हुन त हरेक आमा प्रत्येक शिशुको पहिलो गुरुआमा हुन् नै तर पनि बिधालयमा समेत औपचारिक रुपमा शिक्षिका भएर आफ्नै सन्तानलाई पढाउन पाउने थोरै भाग्यमानी आमा मध्यकी एक गौरवान्वित आमा हुँ म ।
एकदिन सामाजिक शिक्षा पढाउने क्रममा पाठ्यक्रम अनुरुप ‘सामाजिक कुरिती’ नामक पाठ पढाउँदा ‘छाउपडि प्रथा’ बारे बुझाउने क्रममा भन्दै गएँ…
‘हेर बाबु–नानी हो रजस्वला भनेको महिलाहरुको शारीरिक बिकासको क्रममा देखापर्ने एउटा विसुद्द जैविक प्रक्रिया हो र यो महिलाहरुको जीवनमा घट्ने सामान्य शारीरिक प्रक्रियालाई असुद्द मानेर छाउगोठ पठाउनु एक अत्यन्त घृणित सामाजिक कुरिती र अन्धविश्वास हो । यसरी संस्कारका नाममा महिलाहरुलाइ विभिन्न मानसिक, मनोबैज्ञानिक र भौतिक रुपमा जोखिममा पार्नु निकै नै ठुलो अपराध हो । तिमी हामी सबै मिलेर यो कु(संस्कार को अन्त्य गर्नुपर्छ । हिजोका दिनमा यो कु(प्रथाले नारीहरुले जति मानसिक क्षति र भौतिक दुःख झेल्नु परेपनि अबका पिँढिले यो अबैज्ञानिक संस्कारको अन्त्य गर्नु पर्छ ।’
बाबू–नानिहरूले मेरो स्वरमा हो मा हो मिलाए । कक्षामा उपस्थित किशोरी मध्यबाट एकजनालाइ बोलाएर सोही बिषयमा बोल्न लगाएँ । उनले आफ्ना बुझाइ र भोगाइका कुराहरु कक्षामा बिस्तार गरिन् । उनले बोलिसके पछि धाप मार्दै स्यावासी दिँदै मैले थपेँ…
‘हो यसरी नै हामीहरु एक भएर यो कुप्रथाको बिरुद्ध जनचेतना बढाउनुपर्छ ।’
पिरियड सकिएको घन्टि बज्यो, छाउपडि प्रथा बिरुद्द एक एकवटा ‘प्ले कार्ड‘ बनाएर ल्याउने गृहकार्य दिएर कक्षाकोठाबाट बाहिरिएँ ।
राती खाना खाइवरी सुत्ने बेला मेरी किशोरी छोरीले आफुलाई पहिलोपटक ‘मिन्स’ भएको कुरा बिना हिच्किचाहट जानकारी गराईन् । म आत्तिदै हत्त न पत्त उसलाई अर्को कोठामा लगेर सम्झाऊँदै भने ‘छोरी अब केही दिन तिमी छुट्टै कोठामा सुत्नुपर्छ, अन्ततिर जाने बस्ने र छोइछाई गर्नु हुँदैन है ।’
तब मेरी १३ बर्षे छोरीले मेरो आँखामा आँखा झुधाएर भनी ‘ममि सायद शिक्षकले बिर्सन्छन् होला आफुले पढाएको कुरा ‘के पढाएँ’ भनेर ! तर बिधार्थीहरु कहिल्यै बिर्सदैनन् आफुले पढेको कुरा । तपाईं एउटा असल शिक्षकको धर्म निभाउन सक्नुहुन्छ या हुन्न मलाई थाहा छैन तर म एउटा असल बिधार्र्थीको भुमिका अवश्य निभाउने छु, आफुले सिकेको कुरा ब्यबहारमा लागु गरेर । र मलाई माफ गर्नुु होला । मैले यस कुरितीको अन्त्य गर्ने पबित्र कार्य प्रतिको हाम्रो शिक्षकसँगको प्रतिबद्धता तोड्न सक्दिन ।’
म छोरीको अगाडि लज्जित र नाजवाफ भएर ऊभिरहेँ ।
छोरी सदा झैँ आफ्नो बिस्तरामा गएर सुती र निदाईहाली । मलाई भने छाउपडी बिरुद्ध सामाजिक सचेतनाको लागि उसले बनाएको आकर्षक ‘प्ले कार्ड’ ले खिज्याईरह्यो । रातभर सुत्न दिएन ।





