पात्र गौण र यात्रा कठिन सत्य लाग्छ जिन्दगीमा मलाई । शिर्षक नै काफी छ । भिरको बाटो, पिरको समकक्षी र मैदानको सहज यात्रा बिचको फरक । सरला जोशी भन्दापनि यात्राको तस्विर बोलिरहेको छ । दुईपाइला त हो जीवन । जब बलिरहेको अग्राख खरानी बनिदिन इन्कार गरिदिन्छ । राप, ताप बनिदिन्छ । अरूलाई जलाउन पहिला स्वयं खुब दन्कनुपर्छ । निभ्ने बेलामा कोयलाको पखेटाको आर्तनादजस्तै लागिरहेको छ, वृद्धाश्रमको यात्रा मलाई । फिलिङ्गो छ ! पुरिएको । भर्खरको धपधप अलप हुन कति समय नै पर्खिनु पर्छ र ?
कवि भुपिनले लेखेको जीवनको ट्याटुमा कविताको यो भोको ढुकुर कति नै ङ्वारङ्वार पो गर्न सम्छ र ? कहाँ कविताको किरो घुन, कविताको सरीता, पुञ्ज र कहाँ छाहरीमा सुस्ताईरहेको बटुवा ।
आखिर म पनि त त्यस्तै निर्दयी लक्का जवान त हुँ । के नै लछारपाटो लगाउन सकेको छु र ? खाडिका नुनिला पसिनाले जुराप भिजेर कापमा एकुवाको विकार होस् या अमेरिकाको चिल्लो कारमा घुँइकिएर त्यस्तो होइन यस्तो हुनुपर्छ भन्ने जुवान नै त हुँ म पनि । अछुतो हुन खोजेको पटक्कै होइन । त्यही बलेसीको छिर्का हुँ म पनि । देश छोडेर परदेशमा मर्नसक्ने र बाँचुञ्जेल सिमाना पार गरेर आफ्नै पुर्पुरो ठोक्ने भाग्यसाली जडित संस्कार न हो मेरो नामपनि ।
हा ! क्यार्न भारी बोक्नु पर्याछ ? जुठो चुलोचम्को, गोबर, घाँस, दाउरा, रनबन, मेलापातले खडेरीको पटपटति फुटेको हिलोजस्तै वृद्ध हातहरूको चोथाले त हुँ म पनि । काख छोडेर पाखको हुकुमी नेतो नै लागिरहन्छ स्वयं आँफूलाई । म पनि गला रेटिरहेको त छु मेरी आमालाई ।
बाहिर पानी परिरहेको छ । नजर वृद्धाआश्रमको यात्रामा नामको सर्वनामले मलाई निकै द्विविधामा पारिरहेको छ । मन, मस्तिष्क, चाल, नाल, र ढाल एउटै भएरपनि विभेदको सिमानाले मलाई सँधै पिरोलिरहन्छ । यदि सबैलाई पिरल्दो हो त किन हुँदो हो विभाजन ?
आजको वर्तमान समयमा महिलाले आफ्नो अधिकारको लागि आन्दोलन गर्नुभन्दा पनि अधिकारको प्रयोग र उपयोग गर्नुपर्ने समयको प्रारम्भमा छौं हामीहरू ।
राज्य र राष्ट्रबाट हाम्रो समाजले अधिकार प्राप्त गरिसकेको छ । तर अधिकार कानुनका ठेलीमा मात्र भएर नहुँदोरहेछ । यसलाई ब्यवहारमा उतार्नु निकै चुनौतीपुर्ण हुँदोरहेछ । महिला, पुरुष, बा, आमा, अभिभावक, समाजसेवी, राजनितिज्ञ, गुरु, विद्यार्थी र मित्र । सम्पूर्ण समाजमा कर्तव्यबोधको पनि उत्तिकै जिम्मेवारी हुनुपर्दाेरहेछ । महिला र पुरुषबिच वर्तमान समयमा सृजित समस्या र विभेद, अधिकार र कर्तव्यको उचित ज्ञान हुननसक्दा आज समाजमा जन्मिएको समस्या लागिरहेको छ मलाई ।
पुस्तकको पहिलो कविताको शिर्षक नै ‘महिला हिंसा’ रहेको छ । जसमा कवयित्रीको आसय छ : महिला हिंसाको सुरूवात नै त्यहीँबाट सुरु हुन्छ । महिलाको भु्रण बिजारोपण हुन्छ र पहिचान गरी जर्बजस्ती तुहाउन बाध्य पारिन्छ । त्यसपछिका उसका हरेक दिनचर्याहरूमा उसको आफ्नै पहिचानको भन्दा विभेदको संस्कारले प्रशिक्षित छन् नारीहरू । जन्मेको कुल आफ्नो वंश हुँदैन । लज्जा उसको गहना ! इज्जत उसको सर्वस्व, संस्कार उसको पहिचान, आवाज उसको चोथाले ! बिजारोपणदेखि छाउपडी र स्वयंवरदेखि जन्मसम्म, हरेक पाइलामा हिंसैहिंसा सहन बाध्य छन् नारीहरू ।
सरला जोशीका कवितामा वृद्धावस्थाका मनोसम्वाद छन् । पट्पट्ति फुटेका कुर्कुचाका मयलहरूले तिम्रो स्निग्ध सवारीमा धुलो खस्छ । फोहर फरियाको मैलो सर्नुभन्दा रिक्साबाटै वृद्धाश्रम पुग्ने चाहना राख्दछिन् बुढी आमा :
बाबू !
तिमीलाई भन्दा मलाई
आज झन् हतार भएको छ छोरा
वृद्धाश्रम जानका लागि
आफ्ना छोराबुहारीको खुशीको लागि सके अन्तिम क्षण छोराको हातको पानी र दागबत्तीको कामना गर्छिन् त्यो पनि संभव नभए समवेदना स्वरूपको आधुनिक तस्बिरमा पनि आँफु खुशीनै रहने वृद्ध आमाको पुकारले स्तब्ध हुन्छु ।
कवितामा बालशुलभ चपलता छन् । बेटरी खोलाको बच्पनामा पौडि खेलेका, जुनेली रातमा माटोमा माटोका घर बनाएका खेलहरू, बाल गीतको गुनगुनाहट र नाच, स्कुलका खेलमैदानमा पुतलीको खेल । जन्ति, बाजा, बाराति, रोनधोना, नाटक, दशैको लट्ठेपिङ, डोरी, खुट्ट र गुच्चा, खेलहरूले बालपन सम्झिएर निकै नोस्टाल्जिक बन्छु ।
कविता पढ्दै जाँदा उमेरअनुसार परिवर्तन हुँदै जाने मनोविज्ञान र बिचारहरू छन् कवितामा । बयस्क अवस्थामा ढुङ्गामा खोप्दै आफ्नो प्रेम र प्रेमिकालाई अजरामर बनाउने फक्रिँदो यौवनावस्थाका प्रेमिल हुटहुटीहरू, विवाहको लगनगाँठो र सिन्दुर, गृहप्रवेश, प्रसवपीडा र बच्चाबच्ची हुर्काउनुको संघर्ष यसरी आएका छन् जसरी घोटिदिन्छ पानीले ढुङ्गो ।
बिहानदेखि बेलुकासम्म परिवारको खातिर काममा रगडिँदा रगडिँदा । बुढाबुढी एकापसमा बात गर्नसम्म नभ्याउने, औषधिको भरमा बाँच्नुपर्ने । बच्पन, यौवन, बैंश, बल, साहस र हिम्मत नै क्षीण बनेर पुनः उही वृद्धावस्थामा प्रवेश गरिरहेको अन्तिम सत्य । बृद्धवस्थाको कटुसत्यलाई उजागर गर्न कविता सत्य बोलिरहेको छ । हिँज त्यही थियो । आज फरक छैन । भोलिपनि त्यही हुनेछ ।
किस्ताकिस्तामा बाँडेर खुशी
सन्तानका सुखका खातिर
अर्पण गरेर जिन्दगी
आज बुढो पहाडजस्तै
जिङिङ्ग परेर ढसमस्स बसिरहेछौँ !
पानाहरू जति पल्टाउदै गयो, पाठक झनै पग्लिदै जान्छ । आलापबिलापले मन खिन्न हुन्छ । परनिर्भर अस्तित्व जब जीवनकै निर्भरताको वियोगमा खोसिएका श्रृङ्गार र रङ्गले विरूप बयस्क अवस्थामा लोग्ने गुमाएर एकल बनेकी नारीको हीन, दीन, अभाव र अफ्ठ्याराहरूलाई गमलाको फूलझैँ बाँचिरहेको जीवन, भिरफूल भएर बाँच्नुको अभ्यस्तताको कठोर चित्रण कवितामा दुरूस्तै आएको छ ।
कलाले पेट पाल्न गाह्रो भैरहेको । घरपरिवारलाई समेत समय नदिएर रातदिन अहोरात्र खटेरपनि उचित सम्वोधन हुन नसक्दा दुरूह बन्दै गइरहेको कलाकारको यथार्थलाई कविताले सम्बोधन गरेको छ ।
माया र प्रेमको नाममा नौटङ्क्की गर्दै प्रवासको कोठीमा बेचिएका नारीहरूको कथा हो यो संग्रह । परदेशिएको श्रीमानले ह्विस्कीको मातमा परिवार नै भुलेर कोठी छिरिरहेपनि श्रीमानको नाउँमा चेलीहरू चोली टालेरै भएपनि आँगमनको पर्खाइमा बस्ने अख्खा गाउँले चेलीबेटीहरूको कथा हो । वृद्धाश्रमको यात्रा ।
ब्यभिचारी घरबेटी साहुहरूको कुनैपनि बेला विस्थापनको संत्रासमा भाडामा बस्नुपरेको संपूर्ण परिवारहरूको लाचार बिवशता हो यो कविता सङ्ग्रह । तम्सुकमा अँगुठा छाप लगाएर ऋणको भारी बोक्दै मुग्लान पसेर साम असुल्न नसकीरहेका, खाडीमा पिल्सिने नौजवानहरूको गर्मीको कथा हुन यी कविताहरू । युवकहरू सबै विदेशिदा चार्डबाडहरू खल्लो हुन पुगेकोले न त दशै दशैजस्तो छ न त मृत्युमा उठाउने काँध छ । वर्तमान समयको हाम्रो देशको यथार्थ सत्यको सम्बोधनले विरक्त हुन्छु ।
परिवर्तनका नाममा जतिनै क्रान्ति भएपनि जुनसुकै सिद्धान्त लिएर सत्तामा पुगेपनि लोकतन्त्र आम मान्छेहरूको साझा बन्न नसक्नुको बिडम्बनाले कवयित्री पनि निराश देखिन्छिन् । प्राकृतिक बिपत्तिमा मान्छेमा उत्पन्न हुने कहाली र त्रास, बालबच्चाहरूमा उत्पन्न हुने निराशा, पछिल्लो समय महाबिनाशकारी भुकम्पको तस्वीर छ पुस्तकभित्र । हरेक कवितामा सरला जोशी माया, प्रेम, सद्भाव र समताको पक्षमा छन् । घृणा, तिरस्कार र युद्ध किंचित मानव हितमा हुन सक्दैन । यो मनुष्यमात्रको होइन संपूर्ण जगत विभिषिका र ध्वंसको सङ्केत हो भन्छिन् । चाहे त्यो हतियारको होस् या बिचारको ।
सिक्किम र दार्जिलिङले जस्ताको तस्तै जोगाईरहेको नेपाली पन । नेपालका कञ्चन झरना, खोला र नदीको सुन्दरतामा केही आफ्नै सन्तानका कुकर्मले आमाको शान्ति र कान्ति हराउनुमा कवयित्री खेद प्रकट गर्दछिन् । ह्रास हुँदै गइरहेको कुटिल मान्छेहरूको इमान, निष्ठा र इमानदारिताले मान्छे मान्छेसँगै विश्वस्त हुन नसकिरहेको र एक्लै भेट हुनपनि भय र डरको संत्रास रहेको छ ।
अधिकांश कवितामा समसामयिक युगको मान्छेको यथार्थ भोगाईहरू छन् । गरिबीको पराकाष्ठाले सृजित समस्याहरू छन् । खाडीका सुनौला सपनाहरूमा अवसान बन्द राता बाकसहरू हाम्रो अहिलेको जल्दोबल्दो समस्या हो । कविता बोलिरहेको छ ।
फ्रान्सेली महिलावादी लेखक सिमोन दि बिभोरजस्तै सरला जोशी पुरूष प्रधान समाजमा महिलामाथि हुने शारीरिक, मानसिक र यौनिक विभेदको आवाज बुलन्द गर्दछिन् । समाजले महिलालाई कमजोर, अधिनस्थ, दोस्रो दर्जा र पुरूषहरू मात्रै सक्षम देख्ने भेदभावमा उनी आफ्नो आवाज उठाउँछिन् । यसो गर्दैगर्दा एकअर्काको समान अस्तित्वलाई उनी भुलेकी छैनन् । अधिकारको आवाज उठाउँदै गर्दा कर्तव्यबाट उनी कत्ति पनि चुकेकी छैनन् । उनी भन्छिन् नारी र पुरूष दुवैको अस्तित्व छ र त संसार छ । उनी बिचलित हुन सकिनन् कवितामा । विचारमा, स्वयं आँफुमा र समग्र मष्तिस्कमा उनी समतापको आकांक्षा राख्दछिन् ।
आज हाम्रो समाजमा अधिकारको नाममा कर्तव्य नै बिर्सिदिँदा नारीपुरूषको सम्बन्ध नै बिग्रिन पुगेको घटनालाई पनि उनी स्विकार्छिन् । अनावश्यक पुरूषलाई मात्र दोस ठहर्याएर अधिकारको दुरुपयोग भएकोमा उनी क्षुब्ध हुन्छिन् ।
चितवन साहित्य परिषद, नारायणगढ, प्रकाशक रहेको यो कविता सङ्ग्रह पढिरहँदा यसभित्र रहेको महाभुकम्प र पराकम्पनको जुन प्राकृतिक माहाबिपत्तिको चित्रणजस्तै अहिले हामी कोभिड–१९, कोरोनाको जैविक आतङ्ले आतङ्कित छौ । यो पनि आमाको काखमा मनुष्यहरूले उद्धण्ड करतुतको परिणाम नै लागिरहेको छ । धरतीमै हुन्छ विष, धरतीमै हुन्छ अमृत । आमा ! छिट्टै हामीलाई अमृत दिनुहोस् । हामी एकआपसमा, प्रेम, ममता र समतामय जीवन बाँच्न चाहन्छौं । भुलचुक भए तपाई आफै त सन्तुलित गरिदिनुहुन्छ । बस् हामी बाँच्न चाहन्छौं !
(लेखक अर्याल वालिङ–६ मिर्दी, स्याङ्जा निवासी हुन् ।)





