जातिय बिभेदका उचनिच अहंकारबादीहरु,
प्रजातन्त्र जपेर सत्ता चलाएका आडम्बरबादीहरु,
लोकतन्त्रको झण्डामा शासन गर्ने अवसरबादीहरु,
राता लालझण्डा बोकेका नयाँ ब्राम्हणबादीहरु,
शब्दमाथि बुई चढेर न्याय गर्ने ढोगी साबहरु,
जातीय छुवाछुत हटाउने मनभोगिका साबहरु,
भन न्याय कहाँ छ, उन्मुक्ती कहाँ छ ?
छोईछिटो र हेलाहोचोको पर्दा तोड्ने निर्देशमा,
अमानुस पहुवत जीवनबाट मानिस बदलिने सन्देशमा,
सबै बादशाहको झण्डा र डण्डा बोकेकै हो,
नरकीय पिपको कुण्डबाट उडेर राको बालेकै हो,
पशुवत जीवन बदल्न आसु छाडि आगो बोलेकै हो,
आडभरोसा हुन्छ कि भनेर लट्ठिको टेको दिएकै हो,
अझ भएन भनेर जीवनलाई बलीको बोको बनेकै हो,
तिम्रो निगाहा भएछ कि के हो, भन, मुक्तिपथ कहाँ छ ?
जातिय कलङ्कको अमानवीय पर्खाल भत्काउन,
छुवाछुत रुपी कुरुप नरकमा ज्यूदै मानवीय स्वर्ग भर्न,
दलित गरीवको खुन, पसिनाको अत्तर छरिएछ,
निर्ममतापूर्वक हत्या र बलत्कारको चाँङहरु भरिएछ,
पश्चिम रुकुमको मानव प्रेमभावमा बरबर्तापुवक हत्या गरिएछ,
दमित जिवनको कलकलाउदो बैंसालु प्रेमको सिंदुर पुछिएछ,
अधिकार र शान्ति कथित गुमराहा किन भयो, न्यायपथ कहाँ गयो ?
जुगौ देखि सेवा सुसारे गरी दमित जीवनले पालेकै हो,
एक छाक खान र एक आङ लाउन नपाएनी टालेको लाएकै हो,
जुगौ देखि श्रम र पौरखले नयाँ नेपालमा पसिना फालेको हो,
आज न्यायको भीख माग्दै सर्बोच्च शिखर रोईरहेछ,
आसुका सहस्रधारा, संबिधानको सहारा खोजिरहेछ,
मानव सभ्यता धावा बोल्ने अध्यारोमा जुनकिरी हिडिरहेछ,
अर्धमृत बाचींरहेको गणतन्त्रमा सत्य जीउने आधार खोजिरहेछ,
मान्छे जस्तै भएर जीउने आधार सधै गुम्नाम किन भयो ?





