बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अहिलेको अवस्थामा बालबालिकाको पढाईमा यसरी सघाऔँ

अहिलेको अवस्थामा बालबालिकाको पढाईमा यसरी सघाऔँ


  • संजय रेग्मी
  • साउन १४ २०७७, बुधबार

यतिबेला कोभिड १९ नियन्त्रणका लागि देशभरका विद्यालयहरु बन्द गरिएका छन् । मानिसहरु भीडभाड हुन पाईँदैन, यही कारण विद्यालयमा वैकल्पिक शिक्षण सिकाई क्रियाकलापहरु संचालन गर्ने भनी शिक्षा तथा प्रविधि मन्त्रालयले भनेको छ । केही विद्यालयहरुले वैकल्पिक सिकाई संचालनमा ल्याएको भएपनि गनिएका विद्यालयहरु नै यसबाट चुकेका छन् । लामो समयसम्म विद्यार्थीहरु घरमा बस्दा उनीहरको मानसिकतामा नकरात्मक असर पर्न सक्ने भनी चिन्ताहरु पनि व्यक्त भइरहेका छन् । विद्यार्थीहरु घरमा बसेको यो बेलामा उनीहरुको मानसिकतालाई सकारात्मक बनाउन अनि बैकल्पिक शिक्षण सिकाई क्रियाकलापका रुपमा गर्न सकिने क्रियाकलापहरु के के हुन सक्छन् ? यस हाम्रा पर्वत सहकर्मी संजय रेग्मीले जिल्लाको कुस्मा नगरपालिकाअन्तर्गतको नगर शिक्षा शाखाका अधिकृत राजेन्द्र बहादुर क्षेत्रीसँग कुराकानी गरेका छन् । उनीसँगको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

लकडाउनले घरमा थुनिएका बालबालिकाको मनोभावनाका बारेमा प्रश्न उठेका छन् नि ?
– हो तपाईँले भनेको कुरा ठिकै हो । विद्यालयमा साथीसँग खेल्ने, रमाउने, पढ्ने गरेकाहरुलाई घरमा थुन्दा फरक महसुस भएको छ । बालबालिकाको मानसिकता पाको उमेरका मान्छेको जस्तो परिपक्व नहुने भएकाले सानो समस्याले पनि उनीहरुलाई चिन्तित बनाईदिन सक्छ । यसमा उसको घरको वातावरण र व्यवहारले निर्धारण गर्छ । यसमा अभिभावक र छिमेकीहरुको भूमिका र सकारात्मक सहयोगले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।

त्यसो भए कस्तो भूमिका निर्वाह गर्न सकिएला त ?
– धेरै अभिभावकहरु पठनपाठनमा सहजीकरण गर्न सक्ने हुनुहुन्छ । उहाँहरुले आफ्ना बाबुनानीलाई पठनपाठनमा व्यस्त राख्ने काम गर्नुपर्छ । बिहानदेखि बेलुकासम्म घरमा नै बस्दा बालबालिकाले जानेर वा नजानेर गल्ती गर्न सक्छन् यो अवस्थामा उनीहरुलाई सम्झाई–बुझाई गर्दै असल अभ्यासमा ल्याउनुपर्छ । सबै बालबालिकाको सोचाई र व्यवहार एउटै हुँदैन र ती व्यवहारको उपचार गर्ने विधि पनि फरक हुन्छ भन्ने थाहा हुनुपर्छ । गाली गरेर, धम्क्याएर, जबरजस्ती गरेर होईन की प्रफुल्ल बनाएर पढाई वा अन्य काममा आकर्षित गर्न सक्नुपर्छ ।

बालबालिकाहरुलाई पढाईमा भन्दा घरका काममा लगाइएको भन्ने कुरा पनि त आएका छ नि ?
– यदाकदा सुनिएका होलान् । यसमा बालबालिकालाई काममै लगाउन हुन्न त हुँदै भएन अनि कस्तो र कति काम गराउने ? कुरामा ख्याल राख्नुपर्छ । गाउँमा गएका बालबालिकाहरुले यो बेलालाई काम, संस्कार, सभ्यता, लगायतका कुरा सिक्ने मौकाका रुपमा पनि लिएको मैले पाएको छु । धेरै अभिभावकहरुले पनि मलाई जानकारी गराउनुभएको छ । उहाँहरुले भैँसी दुहुने, भाँडा माझ्ने, लिपपोत गर्ने, घाँस काट्न सिकाउने, खाना बनाउन सिकाउने लगायतका कामहरु सिकाएको र बच्चाहरुले गाउँले परिवेशलाई नियाल्न पाएको मौकाको रुपमा यस अवसरलाई लिएको बताउनुभएको छ । तर बालबालिकालाई पढाईमा असर गर्ने, मानसिक र शारीरिक रुपमा तनाब हुने लगायतका समस्याहरुले आउने गरी कुनै काममा लगाउनु हुँदैन । त्यहाँनेर मानवअधिकार र बालअधिकार कुरा पनि उठ्छन् फेरि । मेरो भनाई यो हो की काम नगरी खानु कसैलाई छैन, बालबालिकालाई काम सिकाऔँ तर कामले पिडा महसुस नहोस् ।

सरकारले त वैकल्पिक सिकाई सहजीकरणको कुरा पनि गरेको छ । त्यसको अवस्था के छ ?
– लामो समय लकडाउनमा रहँदा विद्यार्थीहरुको शैक्षिक स्तरमा ठूलो क्षति भएको महसुस त हामी सबैलाई भएको छ । कतिपय अभिभावकले घरमा पनि राम्रो गाईड गर्नुभएको होला यसले क्षति कम भएको पनि होला । तर धेरैलाई प्रत्यक्ष असर गरेको छ । यही अवस्थालाई न्यून गर्नको लागि सरकारले वैकल्पिक सिकाई सहजीकरण निर्देशिका जारी गरी सो अनुरुप शैक्षिक क्रियाकलाप अगाडि बढाउने प्रक्रिया सुरु गरेको हो । विकल्पका रुपमा धेरै तरिकाहरु सुझाइएका छन् । आप्mनो वातावरण, ठाउँ, परिवेश र सुविधा अनुसार जुन चाहिँ उपयुक्त लाग्छ त्यसलाई नै अभिभावक, विद्यालय लगायत सम्बन्धितले क्रियाकलापहरु अगाडि बढाउन सक्छन् ।

तर, समाचारहरुमा त स्थानीय तह र विद्यालय नै यसमा अल्छी बनेको भन्ने कुरा आएका छन् त ।
– समाचार तयार पार्ने पत्रकार साथीले नभएको ठाउँ पाएर लेख्नुभयो होला, उहाँहरुले अब गरिएका ठाउँहरुको बारेमा पनि समाचार लेखेर नगर्नेहरुलाई उदाहरण दिन सक्नुपर्छ । हाम्रो पालिकाको हकमा कुरा गर्दा स्थानीय तह आपैmले प्रविधिमा आधारित रहेर काम गरिरहेको छ । प्रविधिमैत्री शिक्षक समाजसंगको सहकार्यमा जिल्लाका करीब ३ सय जना शिक्षकहरुलाई भर्चुअल रुपमा तालिम दिएर यो अवस्थामा बालबालिकालाई कसरी सहयोग गर्न सकिन्छ ? भन्ने कुरा सिकाईरहेका छौँ । अनलाईनबाट नै विद्यार्थीको प्रतिभा पहिचान गर्नको लागि बिभिन्न प्रतियोगिता र कार्यक्रमहरु पनि संचालन गरेका छौँ । कक्षा ३ सम्मका विद्यार्थीको लागि लक्षित गरेर ‘अभिभावकको सहयोगमा घरमै गर्न सकिने सिकाई क्रियाकलाप’ नामक पुस्तकहरु पनि बाँडिरहेका छौँ ।

विद्यालयहरुले वैकल्पिक सिकाई सहजीकरण कार्यान्वयनमा ल्याएका छन त ?
– अधिकांश विद्यालयहरुले वैकल्पिक सिकाई सहजीकरणको प्रयास गरिरहेको भन्ने सूचना हामीले पाएका छौँ । विद्यालयका शिक्षक र प्रधानाध्यापकलाई फोन गरेर पनि त्यहाँ के भइरहेको छ ? भनेर जानकारी बटुल्ने काम गरेका छौँ । अहिले धेरैको बुझाई अनलाईनबाट भिडियो देखाएर शिक्षक र विद्यार्थी जुटेमा मात्र वैकल्पिक सिकाई सहजीकरण भयो भन्ने छ । तर यो सोचाईमा परिवर्तन गर्न जरुरी छ । कतिपय शिक्षक साथीहरु विद्यार्थीको घर घरमा र टोल टोलमा पुगेर पनि सहयोग गर्नुभएको छ । कतिपयले फेसबुकमा कक्षा अनुसारका समूह बनाएर त्यहीँबाट पठाउन थाल्नु भएको छ । कतिपयले अभिभावकको नम्बरमा एसएमएस गरेर हरेक दिन गृहकार्य दिने काम पनि गर्नुभएको छ । तर वास्तविकता के हो भने ग्रामिण क्षेत्रमा रहेका बालबालिकालाई इन्टरनेट र स्मार्ट फोनको अभावले समस्या पार्ने रहेछ ।

ग्रामिण क्षेत्रमा रहेका बालबालिकाले भोगेको समस्या खास के रहेछ त ?
– ग्रामिण क्षेत्रहरुमा सरकारी वा नीजि इन्टरनेट प्रदायकहरुको सेवा पुगिसकेको छैन । कतिपय कम्पनीहरुले वायरलेस माध्यमबाट नेटको सुबिधा लगेको भएपनि त्यो महंगो छ । गाउँमा सामान्य ज्यालादारीमा काम गरेर पेट पाल्ने अभिभावकहरुले हजारौँ रुपैयाँ लगानी गरेर केही महिनाका लागि नेट जोड्ने अवस्था छैन । मोबाईलबाट नेटको प्रयोग गर्न पनि उस्तै खालको समस्या छ । बजारमा रहेका बालबालिकाहरुमा स्मार्ट फोनहरु रहेको भएपनि गाउँमा रहेका बालबालिका र तिनीहरुका अभिभावकसँग सामान्य बोलचालका लागि मात्र प्रयोग हुने फोन सेटहरु छन् । तीनबाट डेटा लिएर अनलाईन कक्षा जोडिन सक्ने कुरा भएन । यदि स्मार्ट फोन रहेछ यदि भने पनि हरेक दिन कति समय डेटाबाट भिडियो वा अडियो कक्षामा जोडिन सम्भव होला ? ८, ९ ओटा विषयको पढाई हुन्छ, एक दिन होईन, दुई दिन होईन हरेक दिनका लागि रिजार्च खर्चले पनि नपुग्ने गरेको कुराहरु त सुनिएकै छन् ।

आई.सि.टी टूल्सले विद्यार्थीहरुलाई गलत बाटोमा लैजाने डरमा अभिभावक रहेको कुरा पनि त छ नि ।
– हो, अहिलेका बालबालिकाहरु हामीभन्दा टाठा छन् । अनलाईन कक्षाका लागि भनेर बाबाआमाबाट मोबाईल मागेर पब जी र फ्रि फायर खेल्ने बानी हाम्रा विद्यार्थीको छ । पढाईको बहानामा नेट र स्मार्टफोन पाएपछि त्यसको दुरुपयोग हुने जोखिम पनि उत्तिकै छ । यसमा कक्षा चलेको बेलामा अभिभावकहरुले प्रत्यक्ष रुपमा निगरानी गर्नुपर्ने देखिन्छ । बालबालिकाको विश्वासमा मात्रै उनीहरुलाई सबै सामग्रीहरु छोड्नु हुँदैन । यस्ता सामग्रीहरुमा गलत बानी बस्यो भने त्यसले ड्रग्जकै जस्तो असर गर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->