काठमाडौं, ६ जेठ– मंगलबार थप २७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ५ जना, झापाका ९ जना, मोरङ र सुनसरीका एक/एक जना, सर्लाहीका २ जना, मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एक/एक जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेर समूहका छन् । मंगलबार थपिएका २७ जनासंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार, कोरोना संक्रमण ३६ जिल्लामा पुगेको छ ।
अब शूल्क तिरेर कोरोना परीक्षण गर्न पाइने
कोरोनाको लक्षण नदेखिए पनि अब शूल्क तिरेर पीसीआर परीक्षण गर्न पाइने भएको छ । स्वइच्छाले पीसीआर परीक्षण गर्न चाहने व्यक्तिले सार्वजनिक स्वास्थ्य संस्थाहरुमा तोकिएको दररेटमा परीक्षण गराउने नीतिगत व्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता देवकोटाले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा शूल्क तिरेर पीसीआर परीक्षण गर्न पाउने व्यवस्था मिलाइएको जानकारी दिए ।





