स्याङ्जा, १५ जेठ– कोरोना भाइरस (कोभिड–१९)का कारण दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका मजदुर काम नपाएर समस्यामा परेपछि गाउँपालिकाले उनीहरुलाई रोजगार दिएको छ । स्थानीय तहले आर्थिक अवस्था कमजोर भएका र ज्याला मजदुरी गरेर घरपरिवार चलाउँदै आएकालाई राहतको रुपमा खाद्यान्न वितरण गर्दै आए पनि फेदीखोला गाउँपालिकाले भने ‘खाद्यान्नको लागि रोजगार कार्यक्रम’ संञ्चालनमा ल्याएको हो ।
गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले खाद्यान्नका लागि रोजगार कार्यक्रम संञ्चालन गरेको बताए । ‘हामी सबैलाई काम दिन चाहन्छौ, तर बिना परिश्रम राहातका नाममा खाद्यान्न बितरण गर्दैनौ’ सुवेदीले भने । क्षमता अनुसारको काममा लगाउने र कामका आधारमा ज्याला दिने संचालनमा ल्याईएको अध्यक्ष सुवेदीले बताए । परिवारमा काम गर्न नसक्ने र वृद्धवृद्धा मात्रै भएको अवस्थामा भने पालिकाले खाद्यान्नदेखि सबै आवश्क वस्तु सहयोग गर्ने सुवेदीको भनाई छ ।

गाउँपालिकाले बन्दाबन्दीका कारण काम नपाएकाहरुलाई सडक निर्माण गर्ने, घोडेटो बाटो बनाउनेदेखि गाउँपालिकाभित्र भईरहेका निर्माणको क्षेत्रमा काम दिने गरेको छ । गाउँपालिकाले दक्ष कामदारलाई एक हजार र अर्धदक्ष कामदारलाई आठ सयका दरले दैनिक रुपमा ज्याला दिने व्यवस्था गरेको छ । अहिले गाउँपालिकाको बिभिन्न वडामा ३ सय ५० बढि बजदुरले काम गरिरहेको र यो संख्या अझै बृद्धि हुने गाउँपालिकाको भनाई छ । खाद्यान्नको लागि रोजगार कार्यक्रममा सर्वसाधारणको आकर्षण बढ्दै गएपछि पालिकाले काम गर्न चाहने सबैलाई विकास निर्माणको क्षेत्रमा लगाउँदा प्रतिकुल अवस्थामा पनि विकासले गति लिने गाउँपालिका अध्यक्ष सुवेदीले बताउँछन् ।




