स्याङ्जा, ८ असार– जिल्ला अस्पताल स्याङ्जालाई युनिभर्सल एनएसथेसिया विथ भेन्टिलेटर हस्तान्तरण गरिएको छ । भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्माकुमारी अर्यालको पहलमा जिल्ला अस्पताल स्याङ्जालाई युनिभर्सल एनएस थेसिया विथ भेन्टिलेटर उपलब्ध गराईएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मन्त्री अर्यालको पहलमा उपलब्ध गराइएको सो मेसिन मन्त्री अर्यालका स्वकीय सचिव राजेश शर्माले आईतबार जिल्ला अस्पताल स्याङ्जा पुगेर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकराज शर्मा र अस्पतालका प्रमुख डा. सुशिल मरासिनीलाई हस्तान्तरण गरेका छन् । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मन्त्री अर्यालको पहलमा जिल्ला अस्पताललाई भेन्टिलेटर उपलब्ध गराईएको हो ।
यो एनएस थेसिया मेसिन विरामीलाई पुर्णतय बेहोस बनाउने मेसिन भएकोले कोरोनाको संक्रमणबाट ग्रस्त विरामीलाई श्वासप्रवास सम्बन्धी समस्या भएमा भेन्टिलेटरको प्रयोग गरेर उपचार गरिने जिल्ला अस्पतालका प्रमुख डा. सुशिल मरासिनीले बताए । मरासिनीले पहिलो पटक जिल्ला अस्पतालमा यो मेसिन उपलब्ध भएपछि उपचारमा थप सहज हुने बताउँछन् ।
यसअघि दमौली अस्पताललाई उक्त मेसिन प्रदान गरिएको छ । बायोमेडिकल ईन्जिनियरले उक्त मेसिन अस्पतालमा जडान गरिदिने र अस्पतालका डाक्टर, नर्स र ल्याब टेक्निसियनलाई २ दिने तालिम दिईएपछि मेसिन प्रयोगमा ल्याइने अस्पतालले जनाएको छ ।
त्यस्तै मन्त्री अर्यालले जिल्ला अस्पताल स्याङ्जा र गल्याङ नगर अस्पताललाई ५० थान पिपिईसहित स्वास्थ्य सामाग्री उपलब्ध गराएको मन्त्री अर्यालका स्वकिय सचिव राजेश शर्माले जानकारी दिए ।





