बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आँखो

आँखो


  • शम्भु अर्याल
  • बैशाख १० २०७७, बुधबार

झ्याल देख्छु । जन्मेको जेलभन्दा ठुलो नेल केही लाग्दैन मलाई । म कति ठुलो ग्रन्थी होला मान्छेको लागि । खाली म ! म म ले कञ्चट तातिरहँदा ठ्याक्कै मरेकै सम्झन्छु । यतिबेला म घरभित्र नै छु । कोरोनाको सलहसित पुरै संसार पराजित छ । म सहाबहरूको म म ले आजित पर्छु र आँफैसँग स्पष्टिकरण माग्छु । म म हुन के गर्नुपर्छ हँ ?
आगोमा धुँवा हुन्छ । धुँवामा कार्बन । कार्बन भित्रको आर्जन कसले देखेको छ ? डोरी फुस्केपछिको जोरी ! महाभारतको भिष्म जस्तै लाग्छ मलाई ।
चिता, त्यहाँ सब हुन्छ । धुँवा, धुलो, रङ्ग, ढङ्ग, अङ्ग, अजङ्ग र सबै भङ्ग हुन्छ त्यहाँ । सबै छ चिम्लिनुको वेजोड झड्का । धड्कन, फड्कन, भड्कन, कड्कन, सट्कन, अड्कन सबै त्यहीँनेर छ । सुकरातको हेमलक छ । प्लेटोको स्वतन्त्र छ । मार्कशको निषेध छ । गान्धीमा प्लेटो छ । रूखमा हाँगा छ । फेदमा जरा छ । गह्रामा उर्वरता ! तनमा जे छ । मनमा के छ ?
फडकिनी, अड्किनी, गड्किनी, भड्किनी, सट्किनीको नि सिमाना हुन्छ नानीबाबुहरू हो ! यथार्थमा सिमाना नभएकै राम्रो । साँधमा सिमाना हुन्छ । काँधमा बिपना । बाँडफाँडमा विभाजन ।
आँत, साँध र काँधले सँधै बिपद र बिषादमा पार्छ मलाई । मान्छे न हो । हुरी बग्न सक्छ आँधी समुद्रतिर लम्किन्छ । कठै ! समुद्र उधोमुन्टो लाग्छ ।
मान्छे खुट्टाले हिँड्छ । चराचुरुङ्गी पखेटाले उड्छ । चौपाया चारखुट्टाले हिँड्छ त ! आँखोमा नानी हुन्छ । वरिपरि सानो हुन्छ । कति कालो हुन्छ रात र निमुखो जात ?
बाबू छोरा । पढ भन्दिन किनकी तिमीलाई अल्छी लाग्छ । अल्छी बल्छि हो । कुनैदिन तिमी आँफै महशुस गर्ने छौ । छोरी तिमीहरूलाई झर्राे लागेको बर्राे कुनैपनि बेला खस्न सक्छ । मुन्टो छोडेर भुन्टोलाइ ।
कहाँ जालास् मनुवा ? आखिर जमीन त टेक्नै पर्छ । देख्नै पर्छ सापट सेतो कागज र लैख्नै पर्छ हिमचुर्काको क्षितिजमुनि कालीगण्डकीको मुहान छ । ठिक माथि तारेभिर छ । भिरलाइ कत्रो पिर छ । माथि चुचुरो छ । चुरो कति अपुरो छ । अल्लि पर डेढ गाउँ छ । अझै पर पर कत्रो मैदान पो छ । मैदानपर समुद्र छ । सुर्याेदय र अस्त समुद्रको गर्भबाट पो हुन्छ । डेढ गाउँमा बुढा बा–आमा छन् । आँसु पुछ्न मझेत्रो त चाहिन्छ चाहिन्छ आखिर । घारमा मौरी बस्छ, हारमा जार हुन्छ, जीवन र अवकाश पछि अवसान हुन्छ । यतैकतै अस्तित्व खोज्नु । बस् सफल भयौ तिमी ।
आमा हजुर चुरापोते कि लाउँदै नलाउनुहोस लगाए जिन्दगीभर लागाउनुहोस । कसकसले फोरेका छन् हजुरका चुरा र पोते ? कसले लगाइदियो हजुरलाई सिँदुर ? अनि कसले खोसिदियो बलजफ्ती ? गोरेटो जस्तो कपालकोे डोरेटो कसले बनाएको हो ? कुरा पूरा हुन्छन् । शुरा हुरा हुन्छन् । टुङ्गो अपुरो हुन्छ । बुङ्गो सर्वाङ्ग हुन्छ । घाटको आहट र अलिकति साहस हुन्छ ।
धरतीको रङ्ग खोस्नेहरू पराजित हुन्छन् कुनै न कुनै दिन । रह नीलो हुन्छ । अफ्ठ्यारोमा पीडित हुन्छ । गह टिलपिल हुन्छ । तारा पिलपिल हुन्छ । रात कालो हुन्छ । रगत आलो हुन्छ । माकुराको जालो हुन्छ । वास्तविक सत्य उससमय हत्य हुन्छ, कालान्तरमा कटुसत्य हुन्छ । कुनै दिन फत्ते हुन्छ ।
अग्लो शरिर । ढोकाँ ठोक्किनी ! भोक लागेको बेलाँ भागै पोख्खिनी । माई भाइ आइजाइ केहीपनि राम्रो हुन सकेन समाजमा । रहरमा हुर्केको लहरोले पहरो समायो भने कति मजाले पो हुर्किन्छ झाल । लामो मान्छे धेरै बढ्नु पनि त कुखत रहेछ । उस बखतको उखत र आखत ।
बस चढ्यो घुँडै ठोक्किनी । होस पढ्यो मुढो ठोक्किनी । रस पस्यो लाईले चुसेको चोक्रो । कठैबरा बाहिरको बोक्रो !
गुहारी, बुहारी, उ हारी र मुहारी त आफ्नो हुनसकेन जुहारी कसरी हुन सक्छ ? निर्जीव सजिव हुनसक्छ त सजिव अजिब हुन सक्दैन ? संसारमा अब सब हुन सक्छ । रब हुन सक्छ तब भगवान पनि हुनसक्छ । जानअनजान सब हुनसक्छ भुगोलमा । मस्जिद, चर्च हुनसक्छ त मर्च पनि हुन सक्छ मान्छे गुगलमा ।
जब अति झिनामसिना कामकुरा । तौरतरिका । आनिबानी । नापतौल बिग्रिन्छ । अनिमात्र ढल्किन्छ बिरामी र खड्किन्छ सिरानी ।
यिनै सानासाना कुराहरूमा मैले दृष्टि खोजिरहन्छु । स्रष्टा र सृष्टि, द्रष्टा र दृष्टिले मलाई सँधै दोसाँधमा पार्छ । सतही, सत्य, झुठ र कटुसत्यको परिक्षाफल र नतिजामा सँधै अवतिर्ण हुन्छुु । लाग्छ यो जिन्दगीको सबैभन्दा जटिल इन्द्रजाल लाग्छ मलाई ।
आँखो !
म बिछडिएकै त हो । आँशुको लागि । आँसु, मासु अंश, कंश, आस, ल्हास, सिन्हो घिन्हो सबै अस्तित्व त हो । हस्याङफस्याङ किन ?
आँखोको अपवाद । विषाद मुलको लागि । अपवाद फूलको लागि ? महाभारतको मूलको लागि ।
फुटिराख प्रत्येक खोल्सामा मुल । बनिराख अफ्ट्यारोको पुल । बथान हुलमा हुन्छ । तागत मूलमा हुन्छ । चट्टान नै किन नहोस् । अफ्ट्यारो मै फुटि छाड्छ मुल । बगिछाड्छ पानी र छङ्छङाइ छाड्छ पहरोमा छहरो र लहाराइ छाड्छ लहरो । सजिलोमा उम्रन्छ अफ्ठ्यारोमा झ्याङ्गिन्छ । यो प्रकृति हो । हो मान्छेको प्रवृत्ति जो यस्तै प्रक्रियामा रह्यो त्यो सिङ्गै आकासमा सुर्यको सौर्य बनिदिन्छ । अधुनातन हेराइ आँखो सबको हुन्छ । नानी रबकोे हुन्छ । क्या गजबको हुन्छ । काए, डाङ्ग्रे, भाङ्ग्रे आस्रे भार्सेको नि हुन्छ आँखा । कोईली ढुकुर कुकुरको नि हुन्छ भाका र मान्छेको भाषा बिचको मतान्तर । अन्तरकुन्तरमा नानी हुन्छ । आकाश देख्ने बानी हुन्छ । दिन र रात हुन्छ ।
यतै कतै म देख्छु । तिमी के देख्छौ मलाई थाहा छैन । तिमी र म को अन्तर । म नजरले देख्छु, नजरले छाम्छु, नजरले सुन्छु । जति अगाडि हिँड्छु उति पछाडि फर्कन्छु । हिँडेका बाटाहरूका गल्छेंडा र गल्छी कति अल्छी छ भन्न आँखो चाहिन्छ । आँखो अगाडि हुन्छ । नानी पछाडि । आँखो पर्दा हो । सेतो सर्दा हो । कालो मर्दा हो । जिन्दगी रहर हो । कुहिरो कहर हो । देख्नु जहर हो । दृष्टि हरप्रहर हो । लालीगुराँस फूल हो । पारिजात गन्ध हो । पाती के हो ? अत्तरको गन्ध हो ।
भेदले गम्भीर हुन्छु । मतान्तरले निकै द्विविधामा पर्छु जहिले पनि म । मर्दा कालै हुन्छु । कालोले हेर्छु । कालै देख्नेहरूको दिब्य सफलता र कालमहिमाले मलाई आस्चर्यचकित पार्छ ? जन मिल्टन र उनको अन हिज ब्लाइन्डनेस कवितामा निकै घोरिन्छु । आहो ! देख्नुको दिब्य अन्तर्दृष्टि । अन्तर्चक्षु र चर्मचक्षु बिचको अन्तर । कर्मको सम्मोहनले उर्जाशिल बन्छु । आँखै गुमाएर पनि यत्तिकै मान्छे बनेका होईनन् । जाबो आँखो पाखै त हो । पखेरो भयानक हो । हेरीराख्नु । बाबा बाबै हो । हावा कावै हो । चरी कति खान्छस कावा स्वच्छन्द ।
जीवन काँढा कि फूल ? झमक त्यसै झमक बनेकी होइनन् । हाम्रै वरीपरिको अकल्पनीय सत्य । संसारमा दृष्टिले नै दिब्य बन्ने त हुन् मान्छेहरू । सबै आँखो दृष्टि होइन, सबै दृष्टि आँखो होइन । सबै काम कर्म हौइनन् । सबै कर्म धर्म होइन । केही मर्महरू हुन्छन् । देख्न सक्नेहरू ब्रह्माण्ड देखिदिन्छन् । नसक्नेले आँखो देखिरहेको हुन्छ । किन विश्वस्त हुन सकिरहेको छैन म यो आँखोसँग ?
लेखक अर्याल वालिङ नगरपालिका–६ मिर्दी स्याङ्जा निवासी हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->