स्याङ्जा, २० साउन – लगातारको वर्षाका कारण घरमाथिबाट आएको पहिरोले घर भत्किदा मृत्यु भएका परिवारलाई गल्याङ नगरपालिकाले एक लाख रुपैया राहत प्रदान गरेको छ ।
गल्याङ नगरपालिका १० गाउँस्वारामा पहिरोमा परेर मृत्यु भएकी मायाकुमारी सारुको परिवारलाई नगरप्रमुख भुपराज अधिकारीले घरमै पुगेर एक लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका हुन ।
मृतकका परिवारलाई सहयोग रकम हस्तान्तरण गर्दै नगरप्रमुख अधिकारीले नगरपालिका सधैं नगरवासीको साथमा रहेको बताए । नगरप्रमुख अधिकारीले भने, ‘प्रकृतिले निमत्याएको विपदलाई रोकन कसैले पनि सक्दैन तर विपदले सिर्जाना गरेको समस्यालाई कम गर्न नगरपालिकाले सक्दो सहयोग गर्छ ।’
नगरप्रमुख अधिकारीले पहिरोबाट क्षती भएका परिवारको घर निर्माणमा नगरपालिकाले सहयोग गर्ने समेत बताए । साउन ७ गते घर माथिबाट आएको पहिरोले घर भत्किदा आमा मायाकुमारी सारुको घरभित्रै पहिरोमा पुरिएर मृत्यु भएको थियोे भने छोरी नारायणी सारु घाईते भएकी थिइन ।





