शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आइसोलेसनमा रहेका कोरोना संक्रमितद्वारा खाना अस्वीकार

आइसोलेसनमा रहेका कोरोना संक्रमितद्वारा खाना अस्वीकार


  • हिमलाल पराजुली
  • असार १ २०७७, सोमबार

स्याङ्जा, १ असार– भीरकोट नगरपालिकास्थित हेलुमा रहेको कालिका सामुदायीक अस्पतालको आइसोलेसनमा रहेका कोरोना संक्रमित केही युवाहरुले खाना अस्विकार गरेका छन् । जेष्ठ ३० गते कोरोना संक्रमणको पुष्टि भएपछि गल्याङ नगरपालिकाबाट ल्याइएका १८ जना संक्रमितमध्ये केही युवाले खाना र पानीमा असन्तुष्टि जनाउँदै खाना अस्विकार गरेर आन्दोलन गरेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका प्रशासकिय अधिकृत छायाँदत्त रेग्मीले गल्याङ नगरपालिकाबाट ल्याइएका संक्रमितहरुको टोलीमध्ये केहीले खाना नखाएको बताए । प्रशासकिय अधिकृत रेग्मीले भने ‘अस्पतालको आइसोलेसनमा रहेका संक्रमितहरुलाई हामीले खानानास्ता गरि दैनिक चार पटक दिने गरेका छौं । आज उहाँहरुले पानीमा सेतो पदार्थ देखिएको भन्दै खाना अस्विकार गर्नुभो, हामी आश्चर्यमा परेका छौ ।’
अहिले अस्पतालमा ५० जना संक्रमित रहेको र अन्य पालिकाबाट आएकाले खाना र पानीमा केही गुनासो नगरे पनि गल्याङ नगरपालिकाबाट आएका केही संक्रमितले खाना लिएर जाँदा खाना अस्विकार गर्नुका साथै अस्पतालको झयालमा हान्न थालेपछि खाना लिएर जाने ब्यक्ति नै फर्किएको अस्पताल प्रशासनले जनाएको छ ।
रेग्मीका अनुसार, अस्पतालमा मुलको पानी सिधा आउने र सोही पानीलाई उमालेर प्रयोग गर्ने गरिएको छ । युवाहरुले जारको पानीको माग गर्दै उमालेको पानी अस्वीकार गरेका हुन् । रेग्मीले भने, ‘उमालेको पानीमा क्याल्सियम छुटिन्छ । यसलाई उहाँहरु नकारात्मक सम्झनुभो । ३ जना बराबर एउटा पानी तताउने जग दिईने गरिएको छ । उमालेको पानीमा देखिने सेतो भाग क्याल्सियम हो, उहाँहरुले त्यो नबुझ्नु दुखद छ ।’ सम्बन्धित नगरपालिकाका नगरप्रमुखलाई समेत यसबारे खबर गरेको रेग्मीले बताए ।
अस्पतलाका प्रशासकिय अधिकृत रेग्मीले आफु दश वर्षदेखि सो अस्पतालमा कार्यरत रहेको र अस्पतालमा अहिलेसम्म सोही पानी प्रयोग गरिदै आएको बताउँछन् ।
प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले यस विषयमा जानकारी आएको बताउँदै आफुहरुले राज्यको क्षमता अनुसार सबै पालिकाहरु मिलेर सक्दो ब्यवस्थापन गरेको बताए ।
‘सरकार नागरिकलाई कसरी जोगाउने भन्नेमा छ, यस्तो परिस्थितिमा हामी सबै जिम्मेवार नागरिक बन्नुपर्छ’ प्रजिअ क्षेत्रीले भने । आइसोलेसनमा सन्तुलित खाना, सरसफाई र स्वास्थ्य जाँच, सकारात्मक साँेचाईको विकास हुने वातावरण सृजना गनुपर्नेमा संक्रमितहरु नै त्यसको बिपरित जाँदा आँफैलाई समस्या हुने प्रजिअ क्षेत्रीको भनाई छ ।
आइसोलेसनमा खाना अस्विकार गरेर आन्दोलनमा उत्रीएका युवाहरुले केही दिन पहिला पनि गल्याङ नगरपालिकाको गल्याङ बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा खानेपानीको विषयलाई लिएर आन्दोलन गरेका थिए । अस्पतालको आइसोलेसनमै संक्रमित युवाहरुले गरेको हर्कतले अस्पताल प्रशासन समेत चिन्तित बनेको छ ।
अस्पतालमा अहिले वालिङ, गल्याङ, चापाकोट, हरिनासलगायतका पालिकाका गरी ५० जना संक्रमितलाई राखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->