शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

चन्द्र ढकालको यात्रा : अमलाचौरदेखि चन्द्रागिरिको चुचुरोसम्म

चन्द्र ढकालको यात्रा : अमलाचौरदेखि चन्द्रागिरिको चुचुरोसम्म

ढोरपाटन दैनिकको १८ औं बार्षिकोत्सव विशेष सामग्री


  • एकराज पाठक
  • भाद्र ४ २०७७, बिहिबार

‘ढकालजीले मिहिनेत गरेर कमाएको अलि–अलि पैसा पनि खाल्डामा हाल्ने भए,’ बिदेसिएका नेपालीको कमाइ स्वदेश ल्याउन आइएमई स्थापना गरेर काम थालेपछि ढकाल दाजुभाइप्रति आफन्त र साथीभाइले यस्तो टिप्पणी गरेका थिए । ‘हाम्रा आफन्त र शुभचिन्तकका सद्भाव नै हुन् यी । अहिले पनि हामीले कुनै नयाँ कार्यको थालनी गर्दा यी शब्दहरू कानमा गुञ्जिन्छन्,’ चन्द्रप्रसाद ढकाल भन्छन् ।
आज त मुलुकमा यस्तो अवस्था छ कि बैंकबाटै विदेश तथा स्वदेशमा रकम पठाउँदा पनि आइएमई गर्न हिँडेको या आइएमई गरेको भन्छन् । नेपाल राष्ट्र बैंकमा नयाँ मनी ट्रान्सफरको अनुमतिपत्र माग्न जानेले पनि ‘आइएमईको लाइसेन्स पाउँ’ भन्ने अवस्थासमेत छ । चन्द्रप्रसाद ढकाल र हेमराज ढकाल दुई भाइले कम्तीमा दुई दशकअघि स्थापना गरेको यो पहिलो कम्पनीले देशमा मनी ट्रान्सफर क्षेत्रकै एक पर्यायको स्थान लिँदा खुसी नलाग्ने कुरै भएन । यिनै उद्यमीको यो ‘इनोभेसन’ आज मुलुकमा खर्बाैँ रुपैयाँ भित्र्याउने संस्था बन्न पुगेको छ, जुन राष्ट्रकै गौरव हो । देशमा वैधानिक च्यानलबाट रकम भित्र्याउने पहिलो संस्था आइएमई आज देशकै अगुवा संस्था बनेको छ ।
जब हामीले नेपाली दाजुभाइले विदेशमा रगत र पसिना बगाएर जम्मा गरेको दुई–चार पैसालाई विश्वासका साथ जतन गरेर उहाँहरूका आश्रित आमाबुबा एवं परिवारका हातमा पु¥याइदिन थाल्यौँ त्यसले हामीलाई सँधैभरि आशीर्वादको काम गरिरह्यो– चन्द्र ढकाल भन्छन् । हुन पनि हिजोका दिनमा दुई–चार पैसा कमाउन विदेश गएका नेपालीको रकम बीचैमा हुन्डीले खाइदिने या त्यही पैसाकै कारण समाजमा देखापरेको हिंसा, विद्रोह र विग्रहलाई सम्झिँदा ढकालबन्धुलाई लाखौँलाख नेपाली निमुखाहरूको आशीर्वाद लागेकै मान्नुपर्छ ।
ढकाल भन्छन्, ‘नेपाली दाजुभाइले विश्वासका साथ हामीलाई दिएको त्यो रकम हामीले जतनसाथ जसरी उनीहरूका आमाबुबा, लालाबाला र समग्र आश्रित परिवारमा पु¥यायौँ त्यो धेरै निमुखा नेपाली दाजुभाइ दिदी–बहिनीहरूको वास्तवमा गाँस नै थियो । त्यो रकम त्यो परिवारको जीविकोपार्जन मात्रै बनेन, त्यो नेपालको अर्थतन्त्रको मेरुदण्ड पनि बन्यो । त्यही पैसाले कैयौँ व्यापार चले, कैयौँ उद्योगहरू बने भने हजारौँ नेपाली उद्यमी बने, बनिरहेका पनि छन् ।’
त्यति मात्र नभएर त्यो पैसा सानोतिनो व्यापारका लागि वित्तीय स्रोत बन्यो, घरेलु उद्योगका लागि सिड मनी नै बनेको छ । आज कहीँ न कहीँ कतै न कतै सानो होस् वा ठूलो, घरेलु होस् वा मझौला अधिकांश उद्योग र व्यापार यही रेमिट्यान्सको जगमा उभिएका छन्, जुनकुरा नेपाली समाजमा सर्वत्र छर्लंगै छ हामीले भनिरहनुपर्दैन । यसरी अहिले प्रायः हरेक नेपाली घरपरिवारसँग जोडिएको रेमिट्यान्ससँग ढकाल दाजुभाइको मिहिनेतको सानो साइनो छैन । मुलुकको अगुवा रेमट्यिान्स कम्पनी ‘आइएमई’सँग सायदै कोही नेपाली नागरिक अपरिचित होलान् । त्यसैले योभन्दा कुनै गल्ती हुँदैन कि– आइएमई अहिले नेपालीको जीवनशैलीसँग सीधै जोडिन पुगेको छ ।
वाणिज्य बैंकको सानो तहको जागिर, २०४८ तिर सामान्य कोल्डस्टोर र त्यसपछि कार्गो व्यवसायमा हामफालेका ढकालका अहिले देशका बैंक तथा वित्तीय संस्था, रेमिट्यान्स, केबलकार, हाइड्रोपावरदेखि लिएर धेरै व्यवसाय छन् । व्यवसायका लागि १२–१३ लाख रुपैयाँ रकम अत्यावश्यक पर्दा आफैँले काम गर्ने बैंकबाट ऋण नपाएका उनी अहिले मुलुककै सबैभन्दा ठूलो बैंकका अध्यक्ष बनेका छन् । उनको परिश्रम सीमित होइन, अविश्राम छ ।
यो सबै समृद्धि र सफलता कसरी सम्भव भयो ? सबैलाई उनको एउटै जवाफ छ– ‘लगाव, परिश्रम र इमानदारिता ।’ त्यसो त मानवीय जीवनको सफलताका सूत्र पनि यिनै हुन् । उनको व्यावसायिक यात्रा २०७० को दशकको सुरुआतमा केबलकारतर्फ आकर्षित भयो । चन्द्रागिरि केबलकार नेपालको एक आकर्षक गन्तव्य बनेको छ । आफ्नो मिहिनेतले सजिएको सुन्दर चन्द्रागिरि चुचुरोको उचाइबाट कहिलेकाहीँ आफ्नो जिन्दगीलाई फर्केर हेर्दा यस्तो पाउँछन् उनी– ‘जिन्दगीका कैयन् आयामहहरू बदलिए होलान्, तर म भने सधैँ बलेवाको माटोकै सुगन्ध मन पराउँछु, ।’ म यही धरातलमै छु, जीवनका सफलता र असफलताका हरेक पलमा मैले अमलाचौर नै भेटाउँछु ।’
ढकालले आफ्नो व्यक्तित्व निर्माणमा गरेका संघर्षका सत्य कथाहरू धेरैको प्रेरणाका स्रोत बन्न योग्य छन् । अनि उनले आफ्नो सफलताको यो ओझिलो यात्रामा बटुलेका अनुभवहरू भावी पिँढीका लागि पथप्रदर्शक मात्र नभएर प्रयोगशाला नै बन्न सक्छन् ।
हाल काठमाडौंको पानीपोखरीस्थित भव्य भवनमा व्यस्त दैनिकी गुजार्ने ढकालको जीवनको यो कथा बागलुङको एक ग्रामीण बस्ती अमलाचौरबाट सुरु हुन्छ । अमलाचौरमा उदाएको एउटा गाउँले ‘चन्द्र’को जिन्दगीलाई चन्द्रमाकोजस्तै चमक भर्न थोरै मिहिनेतले भने पुगेको छैन । अमलाचौरमा जन्म लिएर बागलुङको माटो र धौलागिरिको छायालाई देशभर चिनाउने अवसरका लागि उनलाई सबैले धन्यवाद दिनुपर्छ । जीवनका यिनै लगावले नै ‘फूलको बास्ना डाँडावारि मान्छेको बास्ना डाँडापारि’ भन्ने तथ्यलाई चरितार्थ बनाउन सघाएको छ । मानिस एकले अर्काेबाट लिने प्रेरणा पनि यही नै हो । उनका निकटवर्तीहरू भन्छन्– ‘उहाँको सबैभन्दा ठूलो परिचय नै सरलता (सिम्प्लिसिटी) हो । समय र सरलता उहाँका परिचायक हुन् ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->