`

कथा : स्वतन्त्र आस्था


  • सञ्जु अधिकारी
  • शनिबार, जेष्ठ ३, २०७७

शनिबारको दिन, बिहान ८ बजेको घडीको अलार्म १० पटक बजेर बन्द भइसक्यो, तैपनि आँखा छोपेर मस्त निदाइराख्नुको अलौकिक आनन्द लिँदै थिएँ । त्यत्तिकैमा मुमाहजुर कफी लिएर मलाई उठाउन आउनुभयो । झ्यालका पर्दा खोल्दै, सिरक हटाउँदै कफी टेबलमा राख्नुभयो ।

“नुहाऊ छिटो ! सङ्कटा महाँकाल जाने हैन ? अस्तिको शनिबार पशुपति जाँदा ढिला गरेर ११ बजेको घाममा सेकिनुपर्‍यो । आज नि त्यस्तै होला ! छिटो तयार होऊ ! फेरि ढिला भयो भने मन्दिरको ढोका पनि बन्द हुन्छ । ज्योतिषीले जसरी पनि शनिवार सङ्कटा महाँकाल दर्शन गराउनु भनेको कत्ति भइसक्यो । कहिले जुठो सुत्केरो, कहिले महिनावारी । अनि बल्ल सबै मिलेको बेलामा उठ्ने नै हैन ।”
म आँखा माड्दै उठ्दै थिएँ । उहाँको गुनासो बग्दै थियो । “सानैदेखि छात्रावासमा राखेर पढाएर यसको सबै बानी बिग्रियो । शनिबार त बिहानै उठ्नु, पिपलमा पानी चढाउनु ! केही छैन ! हरेक शुक्रबार रातिको २–३ बजे घर आयो, अनि आधा दिनसम्म सुत्यो । राति २ बजे घर आउँदा त कमसेकम बाबा, काकालार्ई बोलाउनु नि ! आफैं गाडी हाँकेर आउने ! डर पनि कस्तो नलागेको भन्या !”

म हाँस्दै, मुमाको गाला सुम्सुम्याइदिएर नुहाउन छिरेँ । आफ्नो जमानामा पनि माध्यमिक तहसम्म पढेर महिला विकासमा सरकारी जागिर खाएकी मेरी हजुरआमाको सोचाइ अधिकांश ज्येष्ठ महिलाको भन्दा फराकिलो थियो । मनभित्र भने कता कता मेरी नातिनीहरू धार्मिक होऊन्, अनि समाजले उत्कृष्ट दर्जामा गन्ने बुहारी बन्न सकून् भन्ने आश पनि भरपूर थियो ।

छिटोछिटो तयार भएर म पनि निस्किने भएँ । मन्दिर जान बाबाआमा सबै तयार थिए । महाँकालमा बाँड्नलार्ई पकाइएको खीर पुरी पनि तयार भइसकेको थियो । हजुरबुवाकै पालादेखि हाम्रो परिवारका लागि शनिबार व्यस्त दिन हो । एउटा शनिबार गुह्येश्वरी, पशुपति मन्दिर जाने, अनि अर्कोमा भद्रकाली, सङ्कटा, महाँकाल । यो नियममा कहिल्यै विचारविमर्श नै भएन । कहिले रोकावट पनि आएन । सुत्केरी–जुठो पर्दा, रजस्वला र परीक्षाको समयबाहेक हामीले कुनै शनिबार छुटाएनौं ।

घरबाट निस्कँदै थिएँ । मूलचोकमै मिल्ने साथी नेहा भेट भयो । हामी एकै साल जन्मिएका, सँगसँगै हुर्किएका अनि पढेका । २७ वर्षको उमेरमा म पढाइ, जागिर, साथीभाइसँग अल्झिँदै बालापनमै रमाउँदै थिएँ । उनी भने दुर्ई छोरीकी आमा भएर जिम्मेवारीमा हराइसकेकी थिइन् । आफूले लगाउने मोजासमेत अरूले सम्हालिदिनुपर्ने म पनि नेपाली नारी, परिवारका लागि आफंँलार्ई बिर्सिएर बाँचेकी उनी पनि नेपाली नारी ।
मुस्कुराउँदै सोधेँ, “आरामै छ मैयाँ ? मज्जाले मोटाएकी छौ त !”

मलिन हाँसोमा उत्तर आयो, “फेरि जीउ भारी छ । सानी छोरी भर्खर १४ महिनाकी भई, कसरी सबै मिलाउने थाहा छैन ! सबैजना यसपालि त एनोमेली स्क्यान गर्दा जेन्डर हेरेर मात्र अगाडि बढ्ने भन्छन् । के के हुने हो ? डरले मर्नमात्र बाँकी छ ! पहिलेका दुईटै बच्चा शल्यक्रिया गरेरै जन्माएको ! अझै कति दुःख पाउनुपर्ने हो ! शरीर हो कि मेसिन, कसैले बुझ्दैन !”

हामी बाटोमै गफियौं । आँसु भरिएका उनका आँखाले आशा खोज्दै थिए । गुम्सिएको उनको छातीले निस्फिक्री स्वास फेर्न खोज्दै थियो ।

म अडिएँ । अनि सुम्सुमाएर भनेँ, “तिम्रो जिन्दगी, तिम्रो कोख, तिमीले नै निर्णय लिनुपर्र्छ । श्रीमान्सँग खुलेर कुरा गर न ! जिन्दगी अमूल्य छ, भरपूर जिउने आफैंले हो ! अनि अहिले कता जाँदै ?” उनको कुर्तामा लगाइएको ‘ऊँ शान्ति’ ब्याच हेर्दै मैले सोधेँ ।

उनले भनिन्, “आश्रम जान लागेको ! धादिङमा जान पाउँदिनँ, त्यही भएर काठमाडौं आएको बेला जान्छु । छोरा होओस् भनेर माग्न जान आँटेको हैन नि है फेरि ! मनमा शान्ति मिल्छ त्यसैले जाने हो !”

जवाफ नौलो लाग्यो । त्यसैले सोधेँ, “धादिङमा पनि त ऊँ शान्तिका आश्रम छन् त टन्नै ! यताको सदस्यले त्यहाँ जान मिल्दैन र ?”

उनले भनिन्, “आश्रम त छ तर जान अनुमति छैन । ऊँ शान्तिमा लाग्न पाउँदिन भनेर घरमा सासूससुराले स्पष्ट भनिस्यो । बिहेअघि केही शर्त थिएनन् । बिहे भइसकेपछि अनेक नियमकानुन, अनि प्रतिबन्ध । जन्मिएदेखि शाकाहारी म, ऊँ शान्तिलार्ई नै पारिवारिक धर्म मानेर हुर्किएँ । बिहे भइसकेपछि आफ्नो केही चल्दो रहेनछ । हरेक दिन आत्मा जलाएर बाँच्नुपर्ने ! आफू नखाए पनि परिवारको स्वाद अनुसार राँगा, भैंसी, खसी, कुखुरा, बँदेल सबैको परिकार बनाइदिन्छु । तिमी नै सोच– मलार्ई कति अप्ठेरो र घिन लाग्छ होला ! तैपनि हरेक कदममा गुनासो, हरेक कुरामा समस्या ! जुन दिन माइतीको आँगन पोलेर कन्यादान गरिन्छ नि, त्यही दिन आफ्नो इच्छा, चाहना, अनि आस्था सबैलार्ई त्यहीँ अग्निकुण्डमा जलाइँदो रहेछ । जुन कुरामा मेरो विश्वास छैन, निष्ठा छैन, अरूलार्ई खुसी बनाउनकै लागि म कसरी अन्धभक्त बनौं ?”

अचम्मित हुँदै मेरो मुखबाट प्रश्न झ¥यो, “त्यस्तो नि हुन्छ कहीँ ?”

उनका चिसा बोलीहरू बग्न थाले, “छोरीमान्छे भनेको कहिल्यै आफ्नो लागि जन्मिने जात हैन रहेछ । जन्मिएदेखि अरूको इशारामा प्रस्तुत हुनुपर्ने । अझै बिहेपछि बुहारी नारी रहँदो रहेनछ । बुझ कि ऊ एउटा सामान्य मानिससरह पनि गनिन्न । मानव अधिकार सबै हनन् हुन्छ भने विशेष मानिने नारी अधिकार त अकल्पनीय नै भयो । बिहे गरेर अर्काको घरमा छिरेपछि दोस्रो दर्जाको सदस्य बनिँदो रहेछ । हरेक पल उनको मन, आत्मा अनि भावनाको हत्या गरिँदो रहेछ । फरक यत्ति हो कि कहिले हत्यारा बदलिन्छ त कहिले हतियार !”

उनका कुराले मलार्ई भालासरि रोप्यो । तीखो हर्नको आवाजमा झस्किँदै उनीसँग बिदा भएर गाडीमा चढेँ ।

“के लामो गन्थन गरिराखेको नि बाटोमा उभिएर ?” भनेर आमाले सोद्धा नचाहेर पनि उनका व्यक्तिगत गुनासोको पोको खोलेँ । आमाले त झनै तितो व्याख्या गर्न सुरु गर्नुभयो ।

“धर्ममात्र हैन, नेपाली नारीलार्ई केही कुरामा पनि समान अधिकार छैन । हरेक कुरामा पुरुष सदस्यको स्वीकृति चाहिन्छ । उनले लगाउने कपडाको लम्बाइ, खानेकुराको स्वाद, काम गर्न मिल्ने–नमिल्ने कार्यक्षेत्र, सबै–सबैमा पुरुषको तर्फबाट हरियो झण्डा फहराइनुपर्छ । अरूको अनुमतिबिना नारीले खान–लाउन पनि नपाउने, बाँच्न पनि नपाउने बनाइएको छ । झन् धर्म त ठूलो कुरा ! धर्मनिरपेक्ष हाम्रो नेपालमा राज्यले अधिकार दिए पनि परिवार र समाजले दिन सकेको छैन । नेपाली समाजले महिलालार्ई सामान्य नागरिक पनि ठान्दैन । उनको आफ्नो आस्था र विश्वासको कुनै मूल्य छैन । आफ्नै घरभित्र जबरजस्ती लादिने कुसंस्कार र चलनलार्ई सामान्य रूपमा स्वीकारिन्छ ।”

“कुनै मान्छे हिन्दूबाट क्रिस्चियन भयो भने सबैतिर जोगिनुपर्छ, सबैलार्ई जवाफ दिनुपर्छ । हिन्दू धर्मभित्र पनि अनेक हाँगाबिँगाहरू छन्, जो आफू आफूमै लड्छन्, अल्झिन्छन् अनि तर्किन्छन् । सनातन धर्मभन्दा धेरै फरक फरक धारणा, फरक फरक नियम ! अध्यात्मको आफ्नो बाटो आफैं रोज्ने अधिकार नेपाली महिलालार्ई पक्कै छैन । माछामासु खाने, पशुवलिलार्ई सामान्य मान्ने ! केटीको विवाह प्रणामी, वैष्णव, ऊँ शान्ति, राधे राधे, राधा स्वामी, मानव धर्म आदि इत्यादिको परिवारमा हुने भयो भने उनको पाइला तरवारकै धारमा चल्नुपर्छ । उनका खानाका किसिम, पूजापाठको विधि र धार्मिक आस्था सबै फेरिनुपर्छ । नत्र तयार हुनुपर्छ घृणा र अपहेलना सहनका लागि । उनको स्वभाव, व्यक्तित्वको मूल्याङ्कन उनको घाँटीमा बाँधिएको कण्ठी, निधारको टीका, अनि थालमा पस्किएको खानाका आधारमा गरिन्छ । यसको ठ्याक्कै उल्टो– शाकाहारी प्रणामी, वैष्णव घरकी छोरी अन्य आस्था भएको घरमा भित्रिनलार्ई अन्तरराष्ट्रिय स्तरको मांशाहारी सेफ बनेर योग्य हुनुपर्छ । यस्तै छ हाम्रो देश नेपाल ! यसलाई सामान्य रूपमै लिनुपर्छ, विकल्प छैन । नारीहरू पनि गुनासो मात्र गर्छन तर आफ्नो लागि उभिन सक्दैनन् ।”

शिक्षित, आत्मनिर्भर मेरी आमाको यो स्पष्टीकरण मलार्ई पचाउनै गाह्रो भयो । यस्तो अरे, त्यस्तो अरे भन्दा पनि धार्मिक–सांस्कृतिक नियम कत्तिको व्यावहारिक छ भनेर जोख्दै अगाडि बढ्ने एक सबल नारीका यी लाचार शब्दले मलाई पोल्यो । सानैदेखि नेवार समुदायसँँग नजिकिएर बसेको र मानव शरीरको वैज्ञानिक अध्ययन गर्नुभएकी उहाँले ‘रजस्वला प्राकृतिक प्रक्रिया हो, अशुद्धता होइन’ भनेर परिवारलार्ई बुझाउनुभयो । घरमा ऋषिपञ्चमीको पूजा कहिल्यै गरिएन । तैपनि आस्थाको स्वतन्त्रता जस्तो आधारभूत अधिकारको कुरामा लाचार अभिव्यक्ति दिनुहुँदा मैले स्वीकार्न सकिनँ ।

अलिअलि आक्रोशित हुँदै, अलिअलि पीडा पोख्दै चर्को आवाजमा म पड्किएँ, “यस्तो पनि जायज हुन्छ कहीँ ? धर्म आफूले गर्ने हो, अरूलार्ई देखाउनलार्ई हैन । भगवान् छन् भने सबैका लागि छन् र एकै हुन् । मानवताभन्दा ठूलो हुन्छ कहीँ धर्म ? जिन्दगी जिउनका लागि बनेको हो धर्म । आफ्नै मन मारेर गर्ने धर्म नि कहीँ धर्म हुन्छ ?

“आस्था, विश्वास भन्ने कुरा मनबाट आउने कुरा हो । यसको कुनै आधार हुनु जरुरी छैन र सबैलार्ई चित्त बुझाउँदै हिँड्नु पनि पर्दैन । एउटा मानिस बुझ्ने भएपछि आफूलार्ई आस्था भएको धर्म मान्न पाउनुपर्छ । नास्तिक नै बन्न चाहन्छ भने पनि त्यसलार्ई सामान्य रूपमा लिन सक्नुपर्छ । धर्म भनेको जबरजस्ती विस्तार गर्ने, राजनीति गर्ने तत्व होइन नि ! यति कुरा पनि नबुझ्ने कस्तो नागरिक समाज हाम्रो ? धार्मिक निष्ठा नितान्त व्यक्तिगत निर्णय हो । जीवनको सीमाभित्रको रङरूप हो । यसमा कसैले अङ्कुश लगाउँछ या प्रश्न उठाउँछ भने त्यो जस्तो अधर्म सायद अरू केही होला !”

यत्तिकैमा मोबाइलमा भाइबर म्यासेजको घण्टी बज्छ । अगाडि सिटमा बसेर हाम्रो वादविवाद सुनिराख्नुभएका मेरा सान्दाजुले शान्त भएर पठाउनुभएको सन्देश !

“कति धेरै पीर मानेर बकबक गरिराखेको ! केही फाइदा छैन यहाँ धेरै सोचेर, अरूलार्ई बुझाउन खोजेर ! सभ्य समाजको शिक्षित परिवारमा पनि तिमीले खोजेजस्तो स्वतन्त्रता सहज छैन । जुन दिन मुमा, अनि बाबा आमाले तिम्रो हिरो मुस्लिम भन्ने थाहा पाउनुहुन्छ, त्यो दिनदेखि हाम्रै घरमा आँधीबेहरी आउँछ । अझ लण्डनमा एमबीए पढ्दा सँगै बसेकी थियौ भन्ने खबर फैलियो भने त पूरा काठमाडौं हल्लिन्छ । तिमीलार्ई वाग्मतीमा लगेर चोपेर ल्याउँछन् । पक्का ! हेहे !”

त्यो सन्देश पढ्न नपाउँदै मलार्ई कम्प छुटेजस्तो अनुभव भयो । म हिउँसरि जमेँ । सबैतिरबाट तीखा वाणहरूले प्रहार भएजस्तो भयो । निस्सासिएर त्यहीँ ढल्छु जस्तो गरी रिङटा लाग्न थाल्यो । धर्म मात्र हैन यहाँ, मायाको पनि अधिकार पाउन मुस्किल छ । मानिसले भगवान् बनायो या भगवान्ले मानिस ? मानिसले बनाएको धर्ममा मानिसलार्ई नै ठाउँ छैन ? धर्मले अनुशासन र जीवन विज्ञान सिकाउँछ भने अनेकतामा सजिएको मानव सभ्यताका अरू पाटोलार्ई किन मान्न सक्दैन ?

नेपालको संविधानमा मौलिक हक र कर्तव्य अन्तर्गत सबैलार्ई सम्मानपूर्वक बाँच्न पाउने हक दिइएको छ । त्यसैमा स्वतन्त्रताको हकमा विचार, अभिव्यक्तिलार्ई प्राथमिकता दिँदै महिलाको हकबारे विशेष व्याख्या गरिएको छ । नारी पनि मानिस हो । वालिग भएपछि पुरुषसरह उनलार्ई पनि आफ्नो अधिकार प्रयोग गर्ने स्वतन्त्रता छ । देश चलाउने प्रतिनिधि छान्नलार्ई भोट हाल्न आफ्नो स्वविवेकले निर्णय गर्ने नारीलार्ई आफ्नोे लागि सही–गलत छुट्टाउने क्षमता छैन भन्नु कत्तिको बुद्धिमानी हो ?

कसैलार्ई मूर्ति पूजा गरेर शान्ति मिल्ला भने कसैलार्ई मैनबत्ती बालेर ! धार्मिक विचारधारा र अध्यात्म उनको नितान्त व्यक्तिगत पक्ष हुन् । यसमा हुने हरेक किसिमका जबरजस्ती सरासर दमन हो । श्रीमान्, परिवार, समाज र देशले एउटा नारीलार्ई गर्ने मूल्याङ्कन उनको व्यक्तित्व, शिक्षा, कार्यक्षमता, व्यवहार र दक्षताको आधारमा हुनुपर्छ, न कि उनको आस्तिक दर्शनको वजनको भरमा ।

म एउटा स्वतन्त्र नेपाली नारी, यो देशको सक्षम जिम्मेवार नागरिक । मेरो आस्था, विश्वास, धार्मिक चालचलन मेरो वैयक्तिकताको परिधिभित्रै पर्छन् । म आफ्नो दिनको सुरुवात शिवचालिसा पढेर गरुम् या कुरान पढेर या नास्तिक बनेर– कसैलार्ई जवाफ दिनु या प्रमाणित गर्नु कत्ति पनि जरुरत छैन । म धार्मिक बनुँ या नास्तिक, शाकाहारी बनुँ या मांशाहारी, जबसम्म म र मेरो क्रियाकलापले कसैलार्ई अवरोध पुर्‍याउँदैन, देश र समाजलार्ई चोट पुर्‍याउँदैन, तबसम्म मेरो आस्थामा कसैले औंला उठाउन पाउँदैन ।

कसैको निष्ठालार्ई अरूले किन प्रश्न गर्ने ? आस्थाको कुनै कारण हुदैन, प्रमाण जुटाउनु पनि अनिवार्य छैन । धर्म र संस्कारको नाममा विभेद रोप्नु जति अन्यायपूर्ण छ, लैङ्गिक भेदभावका कारण धार्मिक स्वतन्त्रता नहुनु त्यति नै अनुचित हुन्छ । देश सबैको हो भने जिन्दगी पनि सबैको अमूल्य नै हुन्छ ।

यस्तै अनेक प्रश्नका केलाउँदै गर्दा गाडी न्युरोड गेटभित्र छिर्‍यो । फूलअक्षता बोकेर लाम लाग्दा स्तब्ध थिएँ । अनेक छालहरू थामथुम पर्न खोज्दा पनि शान्त बस्न सकिनँ । कसैले औंला नउठाउञ्जेल सामान्य लाग्ने अधिकार खोसिन लाग्दा अपरिहार्य हुँदो रहेछ । यत्तिकैमा पानीको थोपा निधारमा बर्सियो, एकोहोरिएको सोचको गुफाबाट म उम्किएँ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology