काठमाडौं, ५ जेठ– बागलुङको छिमेकी जिल्ला गुल्मीमा पनि कोरोना भाइरसको संक्रमित भेटिएका छन् । गुल्मीका संक्रमित व्यक्ति मदाने गाउँपालिका वडा नं ६ पुर्कोटदहका हुन् । शिक्षण पेशामा संलग्न उनी केही दिनअघि मात्र निमोनियाको समस्या देखिएपछि उपचारका लागि बुटवल गएका गाउँपालिका अध्यक्ष दानबहादुर केसीले जानकारी दिए । उनको अहिले भेन्लिेटरमा राखेर उपचार चलिरहेको छ ।
सोमबार एकैपटक ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितहरुमध्ये ४६ जना पुरुष र एक महिला छन् ।
त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १÷१ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनीहरुको स्थायी ठेगाना र हालको ठेगानामा कन्ट्याक ट्रेसिङ सुरु गरिसकिएको उनले बताए ।





