बागलुङ, १६ असार– यसबर्ष समयमा मनसुन सक्रिय भएकोले बागलुङमा ४५ प्रतिशत धान रोपाइ सकिएको छ । कुल ६ हजार हेक्टर धान खेतमध्ये झण्डै ३ हजार हेक्टरमा रोपाई सकिएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बरिष्ठ कृषि बिकास अधिकृत बासुदेव रेग्मीले बताए ।
असार १५ गतेलाई धान दिवशको रुपमा मनाइरहेको बेला म्याग्दीमा ३८ र पर्वतमा २० प्रतिशत मात्रै धान रोपाई सकिएको छ । पर्वतमा हिउँदमा मकै खेती गरिएकोले धान रोपाई ढिला भएको हो । बागलुङका अधिकांस जमिन हिउँदे खेती नगरिएकोले धान रोपाई बढी भएको हो । पर्वतमा भने ९ हजार हेक्टरमा धान लगाइने गरिन्छ ।
रेग्मीका अनुसार, मनसुनसँगै यो बर्ष स्थानीय बायुको प्रभाव समेत सकारात्मक भएकोले धान रोपाई सहज भएको हो । यो क्रम निरन्तर रहेमा आगामी बर्ष धान उत्पादन समेत बढ्ने छ । कोरोना संक्रमणले त्रसिद भएपनि जिल्लाबासी किसानले धान रोपाईलाई भने निरन्तरता दिएका छन् ।
‘दैनिक किसानहरु मल, बीउ र अन्य प्रविधिबारे चासो राखिरहेका छन्’ रेग्मीले भने, ‘सामाजिक दुरी कायम गरेर किसानले खेतीपाती लगाउने र भित्राउने काम गरिरहेका छन् ।’ रेग्मीका अनुसार, बागलुङमा बार्षिक ८ हजार ७ सय ९ मेट्रिकटन धान उत्पादन भैरहेको छ । जिल्लाबासीलाई खान पुग्नका लागि भने ५२ हजार मेट्रिकटन खाद्यान्न आबस्यकता पर्छ ।
जिल्लामा मकै २३ हजार ५ सय १५ मेट्रिक टन, गहु“ ८ हजार र कोदो १० हजार ६ सय मेट्रिकटन उत्पादन हुने गरेकोले भात मात्रै खानेलाई खरि गनरेर खानु पर्छ । सबै अन्नको परिकार खानेलाई भने खरिद गर्नु पर्दैन । अझैपनि सबैबाली मिलाएर खाने बानीको बिकास नभएपछि बर्षेनी हजारौं मेट्रिकटन चामल जिल्लामा भित्रने गरेको छ ।
‘खाद्यान्नहरु मिलाएर खाने बानीको बिकास गर्न सकेमा आत्मनिर्भर बन्न सकिन्छ’ रेग्मीले भने, ‘धानलाई मात्र खाद्यान्न मानेकोले बेसाहा खानु परेको छ ।’ नेपाली समाजमा भात खाने संस्कृतिलाई कम गर्ने अभियान चलाउन आवस्यक भएको उनले बताए । केही बर्षदेखि कृषिलाई व्यवसायिकीकरण र यन्त्रिकरण गर्ने अभियान चलेपछि स्थानीय तहमा कृषि प्राविधिक नहुँदा किसानले चाहेको बेला सल्लाह, मल र बीउ पाउन सकेका छैनन् । अहिले पनि बागलुङका किसान पर्वतको ज्ञानकेन्द्र पुग्नुपर्छ ।
थोरै फलेपनि धानलाईनै प्रमुख बाली मान्ने संस्कृतिले धान दिबश मनाउने गरिएको छ । असार १५ मा मनाइने धान दिबशमा किसानले हिलो खेलेर रमाइलो समेत गर्छन् । दही चिउरा खाएर यो दिवशमा किसानले मानो खाएर मुरी फलाउने काम गर्छन् । ‘अहिले कृषि क्षेत्र हेर्ने सरकारी संयन्त्र छैन, त्यसैले किसानहरु पलायन बन्ने अबस्था छ’ मिर्मिरे कृषि सहकारी संस्थाका अध्यक्ष गंगाबहादुर थापाले भने, ‘व्यवसायिक रुपमा काम गरिरहेका अन्य किसानलाईपनि प्रोत्साहन गर्ने नीति र संयन्त्र चाहिएको छ ।’
बिदेशबाट आएका युवालाई समेत कृषि क्षेत्रमा लगाएमा लकडाउन र नाकाबन्दी जस्ता मानवसिर्जित घटनाले समेत असर नपर्ने उनले बताए । आफ्नै उत्पादनबाट आत्म निर्भर बन्ने अभियान चलाउन सकेमा करोडौं रुपैया“ बचत हुनेसमेत उनले बताए । अब खाद्य संचिती र निर्यातको बाटोमा लाग्नुपर्ने आबस्यकता उनले औल्याए ।
बागलुङमा चैते धान न्युन उत्पादन हुन्छ । २ सय हेक्टरमा लगाईने धानले मागलाई थेग्न सक्दैन । बर्षे धानका लागि भने गलकोट, बलेवा, काठेखोला, कुश्मीसेरा लगायत स्थान अगाडि छन् । ‘श्रमिक अभावमा कतिपय जमिन बा“झै रहेकोले उत्पादन घट्दो छ’ कृषि प्राविधिक भरत खड्काले भने, ‘पानीको श्रोत घटेको,सडक निर्माणको क्रममा जमिनको क्षति भएको र घडेरीमा विक्रिहुने क्रमले उत्पादन घटीरहेको छ ।’ धानको उत्पादन बढाउन धेरै मेहेनत आवस्यक पर्ने उनले बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा बागलुङ सुन्तला, आलु र तरकारी खेतीको पकेट, ब्लक र जोन निर्माणमा परेको छ । काठेखोलालाई सुन्तला र मकै, ढोरपाटन नगरपालिका र ताराखोला गाउ“पालिकालाई आलु बिशेष क्षेत्र बनाइएको छ । धानलाई भने नेपाली किसानले सभ्यताको प्रतिकको रुपमा लिने गरेकोले उत्पादन जस्तोसुकै भएपनि पन्ध्र असारमा धान लगाउने चलन भने हट्न सकेको छैन । पहाडी जिल्लामा धान उत्पादनमा धेरै लगानी गरेर थोरै प्रतिफल मिल्ने गरेको उनको अनुभव छ ।





