बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रधानमन्त्रीको अभिव्यक्ति तर्कसंगत तर हतारमा : मुकुन्द शरण

प्रधानमन्त्रीको अभिव्यक्ति तर्कसंगत तर हतारमा : मुकुन्द शरण


  • ढोरपाटन संवाददाता
  • असार ३१ २०७७, बुधबार

मुकुन्दशरण उपाध्याय, संस्कृत र नेपाली साहित्यका अनवरत् योद्धा हुन्, मुकुन्द शरण उपाध्याय । नेपाली भाषा शुद्धीकरण अभियानमासमेत सक्रिय उपाध्यायसँग पूर्वीय दर्शन र शास्त्रहरुको गहिरो ज्ञान छ । प्रधानमन्त्री केपी शर्मा ओलीको रामको जन्मभूमि अयोध्या नेपालमै भएको अभिव्यक्तिले नेपाल र भारत तरंगित बनेको अवस्थामा शास्त्रले रामको जन्मभूमि, अयोध्यालगायतका विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ, उहाँसँगको कुराकानीको सम्पादित अंश ( सम्पादक )

प्रधानमन्त्रीले बोल्नुभयो, भानुजयन्तीको सन्र्दभमा प्रधानमन्त्रीले राम नेपालकै भएको जिकिर गर्नुभयो ? के यो प्रामाणिक कुरा हो र ?
– उहाँले तर्कबाट भन्नुभएको छ । प्रमाण खोज्न त , रामायणहरु ५२/५५ वटा छन् । एउटा रामायण वाल्मीकि रामायण, तपाईँले नाम सुन्नुभएको छ । भानुभक्तले अनुवाद गरेको रामायण अध्यात्म रामायण हो । आनन्द रामायण भन्ने रामायण पनि ठूलै छ,अरु पनि छन् । यी र यस्ता रामायण अध्ययन गरेर खोज्ने कुरा हुन्, यी । वाल्मीकि आश्रम र जनकपुरभन्दा धेरै टाढा अयोध्या थिएन । रामले जब सीतालाई वाल्मीकि आश्रममा लगेर छाड भनेर लक्ष्मणलाई पठाए नि, पठाउँदा बिहानै जाऊ, उज्यालो भएपछि लैजाँदा सहरबासीहरुले महारानी सीतालाई लिएर लक्ष्मण जंगलतिर गए, किन गए भनेर जताततै हल्ला हुन्छ, प्रश्नहरु आउँछन् । त्यसैले अँधेरैमा जाऊ, वाल्मीकि आश्रममा पनि, आश्रममै नबुझाउ, नजिकै लगेर मेरा परिस्थिति र के कारणले बनबास पठाउनुप¥यो भनेर भाउजुलाई बुझाऊ र तिमी आऊ भनेर पठाएका लक्ष्मण भाउजुलाई सम्झाईबुझाई गरेर, त्यहाँ छाडेर आफ्नो दरबारमा आइपुगे । भनेपछि त वाल्मीकि आश्रम त त्रिवेणीमा छ । अब त्रिवेणीबाट फर्केर आउँदा मिल्ने त नजिकैको ठाउँ हुनुप¥यो । त्यो हिसाबले तर्कले उहाँ ( प्रधानमन्त्री केपी शर्मा ओली) ले भन्नुभएको हो । तर, यसको अनुसन्धान हुनुप¥यो । प्रमाणित गर्नुप¥यो ।
भनेपछि प्रधानमन्त्रीको अभिव्यक्ति ठीक हो त ?
– उहाँले भनेको तर्कसंगत कुरा छ । किनकि, जनकपुरबाट पनि नजिक हुनुप¥यो, वाल्मीकि आश्रमबाट पनि नजिक हुनुप¥यो, अयोध्यापुरी भन्ने ठाउँ त्यहाँ छ । त्यहाँको नजिक नदीहरु हुनुप¥यो । त्यो सबै मिल्छ, त्यो ठाउँमा । त्यसो भएको हुँदा, त्यसको लागि शास्त्रीय प्रमाण जुटाउन रिसर्च सेण्टर छैन ।
प्रमाणित कसरी गर्ने त ?
– मैले यहाँ एउटा काम गर्न खोजेको छु । पोखरामा लामेआहाल (लेखनाथ क्षेत्रमा पर्छ ) छ, त्यहाँ मैले स्थापना गरेको आश्रम छ । त्यहाँ अनुसन्धान केन्द्र खोलौं भनेर मैले भनेको छु । त्यहाँ यज्ञ गरिएको थियो । काठमाडौंमा पनि एउटा आश्रम छ ,हाँडिगाउँको नजिकै । यहाँ पनि रिसर्च सेण्टर खोलौं भन्ने हो तर पैसा चाहिन्छ । अनि हामीसँग रिसर्च सामग्रीको अभाव छ । पूर्वाञ्चलमा धरान वा चतरामा गर्न पाए हुन्थ्यो भन्ने कुरा उठाएको हो । नेपालमा कम्तिमा ३ ठाउँमा रिसर्च सेण्टर होस् र विद्धानहरुले त्यहाँ बसेर काम गर्न सकून् भनेर म लागिपरेको छु । अब, उमेर अवस्थाले डुल्न गाह्रो भएको छ ।
सरायू नदी पनि हुनुपर्छ, अयोध्यामा भन्ने कुरा छ । भारतीय जनता पार्टीले त कडा शब्दमा हाम्रा प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध नै गरिसकेको छ । यस्तोमा हामीसँग नदी छ र ?
– तराईमा हाम्रो चितवनमा माडी भन्ने ठाउँ छ नि, त्यहाँ अयोध्यापुरी भन्ने ठाउँ छ । अयोध्यापुरी गाउँपञ्चायत थियो, पछि गाविस भयो, अहिले कुन नगरपालिकामा पर्छ रे । वाल्मीकि आश्रम भन्ने त्रिवेणीमा छ, त्यो भारतले पनि मान्छ । अर्को रामको विहे भएको जनकपुरदेखिको मिथिला जुन हो,मिथिलाञ्चल नेपालमै छ । यी ३ कुरामध्ये अयोध्यापुरी बीचमा छ,एकातिर त्रिवेणीमा वाल्मीकि आश्रम छ, एकातिर मिथिला छ ।त्यसो भएकाले त्यहाँबाट यता वाल्मीकि आश्रम पनि नजिक पर्ने, मिथिला पनि नजिक पर्ने ठाउँमा अयोध्या हुनुपर्छ भन्ने देखिन आउँछ । अब सिद्ध गर्न ,त्यहाँ रापती भन्ने खोला छ, सौराहामा । रापतीका दुईवटा भंगाला छन् । एउटा भंगालालाई रेउ खोला हो कि के भन्छन्, अर्कोलाई राप्ती खोला भन्छन् । ती दुबै गएर कालीमा अर्थात् नारायणीमा मिसिन्छन् । रेउ खोलाको नाम प्राचिनकालतिर संस्कृतमा सरेयू रहेछ कि ? सरयू भन्दाभन्दै ‘स’ हराएर ‘रेउ’ भएको पो हो कि भन्ने ठाउँ पनि छ,त्यहाँ । ती कुराहरुलाई प्रमाणित गर्नको लागि पौराणिक, शास्त्रीय रामायणहरुको अध्ययन गर्ने, विष्लेषण गर्ने सुविधा हुनुप¥यो ।
कुरा त्यसो हो त !
– अहिले हाम्रा ओली प्रधानमन्त्रीजीलेअँ लौ न एउटा अनुसन्धान गर्नुप¥यो भनेर, अनुसन्धानका लागि कहाँकहाँ प्रयास भइरहेका छन् भनेर, त्यस्ता संस्था खोजेर हामी सहयोग गर्छौंँ भनेर त्यस्ता संस्थाहरुलाई काम गर्न पाएको भए त्यो काम सिद्ध हुन्थ्यो । तर, उहाँले त्यहाँ हैन, यता हो भनेर भन्दिँदा खलबल त हुने नै भयो नि !
हतार गर्नुभएको प्रधानमन्त्रीज्यूले ?
– अलिकति हतारजस्तो पनि मानौँ, अहिलेलाई ।
राजनीतिक रुपले बोलेका कुरा पूरा गर्न गाह्रो होला नि त ?
– त्यो त उहाँको कुरा हो, त्यो त हामी जान्दैनौँ । राजनीति धेरै चतुरले गर्ने काम हो । हामी त खालि वेदमा के छ, रामायणमा के छ ? पुराणमा के छ ? भन्ने कुरा मात्रै पढ्ने हो । मनन गर्ने र अनुसन्धान गर्ने काम त हाम्रो हो ।
भारतले नै विरोध गरेको अवस्था छ , भारतमा राम भनेको आस्था पनि हुन्, राजनीति पनि हुन् र भोजन पनि हुन् । यस्तोमा बोल्दा त दुई देशबीचको सम्बन्धमा पनि असर पार्ने देखियो नि !
– हो त नि । हर कुरामा डिप्लोम्याट तरिकाले जानुपर्छ । अहिले हाम्रो सरकारले डिप्लोम्याट तरिकाले जाने कुरामा के गरेको छ, मलाई थाहा छैन ।
प्रधानमन्त्रीले त सांस्कृतिक अतिक्रमणको कुरा पनि उठाउनु भएको छ नि ?
– हैन, सांस्कृतिक कुरामा त भारतलाई पनि थाहा छैन । यहाँको हामीले प्रचार गरेकै छैनौँ । पहिलो गल्ती त हामीबाटै भएको छ । हामीले चतराको नजिक वराह क्षेत्र छ भनेर राम्रोसँग थाहा दिएनौँ भने त, कहाँनेर छ भनेर हेर्न आउँदा हेर्न लायक ठाउँ नै बनाएका छैनौँ भने त गल्ती त हाम्रो भयो । त्यसैगरि अयोध्यापुरी भन्ने ठाउँमा न हामीले एउटा रामको मन्दिर बनाउँछौँ, केही पूर्वाधार पनि नबनाउने,त्यसै भनेर त भएन । त्यो पक्ष पनि छ । भन्न हुने हो कि हैन भनेर मूल्याङ्कन गर्न त म सक्दिन तर अगाडि भनेका काम गर्न पाएको भए हुन्थ्यो भन्ने कुरा हो ।
बुद्धको कुरा पनि आउँछ , शिद्धार्थ नेपालमा जन्मे, बुद्ध चाहिँ भारतमै बनेका हुन् भन्ने पनि त छ नि !
– त्यो बेकार कुरा हो । वैराग्य आउनु नै बुद्धत्व आउनु हो नि । त्यस्तो उमेरमा भोलिको राजगद्दी, पत्नी,पुत्र छाडेर हिंडेको बेला नै बुद्धत्व आएको हो । भारत भनेको त भरतको राज्य भएको कारणले हो । भरत त नेपाली नै हुन्, उनको ठूलो राज्य थियो । इण्डियाले भारत नाम राख्दा कसैले कुरा उठेन ।
हिमवत् खण्डको कुरा आउँछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफू युवा हुँदा पथिक बनेर नेपाल आएको अभिव्यक्ति दिनुभएको छ । यसमानेमा त ज्ञानको स्रोत त नेपाल नै रहेछ भन्दा होला नि !
मोदीजीसँग हाम्रो मतभेद हुनु दुर्भाग्य भन्छु म । मोदीजीले त आफू प्रधानमन्त्री हुनासाथ नेपाललाई चिनाउँछु भनेर,महत्व दिएर ४–४ पटक नेपाल आए नि त । उनलाई के–के कुरामा फसाइएजस्तो लाग्छ, त्यहाँ पनि उनका विपक्षी छन् । विपक्षीहरुले कताकता के गर्छन् । उहाँहरुको पनि सीमा हुन्छन् । आ–आफ्नो शक्तिको कुरा हुन्छ । मोदी नेपाललाई महत्व दिएर ४÷४ पटक आएकाले मोदी नेपाललाई सकारात्मक रुपले हेर्ने व्यक्ति हुन् भन्न सकिन्छ । उहाँ नाकाबन्दीमा चुक्नु भयो कि फसाइदिए भन्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->