बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रोग प्रतिरोधक क्षमता वृद्वि गरौं र कोरोनाबाट बचौं

रोग प्रतिरोधक क्षमता वृद्वि गरौं र कोरोनाबाट बचौं


  • कृष्ण कुमार सैजु
  • असार ५ २०७७, शुक्रबार

विश्वव्यापी प्रचलन हेर्दा दीर्घरोगी, बुढापाका, बालबालिका र त्यसमा पनि रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा कोभिड–१९ को संक्रमण बढी देखिएको छ । संक्रमणका कारण मृत्यु हुनेमा अधिकांश रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरू छन् । अहिले चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरू कोभिड–१९ को सम्भावित आक्रमणबाट जोगिन रोग प्रतिरोधक क्षमता वृद्विमा जोड दिइरहेका छन् । यो अबस्थामा रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउन सकिन्छ ? भन्ने बारेमा कौतुहलता हुन सक्छ ।
एउटा अंग्रेजी उखान प्रख्यात छ ‘प्रिभेन्सन इज बेटर द्यान क्योर’ अर्थात् रोग लागेपछि त्यसलाई निको पार्ने कोसिस गर्नुभन्दा लाग्नै नदिने प्रयास गर्नुपर्छ । अक्सर हामी यहीँ आएर चुक्छौं । बिरामी भएर औषधी उपचारमा गर्ने खर्च यदि स्वस्थ्य खानाखान, स्वस्थ्य जीवनशैली बाँच्नमा खर्चिने हो भने धेरै रोगहरुबाट बच्न सकिन्छ । यसको मतलब अहिलेदेखि जिम जाने, डाइट प्लान गर्ने, महंगा खानेकुराहरु खाने होइन । हामीले दैनिक जीवनमा खाने दाल, भात, तरकारीको पनि मात्रा र गुणस्तर मिलाउनुपर्छ । हाम्रो आहारमा कुन तत्व अत्याधिक छ र कुन छैन भनेर मध्येनजर गर्दै शरीरको आवश्यकता अनुरुप भिटामिन, कार्बोहाइड्रेट, प्रोटिन, खनिज आदि सम्पूर्ण पोषण तत्व मिलाएर खानुपर्छ ।
हाम्रो रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) भन्नाले हाम्रो शरीरले विभिन्न रोगसँग लड्ने क्षमता हो । यो रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता राम्रो भएकै कारण हामी संक्रमण र रोगहरूबाट बचेका हुन्छौं । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई विभिन्न किसिमका रोग लाग्ने तथा संक्रमण चाँडो हुन्छ । यसकारण प्रतिरोधात्मक क्षमता बढाउन खानेकुरामा विशेष ध्यान दिनुपर्छ । कुनै पनि खानेकुराले ग्यारेन्टीका साथ रोग प्रतिरोधात्मक क्षमता त बढाउँदैन । तर पोषिलो तथा सन्तुलित खाना नियमित खाँदा र स्वस्थ जीवनशैली अवलम्बन गर्दा रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत भने पुग्छ ।
सन्तुलित खाना भन्नाले शरीरलाई आवश्यक पर्ने सबैखाले पोषक तत्व मिलाइएको खाना हो । अहिले तपाईंहरू घरमा बसेका बेला भनेर अत्यधिक खानेकुरा खाने राम्रो होइन । हरियो सागसब्जी तथा तरकारी, प्रशस्त प्रोटिन भएका गेडागुडी, कागती, अमला, भोगटे, सुन्तलाजस्ता अमिलो जातका फलफूलले प्रतिरोधात्मक क्षमता बढाउन सघाउँछ । योसँगै रातोभन्दा सेतो मासु स्वास्थ्यका लागि उपयुक्त हुन्छ । तर, राम्ररी पकाएर मात्रै खानुपर्छ ।
हामीले घरमै भएका सामानको मात्रा मिलाएर खान सकिन्छ । जस्तैः बेसार, मह, घ्यु, अदुवा, दालचिनीको र मरिचको धूलोलाई तातोपानीमा मिलाएर खाएमा सामान्य समस्या रुघाखोकी, कफमा राहत मिल्छ भने जटिल रोग लाग्नबाट बचाउन पनि धेरै सहयोग गर्छ ।
यसका साथै आफ्नो तनाव पनि कम गर्नुपर्छ । यति बेला कोरोना भाइरसले सबैलाई तर्साएको छ । व्यापार ब्यबसाय कामकाज सबै बन्दछ । यस्तोमा तनाव बढ्न सक्छ जसले रोगको सम्भावना बढाउँछ । त्यसैले तनावमुक्त रहने प्रयास गर्नुपर्छ ।
अहिले मानिसहरूमा विभिन्न कारणले रोगसँग लड्ने क्षमता घटिरहेको छ । रोगसँग डराउनेभन्दा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने कुरामा ध्यान दिनुपर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन भान्सामा दैनिक पाक्ने खानेकुराहरू नै काफी हुन्छ । भान्सामा पाक्ने दाल, चामल, हरिया सागसब्जी, घरायसी मसला, खिचडी, तरुल, क्वाटी, रोटी, ढिडो, दूधदही मोही, ताजा अचार, खीर, पुरीजस्ता खानेकुराले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
प्रतिरोधात्मक क्षमता वृद्धिमा आयुर्वेदिक गुण भएका वनस्पति तथा जडिबुटीको पनि उत्तिकै भूमिका हुन्छ । आयुर्वेदिक पद्धतिबाट पनि शरीरमा शक्ति आर्जन गर्न सकिन्छ । दैनिक रूपमा खाने घरेलु मसलाले नै हाम्रो शरीरमा शक्ति दिइरहेको हुन्छ । अदुवा, बेसार, मरिच, दालचिनी, टिमुर, अश्वगन्धा, तुलसीलगायतका जडिबुटीले रोगप्रतिरोधी क्षमता बढाउँछ । आयुर्वेदका दृष्टिमा रोगसँग लड्ने क्षमता बढाउनका लागि ध्यान, योग, खानपिन, उठबस, निन्द्रा, नियमित दिसापिसाब, रहन–सहनजस्ता पक्ष पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
अहिलेसम्म कोभिड–१९ विरुद्धको कुनै पनि औषधी, भ्याक्सिन आधिकारिक रुपमा बनेको छैन । त्यसैले यसबाट बच्ने पहिलो उपाय भनेकै संक्रमणबाट बच्नु हो । त्यसबाहेक आफूलाई संक्रमण नहुने गरी तयार पार्नु अझ महत्वपूर्ण पक्ष हो । त्यसका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै सबैभन्दा उत्तम विकल्प हो । रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नका लागि प्रोटिन, भिटामिन र खनिज भएका तर कार्बोहाइड्रेट कम भएका खानेकुराहरू खानुपर्छ । जसका लागि हरियो सागसब्जी, फलफूल, दूध, दही माछामासु खानुपर्छ । भिटामिन र खनिजले शरीरलाई प्रतीरक्षा गर्ने काम गर्छ भने प्रोटिनले शरीरको वृद्धि विकासमा टेवा पु¥याउने काम गर्छ । कार्बोहाइडठट कम भएका, प्रोटिन, भिटामिन र खनिज पदार्थ हुने खानेकुरा पर्याप्त खाइयो भने इम्युनिटीमात्र नभएर शरीर स्वस्थ, निरोगी र फुर्तिलो पनि हुन्छ ।
केही बिस्तारित बुंदाहरू
शरीर संशुद्धि गरौं
विश्वकै प्राचिन चिकित्साशास्त्र हो आयुर्वेद । यो अथर्ववेदको उपवेद हो । आयुर्वेद इशापूर्व ३ हजारदेखि ५० हजार वर्ष अगाडि भारत वर्षबाट विकास भएको मानिन्छ । मानव स्वास्थ्य शरीर, मन र आत्माको सन्तुलनमा निर्भर गर्छ भने रोग त्रिदोषहरु (वात, पित्त र कफ) को असन्तुलनको कारणले हुने विश्वास आयुर्वेदमा छ । स्वास्थ्य र रोगबारे आयुर्वेदको अवधारणाहरुले जडीबुटी मिश्रण, विशेष आहार र अन्य अद्वितीय स्वास्थ्य पद्धतिहरू (योग, पञ्चकर्म, क्षारसूत्र) पनि आयुर्वेदमा पर्छ । आयुर्वेदिक पद्धतिमा रोग प्रतिरोधात्मक क्षमता अथवा व्यादि क्षमत्व वृद्धि गर्नका लागि तनाव कम गर्ने, सकारात्मक सोंच्ने र मनोरञ्जनात्मक कार्यमा जोड दिने गर्नुपर्छ । त्यस्तै गेडागुडी र सागसब्जीसँगै पचाउन सहज हुने खानेकुरा खानेकुरा खानुपर्छ ।
जडिबुटी
गुर्जो, सिरिस, घोडताप्रे, तुलसी, अदुवा, तुलसीपत्र, पुष्करमूल, सती, कुष्ठ, रुदिलो, चिराइतो, कुट्की लगायतका जडिबुटीले रोगसँग लड्ने क्षमता बढाउँछ ।
मसला
बेसार, ज्वानो, पिपला, मरिच, सुठो, लसुन, अदुवा, मेथी, जिरा, मरिच, दालचिनीलगायत हाम्रो भान्सामा पाइने मसलाले पनि रोगसँग लड्ने शक्ति बढाउँछ ।
आयुर्वेदिक चुर्ण
पुष्करमुलाध्यादि चुर्ण, तालिसादी चुर्ण, लबङ्गादि चुर्ण, सितोपलादी चुर्ण, रुदन्ती चुर्ण, सिरिसको क्वाथ, सथ्यादि चुर्र्ण जस्ता थुप्रैआयुर्वेदिक चुर्णहरु छन । जसले रोगसँग लड्ने शक्ति बढाउँछ ।
शरीर संशुद्धी र पञ्चकर्म
विभिन्न मसला, जटिबुटी तथा आयुर्वेदिक चुर्णको सेवनले शरीरमा रोगसँग लड्ने क्षमता बढाए पनि आयुर्वेदमा शरीर संशुद्धी सबैभन्दा महत्वपूर्ण कुरा हो । आयुर्वेदमा विभिन्न प्रकारका उपचार पद्धति छन् । यसमा सबैभन्दा राम्रो त आफ्नै शरीरलाई कसरी माया गर्ने भन्ने हो । जस्तैः बिहानै घरमा बसेर शरीरमा तेल लगाउँदा पनि व्यादी क्षमता बढ्छ । यस्तै, शरीर संशुद्धीअन्तर्गत कलेजो, पित्तथैली, र आन्द्रा सफा गर्न सकिन्छ । आयुर्वेदमा चिकित्सकको निगरानीमा गरिने रोग प्रतिरोधात्मक क्षमता बढाउने महत्वपूर्ण विधि पञ्चकर्म पनि हो । यसले शरीरको शुद्धि, विषाक्तरहित र व्यादी क्षमता बढाउने काम गर्छ ।
सिट्रस फ्रुट
चिसो लागेपछि प्रायः मानिसहरु भिटामिन सीको भर पर्छन् किनकी त्यसले रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्दछ । भिटामिन सीले ह्वाइट ब्लड सेल वृद्धि गर्नमा मद्दत पुर्याउँछ । संक्रमणहरुसँग जुध्ने क्षमताको वृद्विमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दा ।
सिट्रस फ्रुटअन्तर्गतका केही फलफूल
(कागती, सुन्तला, निबुवा, जुनार, अंगुर र मेवा)
भिटामिन सी हाम्रो शरीरमा न उत्पादन हुन्छ, न त भण्डारन नै त्यसैले हरेक दिन यसको आवश्यकता पूरा गर्नलाई भिटामिन सीयुक्त फलफूल खान जरुरी छ । जुन भिटामिन सी कागती, सुन्तला, निबुवा, जुनार, अंगुरजस्ता फलफूलमा पाइन्छ ।
ब्रोकाउली
ब्रोकाउली भिटामिन र खनिजयुक्त हुन्छ । भिटामिन ए, सी, इ सँगसँगै फाइबर, एन्टी अक्सिडेन्टलगायत पोषण तत्वहरु भएकाल ब्रोकाउली सबैभन्दा स्वस्थ्य तरकारीमध्ये एक हो । त्यसैले यसलाई सकेसम्म कम पकाउनुपर्छ अथवा काँचै पनि खान सकिन्छ ।
पालुङ्गो
पालुङ्गोमा भिटामिन सी मात्र नभएर एन्टी अक्सिडेन्ट बेटा क्यारोटिन लगायतका तत्वहरु हुन्छन् जसले शरीरमा संक्रामक रोगसँग लड्ने क्षमताको वृद्धि गर्दछ । यसलाई हल्का पकाउनुपर्छ ताकि यसमा भएको भिटामिन सी नष्ट नहोस् र भिटामिन ए लगायत अक्जालिक एसिडमा भएका तत्वहरु पनि रिलिज होस् ।
दही
दहीले रोग प्रतिरोधात्मक क्षमताको वृद्धिमा मद्दत पु¥याउँछ । तर, दही खाँदा बजारमा पाइने फ्लेभर हालेको, गुलियो बनाइएको भन्दापनि सादा दही खानु उपयुक्त हुन्छ । बरु स्वादका लागि आफैले ताजा फलफूल काटेर हाल्न सकिन्छ ।
बेसार
प्रायः हरेक खानामा रङ्गका लागि प्रयोग गरिने बेसार केवल रङ्गीन मसला मात्र होइन । यसले ‘इन्फ्लामेटरी’ रोग अर्थात् सुन्निनेसँग सम्बन्धित रोगहरु जस्तैः टन्सिल, आस्थमा, हेपटाइटिसलगायत रोगसँग लड्न मद्दत पुयाउँछ ।
तुलसी
रोग प्रतिरोधात्मक क्षमताको विकास, बालबालिका । वृद्धवृद्धा र गर्भवतिका लागि विशेष फाईदा । चिसोबाट बच्नका लागि निकै उत्तम (यसको पात डाँठ जराको प्रयोग) । टाउको दुख्ने समस्याबाट मुक्त हुन सकिन्छ । मुटुसम्बन्धी समस्या हुनेहरुले दैनिक रुपमा खालीपेटमा तुलसीको पत्ता र दूध सेवन गर्न सकिन्छ । मुख गनाउने समस्याबाट छुट्कारा मिल्छ ।
अंकुरित खानेकुरा
मुङ, चना, केराउलगायत गेडागुडी तथा दालहरुलाई केही दिन भिजाएपछि तिनमा टुसा पलाउँछ । यसमा भएको भिटामिन सीले शरीरमा सेतो रक्तकोषहरुको संख्या बढाउँछ, जसले रोग प्रतिरक्षा प्रणालीलाई सुदृढ पार्छ । साथै यसमा उपस्थित भिटामिन ए मा एन्टिआक्सिडेन्ट सम्बन्धी गुणहरू पाइन्छ जसले रोगविरुद्ध लड्न सक्ने क्षमता बढाउँछ ।
ड्राइ फ्रुट्स
चिसो सँगको लडाइमा शरीरलाई भिटामिन सी पछि भिटामिन इले सघाइरहेको हुन्छ । त्यसैले काजु, बदाम, पिस्ताजस्ता ड्राइ फ्रुट पनि रोग प्रतिरोधात्मक क्षमताको वृद्धिमा अत्यन्तै प्रभावकारी हुन्छन् ।
मेवा
भिटामिन सीयुक्त अर्को महत्वपूर्ण फल हो मेवा । एउटा मेवामा एक दिनभरिलाई आवश्यक भन्दा २२४ गुणा बढी भिटामिन सी हुन्छ । मेवाले पाचन प्रणालीलाई पनि सुधार्छ ।
स्टिम सेल
स्टिम सेल सक्रिय सेल हो । यसले निष्क्रिय सेललाई पनि सक्रिय पार्छ । स्टिम सेलले अन्य सेललाई जगाउँछ । विभिन्न रोगको उपचारमा स्टिम सेल प्रयोग गरिन्छ । स्टेम सेलहरू जैविक कोशिकाहरू हुन् जसले कोषलाई अन्य प्रकारका कोशिकाहरूमा विभाजन गर्छ । शरीरका कुनै पनि कोषिकाको मर्मतका लागि स्टिम सेलको उपयोग गर्न सकिन्छ । स्टिम सेल थेरापीद्वारा अहिलेसम्म २ जना एच.आई.भी संक्रमित पनि संक्रमण मुक्त भइसकेका छन् ।
किवी
मेवाजस्तै किवी पनि निकै पोषणयुक्त फल हो । यसमा फोलेट, पोटासियम, भिटामिन के, भिटामिन सी लगायतका तत्व पाइन्छ । यसले ह्वाइट ब्लड सेल (सेतो रक्तकोष)को वृद्धि गराउँछ । सेतो रक्तकोषको मूख्य काम भनेकै शरीरमा रोग प्रतिरोधात्मक क्षमता कायम गर्नु हो ।
शी फुड्स
यस्ता जीवमा हामीले रोगसँग लड्ने क्षमता पाउँछौंभन्दा अचम्म लाग्नसक्छ । तर, केही यस्ता जीवहरुमा जिन्कको मात्रा अत्यन्तै बढीहुन्छ । जिन्कलाई अन्य भिटामिन र खनिज तत्वजस्तो महत्वपूर्ण रुपमा नलिइए पनि यसले हाम्रो शरीरमा भएका प्रतिरोधात्मक क्षमता बढाउन कोषहरुलाई चलायमान राख्न अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । गंगटा, घुंगी, झिंगे माछालगायत जीवमा यो तत्व पाइन्छ ।
अत : सकारात्मक सोचको विकास गर्ने गरौं, कतिपय अवस्थामा हामी मानसिक रुपमा स्वस्थ्य भयौं भने, सकारात्मक सोच राख्यौं भने पनि धेरै किसिमका शारीरिक समस्याहरु देखा पर्दैनन् । हाम्रो मस्तिष्कसंग शरीरलाई नियन्त्रण गर्ने क्षमता हुन्छ । त्यसैले मस्तिष्कलाई संधै सान्त राखौ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->