स्याङ्जा, ३१ जेठ– मकै खेतीमा अमेरिकन फौजी किराले क्षति पुर्याएपछि किसान चिन्तित बेनेका छन् । मकैको गुवा र पात फौजी किराले काटेर सखाप पारेपछि किसान यस किराको नियन्त्रण र रोकथामका उपायको खोजीमा छन् । जिल्लाको वालिङ, गल्याङ चापाकोट नगरपालिकामा यसको प्रकोप बढदै गएपछि किसान चिन्तित बनेका हुन् ।
वालिङ नगरपालिका–१० की कृषक कोपिला विकले दुःख गरि लगाएको खेती फल लाग्ने बेलामा किराले काटेर सखाप पारेको गुनासो गरिन । किसानलाई केहीगरि सुख छैन, खेती नलगाउँ भएको जमिन बाँझो हुने दुःख गरेर लगायो भित्राउनै नपाइने’ विकले भनिन् । फौजी किराको प्रकोपले यसपालि मकै खेतीमा गरिएको लगानीसमेत नउठ्ने देखिएको विकले बताइन् । ‘किसानको पीडा अब स्थानीय सरकारले बुझ्नु पर्छ’ उनले थपिन् ।
खेतबारीमा लगाएको मकै खेती फौजी किराले सखाप बनाएको अर्का कृषक गल्याङ नगरपालिका वडा नं. ११ का सागर न्यौपानेले बताए । गल्याङको पेलाकोट, बेलटारी, पिडीखोला, जिम्मालगायत चापाकोट नगरपालिका–१० मा पनि फौजी किराले मकैमा क्षति पुर्याएको विष्णु भट्टराईले बताए । यसैगरि, वालिङ नगरपालिका–१४ मा पनि हजारौ रोपनीमा कृषकले लगाएको मकै बालीमा फौजी किराले क्षति पुर्याएको छ ।
कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख शालिग्राम अधिकारीले जिल्लाको ११ वटै स्थानीय तहमा फौजी किराको प्रकोप रहेको र यसको रोकथामको लागि सुरक्षित विषादी वितरण गरिएको बताए । अधिकारीका अनुसा, अन्य बालीभन्दा मकैबाली फौजी किराले बढि मन पराउँछ । स्थानीय तहका कृषि शाखा प्रमुखहरुसंग फौजी किराको नियन्त्रण र रोकथामका लागि छलफल चलाएको बताउँदै लकडाउनका कारण विषादी आयात गर्न नपाउँदा पनि समस्या भएको अधिकारीको भनाई छ । सुक्का मौसममा यो किराले बढि नोक्सान पुर्याउने भएपनि यसपालि बढि वर्षा भएकोले केही हदसम्म क्षति कम भएको अधिकारी बताउँछन् ।




