स्याङ्जा, ४ जेठ– कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र यसको जोखिम बढ्दै गएपछि गण्डकी प्रदेश प्रवेश गर्ने दक्षिणतर्फका कालिगण्डकी नदीमा रहेका झोलुङ्गे पुलमा काँडेतार लगाईएको छ । गल्याङ नगरपालिकामा पर्ने कालीगण्डकी नदीमा रहेका झोलुङ्गे पुलहरुमा काँडेतार लगाएर पैदल यात्रा गर्नसमेत रोक लगाइएको हो ।
गल्याङ नगरपालिका–१ मालुङ्गाबाट पाल्पाको बगनासकाली गाउँपालिका–५ दर्पुग जोड्ने झोलुङ्गे पुल र मालुङ्गाबाट पाल्पाको रम्भा गाउँपालिका–१ असेर्दी जोड्ने दुई वटा पुलमा काँडेतार लगाएर आवतजावत गर्न नमिल्ने बनाइएको छ । नगरपालिका जोड्ने दक्षिणतर्फका अन्य पुलमा पनि काँडेतार लगाउने तयारी भैरहेको नगरपालिकाका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष गणेश बस्यालले बताए ।
सडक मार्ग भएर आउन नपाएका यात्रुहरुले झोलुङ्गे पुलको प्रयोग गरेर यात्रा गर्ने क्रम बढेपछि सबै ठाउँमा २४ सैं घण्टा सुरक्षाकर्मीको व्यवस्था गर्न कठिन भएकाले पुलमा काँडेतार लगाउनु परेको प्रबक्ता बस्यालले बताए । प्रबक्ता बस्यालका अनुसार, भारतबाट लुकिछिपी आउनेहरु राम्दी नाकाभन्दा अन्यत्र ठाउँबाट प्रबेश गर्दा कोरोना संक्रमणको संक्रमणको जोखिम बढेकाले सतर्कता अपनाएको पुलमा तार लगाईएको हो ।
रुपन्देही जिल्लामा कोरोना संक्रमण बढेपछि अझै सचेत हुनुपर्ने अवस्था रहेको भन्दै बस्यालले बाहिरबाट आएका व्यक्तिहरुलाई ससम्मान क्वारेन्टाइनमा राखिने भएकाले लुकिछिपी नआउन र खबर गर्न आग्रह गरेका छन् । देशभित्रै र भारतबाट आउनलाई मध्यनजर गर्दै गल्याङ नगर कार्यपालिका बैठकले पाँच सय बेड क्षमताको क्वारेन्टाइन पाँच ठाउँमा राख्ने निर्णय समेत गरेको नगरप्रमुख भुपराज अधिकारीले बताए । गण्डकी प्रदेश प्रवेश गर्ने दक्षिणको मुख्य नाका रहेको गल्याङ–१ रामनदीधाम राम्दीमा चेकजाँचसमेत कडाई गरिएको नगरपालिकाले जनाएको छ ।




