हेर्दा सामान्य देखिने यो विषयले महिलाको आत्मसम्मान मात्रै होइन कसरी सम्बन्धमा नै दरार ल्याउन सक्छ ? फिल्मले चित्रण गरेको छ।

विक्रमले अमृतामाथि एक थप्पड मात्रै लगाएको हो। यसमा सबाल नै किन गर्नु पर्‍यो। खुरुक्क सहेर बसे भइहाल्यो नि। लोग्ने—स्वास्नीको झगडा परालको आगो जस्तै त हो। महिलाले सहनुपर्छ, घर सम्हाल्नुपर्छ। यी र यस्तै अनगिन्ती विभेदपूर्ण भनाइ सुन्दै र भोग्दै आएका हौं।

हालै रिलिज भएको हिन्दी फिल्म ‘थप्पड’ ले यिनै विषय उठान गरेको छ। फिल्म सोसल सेन्टिमेन्टल सोसल ड्रामा हो। यसले महिला र पुरुषको सम्बन्ध आउने दरार गहकिलो तरिकाले उठान गरेको छ। सम्बन्ध धागो जस्तै हो चुँडिन कति बेर पनि लाग्दैन। जोगाउन सक्यो भने वर्षाैं न्यानो दिने स्विटर जस्तै फलदायी बन्न सक्छ। सम्बन्धमा आत्मसम्मान जरुरी छ। हामीले सानो भनेर बेवास्ता गरिदिएको विषयले कसरी भित्रैभित्रै सम्बन्ध ध्वस्त पारिदिन्छ ?   एकपटक टुटेको विश्वास, गुमेको माया जोडिन निकै गाह्रो हुने यथार्थ फिल्मले निकै सुक्ष्म तरिकाले विश्लेषण गरेको छ।

सानैदेखि कुशल गृहिणी बन्ने रहर बोकेकी अमृता घरकै काममा खुसी छे। बिहान उठेर सासूको सुगर चेक गर्नु, चिया बनाउनु श्रीमान्को टिफिन तयार पार्नु, ससुराको खाजा बनाउनु, घरको सरसफाइ गर्नु उनो दिनचर्या हो। श्रीमान्को राम्रो कमाइ होस् र लन्डन सिफ्ट हुन पाइयोस् भन्ने कामना गर्दै ऊ खुसी हुन खोजिरहेकी छ। उसको   श्रीमान् विक्रम रातदिन अफिसकै काममा व्यस्त छ। यही व्यस्तताको दैनिकीबाट फिल्मको सुरु हुन्छ।

जसले जे भन्यो खुरुखुरु मान्ने अमृता घरकै काममा तल्लीन छ। विक्रमले एक साँझ घरमा खबर नै नगरी एकाएक पार्टी राखिदिन्छ। अफिसियल पार्टी भएकाले उसको घरमा अफिसका स्टाफ, हाकिमलगायत आएका छन्। एकाएक पार्टीको माहोल बिग्रिन्छ। विक्रम र उसको पार्टनरबीच झगडा पर्छ। हात हालहालको स्थितिमा पुगेपछि अमृताले विक्रमलाई रोक्छे। मदिराले मात्तिएको विक्रमले अमृतालाई सबैको अगाडि बीचमा थप्पड हान्छ। अमृता आहत हुँदै भुइँमा पछारिन्छे। उसका माइतीपक्ष दुःखी हँुदै घर फर्कन्छन्। बिनागल्ती सबैको अगाडि थप्पड खाएकी अमृतामा मानसिक द्वन्द्व सुरु हुन्छ।

फिल्मको क्लाइमेक्स हो यो। मुख्य घटना पनि। अर्को दिन उसले केही नभएजस्तो गरी सामान्य व्यवहार खेखाउन खोज्छे तर सक्दिन्। विक्रमका परिवारले एक थप्पड त हो, सबाल नगर्न अमृतालाई आदेश दिन्छ। विक्रमको गल्ती बिर्सिेर घर सम्हाल्न सम्झाउँछन् तर ऊ पटक्कै सम्हालिन सक्दिन। ‘थप्पड हान्नु सामान्य कुरा थियो भने उसले नहान्न पनि सक्थ्यो, उसले किन हान्यो ? ’ यस्तै प्रश्नले उसलाई अशान्त बनाउँछ।

हिजोसम्म ठिक लागेको विक्रमको व्यवहारमा उसले कमजोरी देख्न थाली। अफिसका लागि रातदिन दौडिरहने विक्रमले आफूलाई बेवास्ता गरेको, घरमा कामदारको दर्जामा सीमित पारेको महसुस गर्न थाली। आफैंलाई सम्झाउँछे, तर उसले पहिलेजस्तै विक्रमलाई माया गर्न सक्दिन। थप्पड मात्रै होइन, उसले सुरु गरेको ममाथिको हिंसा हो। यातना हो। समाजले पुरुषमा निर्माण गरिदिएको हेपाहा प्रवृत्ति हो भन्ने बुझेपछि अमृता अशान्त बन्छे।

केही पनि नभएको सामान्य अवस्था जस्तै गरी विक्रम सुत्छ। सबैले विक्रमबारे मात्रै सोध्छन्। अमृतालाई सोध्ने र सान्त्वना दिने कोही हुँदैन। पीडाले भन्दा पनि ऊ आत्मसम्मान टुटेकोमा दुःखी छे। कुरा मायाको छ, आत्मसम्मानको छ। एक अर्काप्रतिको विश्वासको छ। ऊ घरमा बस्न सक्दिन। राति ट्याक्सी बोलाएर माइती फर्कन्छे।

अमृता माइत जानु, आमा र भाइले विक्रमलाई माफ गर्न सल्लाह दिनु, सम्बन्धविच्छेदका लागि वकिलकोमा जानु, वकिलले पनि सामान्य थप्पड त हो भनेर मुद्दा दर्ता नगर्न सल्लाह दिनु, सम्बन्धविच्छेदको मुद्दा दर्ता हुनु, विक्रमले जथाभावी आरोप लगाएर प्रतिउत्तर लेख्नु, अदालत र घरको चक्कर काट्दै अन्तिममा एकअर्कामा छुट्टिएको अवस्थामा फिल्म सकिन्छ।

सर्सर्ती हेर्दा फिल्मको कथावस्तु सामान्य लाग्छ। एक थप्पडकै लागि सम्बन्धविच्छेदसम्म पुर्‍याउनु निर्देशकको महŒवाकांक्षी निर्णय जस्तो लाग्छ। तर फिल्मभित्र धेरै विषयले ठाउँ पाएका छन्। हामीलाई सामान्य लाग्ने विषयले कति गहिरो प्रभाव पार्छ ?    कसैलाई हात उठाउनु भनेको ऊसँगको गहिरो सम्बन्ध सधैंभरिको लागि तोड्नु जस्तै हो। बाध्यतामै सँगै बस्न सकिएला तर पहिला जस्तो माया, सद्भाव र विश्वास पुनः जित्न सकिँदैन। सम्बन्धलाई सिसा जस्तै ठानेर टुटेपछि पुनः दुरुस्तै बनाउन नसक्ने यथार्थ समेटिएको छ। टालटुल गरेर जोड्न सकिएला तर कहिल्यै पनि टुटुेको चिज दुरुस्तै हुँदैन, यो यथार्थ फिल्मको केन्द्रबिन्दु हो।

फिल्ममा तापसी पन्नु मुख्य भूमिकामा छिन्। उनको अभिनयको तारिफ गर्न करै लाग्छ। निर्देशक सिन्हा कथा भन्न सफल देखिन्छन्। विक्रमको भूमिकामा पवेल गुलाटी छन्। दिया मिर्जा, अंकुर राठी, नैला ग्रेवाललगायतको अभिनयले फिल्मको सुन्दर पक्ष हो। विशेषत सामाजिक मुद्दामा फिल्म निर्माण गर्ने निर्देशक सिन्हा थप्पड फिल्ममार्फत प्रशस्तै शुभचिन्तक कमाउन सफल भए। समाजमा पछाडि पारिएको वर्गको विषय उनले फिल्ममार्फत उठाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->