स्याङ्जा, २३ बैशाख– गल्याङ नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन राहत कोषमा विभिन्न पेशाकर्मी, संघसंस्था, आमा समुहलगायत स्थानीयले सहयोग गरेका छन् । राहत कोषमा नगद रकमका साथै जिन्सी सामग्री दिनेहरुको संख्या दिनहुँ बढ्दै गएको छ । नगरपालिकाको कोषमा गल्याङ नगरपालिका–११ मा रहेको हुलाक आधारभूत विद्यालयकी प्रधानाध्यापक भेमला बरालले व्यक्तिगत रुपमा २१ हजार एक सय रुपैयाँ सहयोग गरेकी छन् ।
यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा नम्बर ९ ले ३० हजार सहयोग रकम हस्तान्तरण गरेको छ । वडा कमिटि अध्यक्ष निम प्रसाद खनाललगायत नेकपाका नेता तथा कार्यकर्ता नगरपालिकामा पुगेर सो रकम सहयोग गरेका हुन् । यसैबीच, कोषमा गल्याङ उद्योग वाणिज्य संघले ४० बोरा चामल सहयोग गरेको छ । यस्तै, आँधीखोला लघुवित्त वित्तीय संस्था लि.को तर्फबाट १० हजार, वडा नम्बर २ मा रहेको सिर्जना आमा समूह रिपको तर्फबाट ११ हजार एक सय ११ कोषमा सहयोग प्राप्त भएको छ ।
यसैगरी, वडा नम्बर २ मा रहेको दिप ज्योति आमा समूहले रु. १५ हजार पाँच सय ५५ कोषमा सहयोग गरेको नगरपालिकाले जनाएको छ । सोही वडाकै कालीगण्डकी आमा समूहको तर्फबाट ७ हजार रुपैयाँ तथा गराङदी भञ्ज्याङ आमा समूहको तर्फबाट रु. ७ हजार सहयोग प्राप्त भएको गनपाले जानकारी दिएको छ । राहत कोषका लागि गल्याङ नगरपालिका २ मा रहेको शिवालय आमा समूह गुठीले १० हजार रुपैयाँ सहयोग गरेको छ ।
विभिन्न संघसंस्थाले हस्तान्तरण गरेको सहयोग रकम ग्रहण गर्दै नगरप्रमुख भुपराज अधिकारीले विपत्को बेलामा गरिएको सहयोग निकै महत्वपूर्ण रहेको र यसको सहि सदुपयोग गर्ने बताए । नगरप्रमुख अधिकारीले क्वारेन्टाइनमा राखिएकाहरुको व्यवस्थापन र उद्दार गर्ने कार्यमा नगरपालिकाले कुनै कमी हुन नदिने बताउँदै सबैलाई सचेत हुनसमेत आग्रह गरेका छन् । उनले सचेत भएर लकडाउनको पुर्णरुपमा पालना गरिदिन नगरपालिकाबासीमा अनुरोधसमेत गरेका छन् ।




