स्याङ्जा, १५ बैशाख– वालिङ नगरपालिका–१४ स्थायी घर भएका युवा ब्यवसायी भीम प्रसाद लुईटेलले २०७१ सालदेखि सुरु गरेको इन्द्रेणी बंगुर फार्ममा अहिले करिब ढाई करोडको लगानी पुगेको छ । नेपाली सेनाको जागिर छाडेर बैदेशिक रोजगारीको शिलशिलामा दुबै पुगेका लुईटेल केही वर्षको बिदेश बसाइलाई बिट मार्दै स्वदेशमै केही गरौ भनी बंगुरपालन ब्यावसायमा लागेका थिए ।
ब्यवसाय सुरु गरेको छोटो अवधिमै उदाहरणीय बनेका लुईटेल यतिबेला भने चिन्तित बनेका छन् । उनको फार्ममा यतिबेला ३ सय माउ बंगुर र ३ सय ३५ पाठापाठी छन् । बंगुरले पाठापाठी जन्माइरहने र पाठापाठी धेरै हुँदा सिमित खोरमा राख्नु पर्दा मिच्चिएर मर्ने, भिटामिन, औषधी, दाना लगायतको ब्यवस्थापन गर्न समस्या परेको लुईटेलको भनाई छ । लकडाउनका कारण यो सबै समस्या निम्तिएको लुईटेल बताउँछन् ।
लकडाउनका कारण बंगुरका पाठापाठी बिक्री नहुँदा यतिबेला लुईटेल समस्यामा परेका छन् । लुईटेलले भने– ‘मासिक एकसय पचासभन्दा बढि पाठापाठी बिक्री हुन्थ्यो तर अहिले खोरमा बढी पाठापाठी हुँदा दैनिक तीन÷चार वटा मर्ने स्थिती छ ।’ पाठापाठी बिक्री नहुँदा बंगुरलाई दान खुवाउनसमेत समस्या भएको लुईटेलको भनाई छ । नगरपालिकामा आफ्नो समस्याबारे कुरा राख्दा समाधानको लागि पहल गर्ने आश्वासन पाएपनि अहिलेसम्म केही नगरेको लुईटेल बताउँछन् । 
विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम र संक्रमणबाट बच्न सरकारले लकडाउन घोषणा गरेपछि बंगुरपालन ब्यवसायी समस्यामा परेका छन् । वालिङ नगरपालिका–१२ फौदीखोलामा शुभ बिहानी बंगुरपालन फार्मका सञ्चालक डम्मरबहादुर गुरुङ लकडाउनले बंगुरका पाठापाठी बिक्री नहुँदा समस्या भएको बताउँछन् । आठ लाखको लागतमा बंगुरपालन ब्यवसाय गर्दै आएका गुरुङले पाठापाठी बिक्री नहुँदा दाना किन्नसमेत समस्या भएको गुनासो गरे । गुरुङले भने– ‘पाठापाठी बेच्न पाएको छैन, लकडाउन हुनुभन्दा पहिले पाठापाठीको माग बढि रहेपनि अहिले कोही ग्राहक नआउँदा समस्या परेको छ ।’ एक पाठापाठीलाई ५ हजारदेखि ५५ सय रुपैयाँ सम्ममा बेच्ने गरेका भएपनि अहिले बेच्ने तयार ७० वटा पाठापाठी खोरै रहेको गुरुङले बताए ।
वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले बंगुरपालक ब्यवसायीहरुको समस्या समाधानको लागि आफुहरुले कास्की जिल्लासंग समन्वय गरेपनि अहिलेको अवस्थामा बंगुरका पाठापाठी कसैले लैजान नचाहेकोले समस्या भएको बताए । नगरप्रमुख खाँणले भने– ‘पहिलेदेखि नै इन्द्रेणी बंगुर फार्मले जिल्ला बाहिर बेच्दै आएकोले अहिले जिल्ला बाहिरबाट माग नआएकोेले समस्या भएको छ, तर आवश्यक दानाको लागि भने सहजिकरण गर्ने विषयमा कुरा चलिरहेको छ ।’
गुरुङ र लुईटेल जस्तै जिल्लाका अन्य ब्यवसायीहरु समेत लकडाउनले गर्दा ब्यवसाय धान्न नसक्ने अवस्थापा पुगेका छन् । पशुपालन ब्यावसायलाई आफ्नो मुख्य ब्यवसाय बनाउँदै आएका किसानहरु लकडाउनका कारण समस्यामा परेका छन् ।




