`

‘आय घट्यो, स्वास्थ्य र शिक्षामा भने बढ्छ’


  • मञ्जुदेवी गुरुङ उपप्रमुख, पोखरा महानगरपालिका
  • बुधबार, जेष्ठ ७, २०७७

विश्व नै कोरोना कहरले थला परिरहेको बेला आगामी वर्षको बजेटदेखि नीति तथा कार्यक्रम बनाउने समय पनि आएको छ । नीजिदेखि सरकारी दुवै क्षेत्रलाई कोरोनाले चर्को असर पारिरहदा, यसबाट माथि उठ्ने उपाय के हुन सक्ला ? आगामी बजेटमा मारमा परेका क्षेत्रलाई माथि उकास्न के-कस्ता योजना छन् ? कोरोना कहरबाट माथि उठ्न कस्ता नीति आउलान् ? यिनै विषयमाथि केन्द्रित रहेर पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङसँग ढोरपाटनकर्मी श्याम राना मगरले लामो कुराकानी गरेका छन् । प्रस्तुत छ उपप्रमुख गुरुङसँग गरिएको कुराकानीको सम्पादीत अंश (सम्पादक)
प्रदेशकै ठूलो पोखरा महानगरपालिकाले कोरोना महामारीबाट तंग्रिन अहिले के के गरिरहेको छ ?
महामारी महानगरमा आईसकेको छैन । महानगरको वरिपरी चाहीं आई सक्यो । अहिलेसम्म त हामी सुरक्षित नै छौं । यसलाई कसरी कायमै राख्न सकिन्छ भन्ने विषय महत्वूर्ण हो ।
संक्रमित ठाउँबाट आएकाहरुलाई क्वारेन्टाइन, आइसोलेसनमा राख्नेदेखि स्वास्थ्य चेकजाँच गर्ने काम चलिनै रहेको छ । क्वारेन्टाइन क्षमता भने अब बढाउनुपर्छ भनेर वडा वडाबाट पनि तयारी थालेका छौं । हेल्थ बुथ राख्ने काम त पहिलेदेखि नै भईरहेको छ । अहिले खासगरी क्वारेन्टाइनको क्षमता बढाउनुपर्छ भनेर नै हामी लागिपरेका छौं । नागरिकलाई सु-सूचित बनाउन माइकिङन गर्ने कामहरु पनि चलिरहेकै छ ।
आगामी बर्षका लागि बजेट, नीति तथा कार्यक्रम ल्याउने समय पनि आइसक्यो । महानगरले आगामी वर्षको नीति तथा कार्यक्रममा के कस्ता कुराहरुलाई बढी प्राथमिकतामा राख्छ ?
हो, आगामी बर्षका लागि नीति तथा कार्यक्रम ल्याउने समय आईसक्यो । अहिले पहिले नै राजश्वले अनुमानित बजेट दिनुपर्ने हो । परामर्श समीति, श्रोत अनुमान तथा बजेट निर्धारण समितिले सिलिङ दिनुपर्ने अलि पहिले नै हो । कोरोना कै कारण अलि ढिलो भयो । फेरि, पनि हामीले छलफललाई भने निरन्तरता दिईरहेका छौं । राजश्व परामर्श समीतिले बजेटको खाका (श्रोत तथा अनुमान) दिईसक्यो । श्रोत अनुमान तथा बजेट निर्धारण समीतिले सिलिङ दिई सकेको छ । विकास समीति, महाशाखा बसेर । त्यो सिलिङ भित्र रहेर योजना बनाउने काम भने अब अघि बढ्छ ।
चालु ०७६/७७ को जुन बजेट छ, त्यो पनि यसरी नै तयार गरेको हो । नीति तथा कार्यक्रम बनाएको हो । वास्तवमा राजश्व उठ्ने समय भनेको प्राय : चैत, वैशाख नै हो । असारसम्म पनि राजश्व उठ्ने काम हुन्छ । भुक्तानी दिने काम पनि सुरुमा अलिकति हुन्छ । त्यसपछि काम सकिएपछि अन्तिममा नै भुक्तानी हुने हो ।
त्यसैले प्रभाव चाहीं हामीलाई मात्रै परेको होइन । सबै ठाउँमा परेको हो । योजना सम्झौता कोही ५० प्रतिशत भएको छ । कोही भर्खरै मात्र भएका थिए । कोही सम्झौता हुनै बाँकी थिए । बाँकी भएका सम्झौतालाई त हामीले गनेनौं । यो हुने कुरा पनि भएन । सम्झौता भैसकेका कसरी पूरा गर्ने ? नभएको, हुन नसक्ने योजनालाई त्यसको आवश्यकता हेरेर गर्ने हो । कति आवश्यक छ ? छनौट गरेर आगामी आर्थिक वर्षमा राख्ने काम हुन्छ । बाँकी सिलिङ भएर आईसकेका छन् । बाँकी योजनाका लागि आवश्यकता हेरेर ल्याउनु भनेर भनिएको छ ।
विशेषगरी पूर्वाधार विकासमा हामीले चालु आर्थिक वर्षमा बजेट छुट्याएका थियौं । लगभग ८० प्रतिशत बजेट हाम्रो भौतिक पूर्वाधार मै थियो । अब यसको मोडले चेञ्ज गरेर स्वास्थ्य, शिक्षा, कृषि जस्ता क्षेत्रमा बढी जोड दिनुपर्ने हुन्छ । उद्यमशिलता विकास गर्नु प¥यो । रोजगारी कसरी सिर्जना हुन्छ ? त्यो विषयमा केन्द्रित रहेर नीति तथा कार्यक्रम आउछ । हामी यसरी नै तयारी गरिरहेका छौ ।

चालु आर्थिक वर्षमा अहिलेसम्म कति बजेट खर्च भयो ?
४० प्रतिशतभन्दा त बढी नै खर्च भईसकेको छ । भुक्तानी गर्न भने बाँकी छ । काम सकिएर अन्तिममा पुगेको योजनाहरु पनि धेरै छन् । धेरै जसो काम त पूरा भइनसेका नै छन् । ६०, ७०, ८० प्रतिशत मात्रै काम भएका धेरै छन् । कोही भर्खर सुरु भएका छन् । यो हिसाबले हेर्दा ४० र ५० प्रतिशतको बिचमा बजेट खर्च हुन्छ ।
गएको वर्ष बजेट चैत मसान्तसम्ममा हाम्रो आन्तरिक आय ८० करोड उठेको थियो । यो वर्ष चैतको ३० गतेसम्म लकडाउनका कारण उठेपनि कम छ । गएको वर्ष लकडाउन भएन राम्रो उठ्यो । अहिले त ११ गतेदेखि नै लकडाउन भयो । आय त यही हाराहारीमा उठेको छ । तर, यो वर्ष आन्तरिक आय हामीले घटाउछौं । आगामी वर्षको बजेटमा आन्तरिक आय २ अर्ब मात्रै राख्छौं । चालु आर्थिक वर्षमा हाम्रो आन्तरिक आय मात्रै २ अर्ब ७४ करोडको थियो । तर, त्यो रिच हुन सकेन । सक्ने कुरै भएन । किनभने, मैले भनिसके, राजश्व त अन्तिम अन्तिममा नै उठ्ने हो । हाम्रोमा कस्तो हुन्छ भने,तिर्दै गरौंला भन्ने सोचाईले काम गरेको छ ।
राजश्व बढी उठ्ने भनेको त वैशाख, जेठमा नै हो । यसकारकाण पनि आयमा धेरै प्रभाव प¥यो । यो वर्ष २ अर्ब मात्रै आन्तरिक आय राखेका छौं । हामीले अनुमान गरेको आयमा ६०, ५० मात्रै अनुमान गरेका छौं । बाह्य आय थपिने कुरा त छुट्टै भयो ।
भनेपछि, आगामी वर्षको बजेटको आकार त घटेरै आउने भयो ?
हो, अवश्य घट्छ । जतिसुकै विकास निर्माणमा बजेट खर्च ग¥यौं भनेर भने पनि स्वास्थ्यमा हामी कमजोर रहेछौं भन्ने नै देखियो । यो कुरा तपाईंहरुले पनि महसुस गर्नु भएको होला ।
आगामी बजेटमा स्वास्थ्य क्षेत्रलाई कसरी समेट्नु हुन्छ त ?
भन्न त, संघले पनि स्वास्थ्य क्षेत्रमै बढी बजेट खर्च गर्ने भनेर भनेको छ । प्रदेशको पनि उही योजना छ । हाम्रो महानगरमा रहेका ४३ स्वास्थ्य शाखा छन । पहिलो कुरा त भएका स्वास्थ्य शाखालाई नै स्तरोन्नति गर्नु प¥यो । हामीले पनि यही सोचेका छौं । त्यसमा अरु पूर्वाधार थपेर स्तरिय बनाउन सकिन्छ भन्ने नै हो ।
शिक्षाकै कुरा गर्दा पनि अनलाइन शिक्षाको कुरा आयो । अनलाइन शिक्षा नराम्रो त होइन नि ! सबैभन्दा राम्रो हो । तर, यो बेलामा अनलाइन शिक्षा कसरी लागू गर्न सक्छौ त ? पूर्वाधारै तयार छैनन् । भन्ने बित्तिकै तयार हुने कुरा पनि आएन । विद्यार्थीको पारिवारिक अवस्था कस्तो छ ? मानौं, एउटा परिवारमा ३ वटा बच्चा भए भने ३ वटा कम्प्युटर चाहियो । त्यसको व्यवस्था कसरी गर्ने ? इन्टरनेट जोड्ने कुरा पनि त्यस्तै समस्या छ । विषयहरु धेरै छन् । यो विषयमा कसरी अघि बढ्ने भन्ने प्रश्न छ । हामी धेरै कुराहरु छलफल गरेर नै अघि बढ्दैछौं ।
अर्थतन्त्रको महत्वपूर्ण विषय पर्यटन र योसंग समबन्धित व्यवसायीहरुले राहत प्याकेज चाहियो भनिरहेका छन् । यो विषयलाई महानगरले कसरी लिएको छ ?
पोखरा महानगर अर्थतन्त्रमा बलियो हुने मुख्य पाटो भनेको पर्यटन नै हो । अरु क्षेत्रमा कोरोना कहर सकिएसँग विस्तारै पहिलेकै ठाउँमा फर्कन सकिएला । तर, पर्यटन व्यवसायीहरु त फर्कन गाह्रो छ । पहिलो कुरा पर्यटक आउन प¥यो । पोखरा सुरक्षित छ है ! भनेर सूचना दिन सक्नु प¥यो । यो त फेरि, नेपालको मात्रै वाध्यताको कुरा पनि भएन । विश्वभरि नै हो । घुम्न आउनको लागि पर्यटकको आर्थिक अवस्था पनि मजबुत हुन पर्ने होला । त्यसकारण पर्यटन क्षेत्र माथि उठ्न लामो समय चाहिन्छ ।
अब कसरी अघि बढ्न सकिन्छ ? भन्ने विषयमा पर्यटन व्यवसायीहरुसँग बसेर छलफल पनि ग¥यौं । उहाँहरुबाट पनि केही सुझाव सल्लाह आएको छ । यो विषयमा हामी छलफल गर्दैछौ । कसरी लैजान सकिन्छ भन्ने कुरा प्रमुख रह्यो । यस विषयमा हामी अलि ब्यापक नै छलफल गर्दैछौं ।
कोरोना कहरबाट नछोइएका कोही पनि छैनौं । सबैमा यसको प्रभाव परेको छ । यो त पहिले नै जानेको विषय पनि भएन । नयाँ भयो । त्यसकारण यसको प्रभाव र व्यवस्थापन क्रमिक हुँदैजाने कुरा पनि हो । यो एउटा अवसर पनि हुन सक्छ । यसलाई अवसरको रुपमा कसरी परिणत गरेर जाने ? यो विषयमा बहस हुँदैछ । समस्या के छन् ? पहिचान गर्दै समाधान गर्दै जानुको विकल्प हामीसंग रहेन नि ।
अहिले महानगरका क्वारेन्टाइन र आइसोलेसनको अवस्था कस्तो छ ? अनि हरेक नागरिकको स्वास्थ्य जाँचको अवस्था के छ ?
आइसोलेसन त महानगरले तयारी गर्न सक्ने कुरा भएन । त्यसलाई क्षेत्रिय अस्पतालले हेरिरहेको छ । महानगरले व्यवस्था गरेको क्वारेन्टाइन बेड करिब ३ सयको हाराहारीमा छ । कोरोनाका बिरामीलाई एकै ठाउँमा राख्नु हुन्न, मिल्दैन । त्यसकारण पनि क्वारेन्टाइनको संख्या बढाउन हामी लागिपरेका छौं ।
जहाँसम्म स्वास्थ्य चेकजाँचको कुरा छ । संक्रमित जिल्लाबाट आउनेहरुलाई त हामीले जाँचिरहेका छौं । क्वारेन्टाइनमा राख्ने काम पनि भईरहेका छन् । तर, सबै नागरिकको स्वास्थ्य जाँच गर्ने कुराको विषयमा त्यस्तो खास निर्णय केही भईसकेको छैन । विरामी र आशंकितलाई पहिलो प्राथमिकतामा राखेर उपचार गर्ने हो । यो विषयमा सवैभन्दा महत्वपूर्ण कुरा लकडाउनलाई सवैले इमान्दारिताका साथ पालना गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology