स्याङ्जा, १७ जेठ– कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएपछि जिल्ला अस्पतालको आइसुलेसनमा उपचाररत बिरामीलाई आर्युेवेदिक औषधीको प्रयोग गरिएको छ । वनजंगलमा पाइने गुर्जो र अन्य जडिबुटीको संकलनमा आर्युेवेदिक अस्पतालका चिकित्सक र कर्मचारीहरु आफै लाग्ने गरेका छन् ।
कोरोना संक्रमित बिरामीहरुको उपचारमा सहयोग पुर्याउनु पर्छ भनेर जिल्ला आर्युेवेदिक अस्पताल लागिपरेको अस्पतालकी प्रमुख चिकित्सक सुभद्रा कार्कीले बताइन् । जिल्ला अस्पतालसंग समन्वय गरेर आफुहरुले काम गरिरहेको उनले बताइन् । रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आर्युेवेद तथा बैकल्पिक चिकित्सा बिभाग काठमाडौंबाट तयार पारिएको प्रोटोकल अनुसार औषधी प्रयोगमा ल्याएको कार्कीको भनाई छ ।

डा. कार्कीले भनिन्– ‘स्थानीय जंगलमा गएर गुर्जो लगायतका जडिबुटीहरु खोजेर ल्याएर संक्रमित बिरामीहरुलाई ताजा गुर्जोको रसका साथै जडिबुटीबाट बनाएका औषधी खाने ब्यवस्था मिलाएका छौ ।’ गुर्जो, असोगन्धा चुर्ण, महासुदर्शन चुर्णलगायतका औषधीले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकोले यी औषधीहरु प्रयोगमा ल्याएको आर्युेवेदिक अस्पतालले जनाएको छ ।
भिडियो कन्फ्रेन्सका माध्यामबाट आइसोलनमा रहेका संक्रमितहरुलाई योग प्रणायामका साथै ध्यानका विधिहरु समेत आफुले सिकाउने गरेको डा. कार्कीले बताइन् ।
भारतबाट आएर वालिङको क्वारेन्टाइनमा बसेका चार पुरुष र एक महिलामा कोरोना संक्रमण देखिएपछि अहिले जिल्ला अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार गरिएको छभने एक महिलालाई पोखरा लगिएको छ । उनीहरुमा संक्रमणका अन्य लक्षण नदेखिएको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
अहिले जिल्लामा ४ सय ३२ जना क्वारेन्टाइनमा रहेका छन्भने २ सय १७ जनाको पिसिआर माध्यामबाट परीक्षण गरिएकोमा ५ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।





