स्याङ्जा, ११ असार– फेदीखोला गाउँपालिकाले गाउँ फर्किएका युवाहरुलाई उद्यमशिल बनाउने नीति लिएको छ । गाउँपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷०७८ नीति तथा कार्यक्रमले महामारीका कारण गाउँ फर्कन चाहेका वा गाउँमा व्यवसायिक बन्न खोजेका नागरिकलाई उद्यमशिल बनाउने लक्ष्य लिएको हो ।
प्रस्तुत नीति तथा कार्यक्रम दफाबहार छलफलपश्चात १५ गते मात्रै पारित गरिने कार्यक्रम रहेको छ । गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बजेट निर्माण गर्दा स्वदेश तथा विदेशबाट रोजगारी गुमाएर गाउँ फर्किएका तथा गाउँमै व्यवसायिक बन्न चाहेका व्यक्तिलाई लक्षित गरेर निर्माण गरिएको बताए । उद्यमशिलतालाई व्यवसायिक कृषिसँग जोडेर पालिकाको कृषि उत्पादनमा बढवा ल्याउने योजनामा गाउँपालिका रहेको सुवेदीको भनाई छ ।
कृषि उत्पादन बढाउन बाँझो जग्गा प्रोत्साहन, पकेट क्षेत्र, एक गाउँ एक उत्पादन, नमुना कृषि गाउँ, एक घर एक टनेल अभियानलाई बढवा दिनुका साथै कृषकले उत्पादन गरेका वस्तुको बाजारिकरणमा सहयोग गर्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यसैगरी हाइटेक कृषि नर्सरी, भूमि बैंकको स्थापना गरि करार खेती, चक्लाबन्दी र सामुहिक खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ ।
विशेषगरि कृषि तथा उत्पादनमुलक व्यवसायमा आर्कषण बढाउन युवा उद्यम कार्यक्रमको पुँजीमा न्युनतम १ करोड थप्ने गाउँपालिकाले योजना बनाएको छ । युवालाई उद्यमी बनाउन विगतदेखि सञ्चालन गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिदै ५ वटा समुहबाट बढाएर ३५ वटा समुहसम्मलाई बिना व्याज, बिना धितो रकम प्रदान गरिने भएको छ । शिक्षा, स्वास्थ्य एवं भौतिक पुर्वाधरलाई समेत बजेटमा प्राथमिकताका दिइएको छ ।
सातौँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष देवी थापाले आगामी बर्षको विनियोजन ऐन, आर्थिक ऐन, प्रस्तावित आयव्यय प्रस्तुत गरेकी थिइन् । विधेयक समितिको संयोजक देउ कुमारी गुरुङले संशोधित शिक्षा ऐन पेश गरेकी थिइन । सभाले प्रस्तावित सम्पुर्ण ऐन तथा नीति तथा कार्यक्रम पारित गरेको छ ।




